दशैंसँगै किसानलाई धान भित्र्याउने चटारो
सुर्खेत |
कोरोना कहरकै बीचमा किसानलाई यतिबेलामा खेतमा पहेंलै पाकेको धान भित्र्याउन चटारो छ । आज बडा दशैंको सप्तमी अर्थात् फूलपाती । दशैं पनि आउनु र धान पनि पाक्नुा सँगसँगै भएपछि किसानलाई धान भि¥याउने चटारो परेको हो । खेतमा धान पाक्न थालेपछि किसान अहिले पहेंलै झुलेको धान काट्न व्यस्त भएका छन् । सुर्खेतको वीरेन्द्रनगर उपत्यकामा कतै धान काटेर सकिएको छ भने अधिकांश ठाउँमा किसानले धान काट्ने काम गरिरहेका छन् ।

वीरेन्द्रनगर उपत्यकामा मात्र होइन कर्णालीका प्रायः सबै जिल्लाहरुमा यतिखेर धान पाकेर पहेंलपुर भएको छ । जुम्लामा लगाइएको मार्सी धान भने दशैं आउनु भन्दा पहिले नै किसानहरुले काटिसकेका थिए । तर अरु जिल्लाहरुमा भने धान काट्न र भित्र्याउन भ्याई नभ्याई छ । मध्य असोजदेखि धान काट्न सुरू गरेका किसानले कार्तिक तेस्रो हप्तासम्म धान भित्र्याउने गर्छन् । जिल्लामा अहिले करिब ५० प्रतिशत धान किसानले भित्र्याई सकेको वीरेन्द्रनगर नगरपालिकाका कृषि प्राविधिक हेमराज केसी बताउँछन् । ‘करिब ५० प्रतिशत धान किसानले भित्र्याइसकेका छन्, अझै ठ्याक्कै तथ्यांक आई नपुगे पनि किसानले करिब आधा धान काटिसकेका छन्’ उनले भने – ‘अहिले अधिकांश नागरिक घरमै भएका कारण पनि धान रोप्ने पनि छिटो भयो, काट्ने पनि छिटो भएको छ ।’ उनका अनुसार सुर्खेतमा तुलनात्मक रूपमा यस वर्ष धान अलि धेरै फलेको छ ।
दशैंसँगै धान पाकेर सुर्खेत उपत्यका रमाइलो भएको छ भने दशैंमा नयाँ लुगा लगाउन पाएकोमा केटाकेटीहरु जति खुसी हुन्छन् त्यत्तिकै खुसी भएका छन् किसानहरु पनि । यस वर्ष धान निकै सप्रेको पनि दशैं आउँनै लाग्दा काटुने काम पनि सकियो भन्छन् वीरेन्द्रनगर १० का कर्णबहादुर बुढा ।
सुर्खेत उपत्यकमा क्षेत्रफल धेरै नभएपनि जिल्लाका पहाडि भेकमा पनि गतवर्षहरु भन्दा यस वर्ष तुलनात्मक रुपमा धानको उत्पादन राम्रो हुने आंकलन गरिएको छ । कोरोना कहरका कारण बाँझो खेतमा पनि धान खेती भएको छ । विगतका वर्षहरु भन्दा यस वर्ष किसानहरुले खेतीमा राम्रो ध्यान दिन पाएका थिए । अर्कोतिर मनसुनी वर्षाले पनि राम्रो साथ दिएको थियो ।
यसवर्ष कोरोनाको प्रभावका कारण रोजगारी गुमाएका युवाहरूले बाँझो खेतमा पनि धान खेती गरेपछि उत्पादन बढ्ने आशा गरिएको हो । अहिले समयमै धान खेती हुन पायो, त्यसैमा धान खेती पनि बिगतको भन्दा बढी भएपछि उत्पादन बढ्ने आशा गरिएको हो ।
वीरेन्द्रनगर नगरपालिका वडा नं. ११ का वडा अध्यक्ष नन्दलाल शर्माले भने ‘उत्पादन बढेपछि नै केही राहत होला, काम गरेर आम्दानी गर्न गाह्रो भइसक्यो ।’ सुर्खेतमा धान भित्र्याएपछि किसानले गहुँ, मसुरो लगायतका बाली लगाउने गर्दछ भने उपत्यकाको दक्षिणी भेकमा बेमौसमी तरकारी खेती गर्ने गरिन्छ । आजको सूक्ष्म दृस्टीमा प्रकाशित प्रमुख समाचार |






