तातोपानी नाका खुल्यो, पर्याप्त सामान आएन
काठमाडौँ |
२०७२ सालको भूकम्पपछि पटक–पटक बन्द हुँदै खुल्दै गरेको तातोपानी नाका गत विहीबारबाट पुनः सुचारु भएको छ । तर चिनियाँ पक्षले पर्याप्त सामग्री नपठाँउदा नेपाली व्यवसायीले मारमा परेको गुनासो गरेका छन् ।

तातोपानी नाका नेपाल–चीन व्यापारको प्रमुख नाका हो । भूकम्पको लामो समय बन्द भएर खुलेको केही समयमा नै जम्बुबाढीका कारण पुनः बन्द भएको थियो । पछिल्लो पटक गत असोज २० बाट बन्द भएको नेपाल–चीन उत्तरी नाकाबाट बिहीबार चिनियाँ सामान नेपाल भित्रिएको हो । कोरोना महामारीबाट फैलिएको त्रासलाई कम गर्दै नाकामा उच्च सावधानीसहित चिनियाँ व्यापारीले अलपत्र परेको नेपाली व्यवसायीहरूको सामान नेपाल पठाउन थालेका हुन् ।
७२ सालको भूकम्पअघिसम्म दैनिक करोडौं राजस्व संकलन हुने नाका भूकम्पपश्चात् भने लामो समय बन्द रह्यो । भूकम्पको चार वर्षपछि २०७६ जेठबाट पुनः सञ्चालनमा आएको नाका त्यसपछि पनि पूर्ण रूपले निर्वाध चल्न भने सकेन । जसोतसो चलिरहेका नाका गत असार २४ गतेको जम्बुमा आएको भोटेकोशी बाढीको कारण पुनः बन्द हुन पुगेको थियो । त्यसपछि कोरोना महामारीमा केही मेडीकल सामग्री भित्र्याएको तातोपानी नाका अन्य व्यवसायीको लागि भने असोज १८ गते खुलेको थियो ।
सामान लोड गर्न जाने नेपाली श्रमिकमा कोरोना संक्रमण पुष्टि भएपछि खुलेको भोलिपल्टै बन्द भएको नाका गत विहीबारबाट पुनः सञ्चालनमा आएको हो । कोरोना महामारी र बाढीपहिरोको कारण पटक–पटक बन्द भएको नाकाबाट गत बिहीबारदेखि सामान आयात हुन थालेको हो ।
अहिले नेपालतर्फको पुरानो भन्सार यार्डमा चिनियाँ कन्टेनरले नै सामान छोड्न आउने गरेका छन् । तातोपानी भन्सार सुख्खा बन्दरगाह कार्यालयका प्रमुख लालबहादुर खत्रीका अनुसार नाकामा नयाँ मोडालिटीबाट सामान आयात भइरहेको छ । श्रमिकहरूलाई स्वास्थ्य मापदण्डसहित आइसोलेटेड क्षेत्रमा सामान लोड अनलोड गर्ने गरिएको छ ।
अहिले नेपाली कन्टेनर मितेरी पुल पारी नगई चिनियाँ गाडी नै मितेरी पुलवारीसम्म आउने गरेका छन् । कोरोना भाइरसको संक्रमण फैलिन नदिन दुवै पक्षबाट सजगताको लागि नयाँ मोडालिटी तयार गरिएको छ । चिनियाँ पक्षले नेपालको पुरानो भन्सार यार्डमा सामान ल्याइदिने र त्यहाँबाट चिनियाँ चालक फर्किएपछि मात्रै नेपाली कामदार र नेपालको कन्टेनर जाने गरेको छ ।
अहिले नयाँ मोडालिटीअनुसार नाका सञ्चालन हुँदा व्यवसायीले खरिद गरेका सबै सामग्री नेपाल आउन सकेको छैन । नाका खुलेको पहिलो दिन दुई नेपाली कन्टेनर बराबरको मात्रै सामान आयात भएको र दोस्रो दिन चार कन्टेनर बराबरको सामग्री मात्र आयात भएको थियो यसरी चिनियाँ पक्षले सुरक्षाको कारण देखाई थोरै सामान मात्रै पठाउँदा आफुहरूको लगानी फसेर बसेको र सिजनमा आउनुपर्ने सामग्री सिजन सकिएपछि मात्रै आउने त्रास बढेको व्यवसायीहरूको गुनासो छ ।
