Loading... आजः ६ बैशाख २०८३, आईतवार । Sunday 19th April 2026
ताजा खबर
  

सवारी दुर्घटना उच्च जोखिममा

प्रदेश राजधानीमै छैन व्यवस्थित पार्किङ

सुर्खेत ।
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा अहिलेसम्म पनि व्यवस्थित पार्किङको व्यवस्था हुने सकेको छैन । पुरानै शैलीमा पार्किङ गर्ने परम्परा र बढ्दो जनसंख्या एवम् सवारी साधनका कारण वीरेन्द्रनगर बजार क्षेत्रमा पार्किङको समस्या हुन थालेको हो ।


देशमा संघीयता लागु भएसँगै वीरेन्द्रनगर कर्णाली प्रदेशको राजधानी बनेपछि वीरेन्द्रनगरको शहरीकरण दिन प्रतिदिन बढ्दै गएको छ । वीरेन्द्रनगर आफैमा पनि गुरुयोजना अनुसारको व्यवस्थित शहर पनि होइन । गुरुयोजना अनुसार पार्किङ, ढल निकास तथा फुटपातको व्यवस्थापन नै नभएको वीरेन्द्रनगरमा कर्णाली प्रदेशका १० जिल्लाबाट आउनेहरु लगायत सरकारी कामकाज र व्यापारिक दृष्टिकोणले पनि यहाँको चहलपहल बढ्दै गइरहेको हो ।

व्यापारीहरुले फुटपात समेत मिचेर सामानहरु राखिदिने गरेका कारण सडकपेटीबाट पैदलयात्रीहरु ओहोरदोहोर गर्न सक्ने अवस्था छैन । व्यवस्थित पार्किङ नभएका कारण सवारी चालकहरुले मात्र नभई सर्वसाधारणहरुले समेत सास्ती भोग्नु परिरहेको छ ।

ट्राफिक नियमको पालना नै नगरिदिने सवारी चालकहरुका कारण पनि पैदल यात्रीहरुले सास्ती भोग्नु परेको बताउँछन् हिमा गाउँपालिका जुम्लाबाट सुर्खेत आइपुगेका दलबहादुर रोकाया । फुटपातमा हिड्न सकिने अवस्था नै छैन । चाडवाडको समयमा बजारमा बेच्न राखिएका सामानले फुटपात नै ओगटेपछि कसरी सडकपेटीबाट हिड्नु ? उनले प्रतिप्रश्न गरे । यतिबेला कोरोना महामारीले जनमानसलाई त्रसित पारिरहेको छ । सामाजिक दुरी कायम गर्नुपर्ने बताउनेहरुले शहर व्यवस्थापनमा ध्यान दिन सकिरहेका छैनन्, रोकायाले भने ।

शहरलाई व्यवस्थापन नगर्ने हो भने कर्णालीको राजधानीमा भविष्यमा पार्किङको लागि उच्च समस्या आउन सक्छ । तर त्यसका लागि आन्तरिक गृहकार्य भइरहेको वीरेन्द्रनगर नगरपालिकाको दावी छ । त्यसलाई व्यवस्थित गर्नका लागि केही समय लाग्ने र योजना बनिरहेको नगरपालिकाको भनाई छ । व्यवस्थित पार्किङस्थल निर्माण गर्ने योजना बनाए पनि आवश्यक जग्गाको व्यवस्था गर्न भने नगरपालिकालाई पनि समस्या छ ।

व्यवस्थित पार्किङ नभएका कारण र बजार क्षेत्रमा नियम विपरित चल्ने सवारी साधनका कारण पनि दुर्घटनाको उच्च जोखिम रहेको छ । ट्राफिक नियमको पालना गर्नु त कता हो कता तोकिएको भन्दा तिब्रगतिमा हुँइकिने सवारी साधनलाई समेत ट्राफिक प्रहरीले नियन्त्रण गर्न सकेको छैन । यसका साथै नगर क्षेत्रभित्र वीरेन्द्रनगर नगरपालिकाले गरिरहेको सडकको स्तरोन्नतीका कारण पनि झनै समस्या निम्त्याएको छ । यतिबेला वीरेन्द्रनगरको हटियाचोकदेखि क्याम्पसरोड, च्याम्बर मार्गदेखि घण्टाघर, जिल्ला प्रहरी कार्यालय अगाडिदेखि आँखा अस्पताल चोक, नगरपालिका अगाडिको लाइनमा समेत सडक स्तरोन्नतीका कार्यहरु भइरहेका छन् ।

निर्माण भइसकेको बसपार्कलाई कोरोना संक्रमितहरुको लागि आइसोलेशन कक्षका रुपमा प्रयोग भइरहेको छ भने व्यवस्थित बसपार्कको अभावका कारण पनि गाडिहरु मंगलगढी चोकमा छरपष्ट हुने गरेका छन् । सकडमा आवश्यक पर्ने ट्राफिक लाइटदेखि संकेतिक चिन्हहरुको समेत छैनन् । जसका कारण पनि सडक दुर्घटना निम्तिन सक्ने खतरा छ ।

हलुका सार्वजनिक सवारी साधनको रुपमा वीरेन्द्रनगरमा हुँइकिने अटोका चालकहरु मान्छे देख्नेवित्तिकै अगाडि पछाडि नहेरी जहाँ पायो त्यही अटो रोक्ने गर्दछन् । मुख्य बजार क्षेत्र रहेको मंगलगढीदेखि गणेशचोकसम्म र मंगलगढीदेखि जुम्लारोडको यरिचोकसम्मको क्षेत्रमा अटोले एक खालको आतंक नै मच्चाएका छन् । जसका कारण पनि कहाँ कति बेला कस्तो दुर्घटना हुने हो सर्वसाधारण त्रसित छन् । निश्चित स्थानमा अटोको पार्किङ तथा अन्य सवारी साधनहरुको पार्किङ गर्ने व्यवस्थापन नहुँदा बजार क्षेत्र यस्तो अनियन्त्रित एवम् अव्यवस्थित भएको हो ।

समय सापेक्ष शहरलाई व्यवस्थित गर्न नसक्ने हो भने वीरेन्द्रनगर कुरुप बन्नसक्छ भन्छन् वीरेन्द्रनगर ६ निवासी हरिलाल शर्मा । वीरेन्द्रनगरमा बनेका पूराना मात्र होइन नयाँ घरहरु पनि पार्किङको बारेमा कुनै विचार नै नगरि निर्माण गरिएका छन् । जसले गर्दा पनि पार्किङस्थलको अभाव भइरहेको छ । आजको सूक्ष्मदृष्टिमा प्रकाशित समाचार ।