Loading... आजः ७ बैशाख २०८१, शुक्रबार । Friday 19th April 2024

वामदेवले छाेडे प्रधानमन्त्री ओलीकाे साथ

काठमाडौं |

नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीको साथ छोडेका छन्। आफूलाई पटकपटक ओलीबाट धोका भएको भन्दै गोतमले नयाँ योजनाका साथ बढ्ने निष्कर्षका साथ निकटस्थहरुलाई तयारीमा लाग्न भनेका छन्।

विश्वस्त स्रोतका अनुसार गौतमले आफूले पटक पटक साथ दिँदा पनि धोका भएको भन्दै अब कडा कदम चालेर देखाउने तयारी थालेका हुन्। गौतमले यसअघि बनेको ओलीविरुद्धको समूहलाई बलियो बनाउने अभियान चलाएका छन्। त्यसका लागि उनले नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेताहरु झलनाथ खनाल र माधवकुमार नेपालसँग छलफल गरिसकेका छन्।

सरकारमा जान आतुर देखिएका गौतमले आफ्ना लागि ढोका बन्द भइसकेको निष्कर्ष समेत निकालेका छन्। गृहमा रामबहादुर थापा बादलको निरन्तरता र अर्थमा विष्णु पौडेलको प्रवेशसँगै गौतमले त्यस्तो निष्कर्ष निकालेका हुन्। प्रधानमन्त्री ओलीले गौतम पत्नी तुलसा थापालाई मन्त्री बनाएर मनाउन खोजेपनि त्यसमा तयार भएनन्। मन्त्री बन्नकै लागि राष्ट्रियसभा सदस्यमा मनोनित भएका गौतमका सामु सर्वोच्च अदालतले ढोका अहिलेलाई बन्द गरिदिएको छ। तर, गौतमले यसमा पनि ओलीको भूमिकामाथि आशंका गरेका छन्। यसकारण ओलीसँग असन्तुष्ट भएका छन्।

गौतमसँग ओलीको टकराव र मिलनको सिलसिला चल्दै आएको छ। कुनैबेला एमाले विभाजन हुँदा मुख्य द्वन्द्व ओली र गौतमबीच नै भएको थियो। पछि गौतम फेरि ओलीसँग नजिकिए। एमाले अध्यक्षमा ओलीलाई विजयी बनाउन भूमिका खेले। तर, बर्दियामा गएको चुनावमा पराजित हुनुमा ओली पक्षमाथि आशंका गरे।

दूरी फेरि बढ्यो। तर, ओलीले उपाध्यक्ष बनाएर गौतमलाई नजिक ल्याए। फेरि ओलीलाई सत्ताबाट हटाउन लागेको समूहमा गौतम सहभागी भए। टकराव चुलीमा पुग्दा गौतमले समूह छाडे। उनले छ बुँदे सहमतिको प्रस्ताव ल्याएर प्रचण्ड र माधव नेपाललाई समेत जिल्लाए। सरकारमा उपप्रधानमन्त्रीसहित महत्वपूर्ण मन्त्रालय पाउने आशामा सम्झौता गरेको आरोप लाग्यो।

गौतमलाई कहिले प्रधानमन्त्री बनाउने प्रस्ताव गर्ने त कहिले सरकारमा लाने संकेत गर्ने गर्दै अलमलाइरहे । यसले उल्टै गौतममाथि पदलोलुपको आरोप लाग्यो। परिणाम उनले नराम्रो धोकाहरु खाँदा पनि ओलीलाई नै साथ दिएको भन्दै निकटस्थहरु चिढिए। यसपटक भने गौतमले अब ओलीको कुनै आश्वासनमा नपर्ने दृढता व्यक्त गरिसकेको बुझिएको छ। यतिसम्मकी उनले निकटस्थहरुसँग ओलीलाई देखाइदिने भनेका छन्। पाथिभरा दैनिकबाट