अहिले नेपालतर्फको भन्सारमा २५ भन्दा बढी चिनियाँ कन्टेनर राखेर सामान नेपाली कन्टेनरमा पल्टी गर्न सकिने क्षमताको यार्ड तयार गरिएको छ । एक चिनियाँ कन्टेनर सामग्रीले दुईदेखि तीन वटा नेपाली कन्टेनर भरिन्छ । यदी पूर्ण क्षमतामा कम सामान आयात हुने हो भने पचासभन्दा ज्यादा नेपाली कन्टेनर सामग्री आयात गर्न सकिन्छ । तर चिनियाँ पक्षले स्वास्थ्य सुरक्षाको कारण देखाउँदै थोरै मात्र सामग्री पठाउँदा आफूहरू मर्कामा परेको नेपाली व्यवसायी विजय शेर्पाले दुःखेसो पोख्नुभयो । स्याउलगायतका विभिन्न खाद्य सामग्री कुहिन थालिसकेकाले नाका निरन्तर खोल्नुपर्ने उहाँको भनाइ छ ।
नाका निरन्तर खुलेमा स्थानीयको रोजगारीमा समेत वृद्धि हुनेछ । लोड अनलोड गर्ने मजदुरदेखि व्यवसायी, यातायात मजदुर सहित होटल व्यवसायीलाई समेत आयआर्जनको अवसर प्राप्त हुनेछ । तातोपानी क्षेत्रमा खेतीयोग्य जमिन समेत कम भएकाले बर्षौँंदेखि यहाँका स्थानीय नाकामा नै निर्भर रहेकाले नाका निरन्तर सञ्चालन गर्न जरूरी रहेको मजदुर मंगले थामीले बताउनुभयो । ‘नाका निरन्तर सञ्चालन भएमा हामी पनि नियमित रूपमा काम गर्न पाउँथ्यौँ’ थामीले भन्नुभयो–‘नाका बन्द हुँदा हाम्रो रोजीरोटी नै गुमेर आफू के खाने र परिवारलाई पनि के खुवाउने भन्ने तनावमा छौं ।’ नाका निरन्तर सञ्चालन भएमा धेरै जनाले रोजगारीका अवसर पाउने उहाँले बताउनुभयो ।
नाका कि त पूर्ण रुपमा सञ्चालन आउनुपर्ने कि त बरु पूर्ण रूपमा बन्द नै गरेर समुन्द्री नाकाबाट सामान ल्याउन पाउनुपर्ने व्यावसायीहरूको माग छ । नाका पूर्ण रूपमा सञ्चालनमा नआँउदा व्यवसायीहरू धेरै मर्कामा परेका नेपाल चीन उद्योग वाणिज्य संघ, सिन्धुपाल्चोकका अध्यक्ष जाङ्बु शेर्पाले बताउनुभयो । तत्कालै दुवै देशका सरकारले पहलकदमी लिएर धेरैभन्दा धेरै सामग्री नेपाल भित्र्याउन पहल नगरे सबै व्यापारी नाकामा आएर धर्ना दिनुपर्ने अवस्था आउने शेर्पाले चेतावनी दिनुभयो । ‘अहिले एक–दुईवटा गाडीमा सामान आँउदा हामीलाई चाहिने र हामीले किनिसकेका सबै सामग्री नेपाल भित्रिन सक्दैनन् ’ शेर्पाले भन्नुभयो, ‘नाका पूर्ण क्षमतामा सञ्चालनमा नआँउदा व्यवसायीहरूको सामान उतै अलपत्र पर्दा धेरै व्यापारी मर्कामा परेका छन् ।’ नाका पूर्ण क्षमतामा सञ्चालनमा ल्याउनको लागि सरकारी तहबाट थप प्रयास गरिनुपर्ने उहाँको भनाइ छ ।
अहिलेसम्म स्याउ र केही रेडिमेड कपडा मात्रै आयात भएको नाकामा यही गतिमा सामान आयात हुने हो भने अहिले व्यापारीले खरिद गरेका सामग्री आउन मात्रै एक वर्ष लाग्न सक्ने तातोपानी भन्सार सुख्खा बन्दरगाह कार्यालयका प्रमुख लालबहादुर खत्रीले बताउनुभयो । अहिले स्वास्थ्य सुरक्षा मापदण्ड परीक्षणकै रूपमा रहेकाले थोरै मात्रामा मात्रै सामान आयात भइरहेको उहाँले बताउनुभयो । नेपालतर्फबाट स्वास्थ्य सुरक्षाको विश्वसनीयता बढ्दै गएपछि सामानको मात्र समेत बढ्ने उहाँले बताउनुभयो । आफूहरूले चिनियाँ पक्षसँग लगातार छलफल गरिरहेको खत्रीले बताउनुभयो ।










