नेपाल समूहले बुझायो तीन मन्त्रीका लागि नाम
सुर्खेत ।
कर्णाली प्रदेशमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसँग सहमति भएसँगै माधवकुमार नेपाल समूहले तीन मन्त्रीका लागि नाम बुझाएको छ ।

शाहीलाई सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को संसदीय दलका नेताबाट हटाउन यमलाल कँडेलसहितका १८ सांसदले संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । तर कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र बरिष्ठ नेता माधवकुमार नेपाल समूह त्यसलाई रोक्न सहमत भए ।
दुई पक्षबीच सहमति जुटेपछि अविश्वासको प्रस्तावमाथि मंगलबार राखिएको छलफलमा नेता नेपाल समूहका सांसदहरु अनुपस्थित रहे । एक नेताका अनुसार नेपाल समूहका नेता समावेश गरी मन्त्रिपरिषद् पनि मंगलबार नै पुनर्गठन गर्ने सहमति भएको छ ।
स्रोतका अनुसार नेपाल समूहले मन्त्रीका लागि चन्द्र शाही, करवीर शाही र अम्मरबहादुर थापाको नाम बुझाएको छ । चन्द्र शाहीलाई मन्त्री बनाउन माधव नेपाल समूहले एक वर्ष अगाडि नै नाम बुझाएको थियो । तर, मुख्यमन्त्री शाहीले मन्त्री नियुक्त गरेका थिएनन् । अब मन्त्रिपरिषदमा नेता नेपाल पक्षका चार मन्त्री हुनेछन् भने पार्टी अध्यक्ष केपी शर्मा ओली समूहका दुई मन्त्री हुनेछन् ।
मन्त्रिपरिषद् पुनर्गठन गर्दा मुख्यमन्त्री शाहीले पूर्वमाओवादी समूहबाट समेत मन्त्री थप्ने तयारी गरेका छन् ।






