Loading... आजः ६ बैशाख २०८३, आईतवार । Sunday 19th April 2026
ताजा खबर
  

ओली र प्रचण्डलाई कंडेलका प्रश्नैप्रश्न

सुर्खेत ।
कर्णाली प्रदेश सभा सदस्य एवम् नेकपाका कर्णाली प्रदेश कमिटीका सहइन्चार्ज यामलाल कंडेलले पार्टी दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई प्रश्नैप्रश्न गर्नुभएको छ । उहाँले पार्टीका अध्यक्षद्वयलाई पत्र लेख्दै प्रश्नैप्रश्न गर्नुभएको हो ।


कर्णाली प्रदेश नेकपाका संसदीय दलका नेता एवम् मुख्यमन्त्री महेन्द्रबहादुर शाही विरुद्धमा अविश्वासको प्रस्ताव दर्ता गराउने नेतृत्व समेत गरेको नेता कंडेलले पार्टीको विधान बमोजिम कार्यहरु नभएका भन्दै अध्यक्षद्वयलाई प्रश्न गर्नुभएको छ । उहाँले पत्र मार्फत कर्णाली प्रदेशमा देखिएका समस्याबारे अध्यक्षद्वयको धारणा समेत माग गर्नुभएको छ ।

पार्टीको प्रदेश सहइन्चार्जसमेत रहनुभएका कँडेलले सोमबार नेकपा अध्यक्षद्व केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई पत्र लेखी कर्णाली प्रदेशबाट नेकपाले कस्तो प्रचलन बसाउन खोजेको भनी प्रश्न गर्नुभएको हो । असोज २५ गते नेकपाको कर्णाली प्रदेशसभाका सांसदमध्ये १८ जनाले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध प्रमुख सचेतक गुलाबजंग शाहलाई अविश्वास प्रस्ताव बुझाइएको थियो ।
त्यसपछि प्रमुख सचेतक शाहले असोज २७ गते बैठक आह्वान गरेपछि संसदीय दलको नेताले बैठकमा उपस्थित भएर प्रदेशसभा सदस्यको विश्वास जित्ने प्रयास गर्नुको सट्टा प्रमुख सचेतक हटाएको भन्दै कँडेलले यसमा अध्यक्षद्वयको धारणा माग गरिएको छ ।उहाँले लेख्नुभएको छ, ‘यो विषय नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा कस्तो प्रचलन बसाउनेसँग सम्बन्धित छ ? के यस्ता अनधिकृत कामहरु सच्याउनुपर्दैन ?’

अविश्वासको प्रस्तावमा उल्लेख भएका विषयमा प्रदेशस्तरमा छलफलै नगरी विषयका आधारमा समस्या समाधान गर्नुको सट्टा पद र प्रतिष्ठा वितरण गरिएको भन्दै कँडेलले नेकपा यस्तै संस्कारको पक्षमा हो भनी अध्यक्षद्वयलाई प्रश्न गर्नुभएको छ । नेकपामा गुट उपगुट अन्त्य गर्ने भने पनि विषयका आधारमा एक ठाउँमा उभिएका सांसदलाई हतोत्साहित गर्ने काम भएको कँडेलको भनाई छ । ‘‘विषयका आधारमा उभिएका प्रदेशसभा सदस्यलाई नेतृत्व तहबाट नै हतोत्साहित गर्ने काम भयो, व्यक्तिको निष्ठा र इमानमा जनस्तरबाट प्रश्न उठाउने परिस्थिति निर्माण गरियो’ उहाँले भन्नुभएको छ, ‘केन्द्रीय नेतृत्व तहबाटै भएको यस्तो क्रियाकलाप र गतिविधिले एकतावद्ध पार्टी निर्माण सम्भव छ ?’

अध्यक्षद्वयले कर्णाली प्रदेशसभाभित्र उत्पन्न समस्यालाई यथास्थानमा राखेर काठमाडौं आउन निर्देशन दिए पनि मुख्यमन्त्री पक्षले कात्तिक ७ गते एकपक्षीय रुपमा दलको बैठक आयोजना गर्नु नियमसंगत थियो ? नेता कँडेललको प्रश्न छ । ‘त्यो बैठकबाट कर्णालीमा देखिएका समस्याको समाधान भयो र ?’ उहाँले साध्नुभएको छ । असोज २७ गते पार्टी केन्द्रीय कार्यालयमा उपस्थित हुन दुबै अध्यक्षले हस्ताक्षर गरेर निर्देशन दिएको पत्रबारे हालसम्म भएको प्रगतिबारे पनि चासो राखिएको छ ।

अविश्वासको प्रस्तावको प्रतिलिपी, अध्यक्षद्वयले काठमाडौं बोलाएको पत्रको प्रतिलिपी, अविश्वासको प्रस्ताव बुझाएको फोटोसमेत राखेर पार्टीका महासचिवलाई आवश्यक जानकारी र सहजीकरणका लागि भन्दै बोधार्थ समेत नेता कँडेलले दिनुभएको छ ।