Loading... आजः ८ बैशाख २०८१, शनिबार । Saturday 20th April 2024

गुटगत भेला विल्कुल अस्वस्थ र गलत तरिका हो : प्रधानमन्त्री ओली

काठमाडौंँ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले गुटगत भेला अनुचित भएको बताउनु भएको छ ।

शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा एपी वान टेलिभिजनलाई विशेष अन्तर्वार्ता दिँदै प्रधानमन्त्री ओलीले यस्तो बताउनु भएको हो ।

नेकपाका दुई अध्यक्षमध्ये पार्टी फुट्ने कुरा कसले ग¥यो ? भन्ने टिकाराम यात्रीको प्रश्नमा प्रधानमन्त्री ओलीले, ‘कसले ग¥यो पार्टी फुट्ने कुरा ? मैले ? ’‘उहाँहरूले नै अलि अगाडि पत्रकार सम्मेलननै गरेर जुनसुकै परिस्थितिका लागि तयार होऔं भनेको होइन ? मैले भनेको हो र ? जुनसुकै परिस्थितिका लागि तयार होऔं भनेको के ? पार्टी फुट्न सक्छ भनेको होइन र ?’ भन्नुभयो ।

‘पार्टी कुनै हालतमा फुट्दैन, फुट्न दिइन्न ।’ बरु सचिवालयका ५ नेताको बेला–बेलाको बसाइको उहाँले कडा कटाक्ष गर्दै उहाँले भन्नुभयो,  ‘उहाँहरू पाँच जना बस्ने गर्दै आइरहनुभएकै छ । यो विल्कुल अस्वस्थ तरिका हो । गलत तरिका हो’।

कर्णालीमा आफूमाथि आक्षेप लगाएर कार्यकारी अध्यक्ष प्रचण्ड र माधव नेपाल चुपचाप बसेको प्रधानमन्त्री ओलीको आरोप थियो ।

 उहाँले भन्नुभयो, ‘पार्टीमा समस्या भइरहेको छ भने कार्यकारी अध्यक्ष हुँ भन्ने मान्छेले हेर्नु पर्दैन ? त्यो थाहा पाएर मलाई भन्नु पर्दैन ? दर्ता भइसकेपछि उहाँले मलाई सूचना गर्नुभयो । उहाँको काम पार्टी सञ्चालन गर्ने होला, पार्टी हाँक्ने, मिलाउने होला । त्यो गर्नु पर्दैन ? मेरो टाउकामा हाल्ने ?’ प्रधानमन्त्री ओलीको प्रश्न थियो ।

सरकारलाई असहयोग गर्दै नियुक्तिलगायतका कुरामा आआफ्ना मान्छे अघि सार्ने प्रवृति आफुलाई स्वीकार नहुने प्रधानमन्त्री ओलीको भनाइ थियो । प्रधानमन्त्री ओलीले हाम्रो मान्छे होइन राम्रो मान्छे, खुल्ला प्रतिस्पर्धाबाट नियुक्ति हुनु पर्ने आफ्नो मान्यता रहेको बताउनु भएको थियो ।

नेकपा भित्र दिनदिनै किचलो बढ्दै गएको छ । पार्टीको सचिवालय बैठक बोलाउन आग्रहसहित अध्यक्ष ओलीलाई भेट्न शनिबार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित सचिवालयका पाँच सदस्य बालुवाटार पुग्नु भएको थियो ।

त्यस अवसरमा अध्यक्ष प्रचण्ड सहितका नेताहरूले बैठक बोलाउन दुई पृष्ठको लिखित आग्रह पत्र प्रधानमन्त्रीलाई बुझाउनुभएको थियो । अध्यक्ष ओलीले सल्लाह गरेर बैठक बोलाउने बताउनुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।

प्रधानमन्त्री ओलीले बैठक चाहियो भने काल्पनिक, झुठा कुरा बोल्न, लेख्न छाड्नुस्, पार्टी विभाजन गर्ने खालका गतिविधि नगर्न नेताहरूलाई ध्यानाकर्षण गराउँदै गुटगत राजनीतिले समस्याको समाधान नहुने धारणा व्यक्त गर्नुभएको जनाइएको छ ।

नेताहरूसँगको छलफलमा प्रधानमन्त्री ओलीले भन्नुभयो, “बैठक बस्नु हुँदैन भनेर मैले भनेको छैन, बैठक भोलि बसौँला, पर्सी बसौँला, सल्लाह गरेर बसौँला तर त्यसअघि तपाईंहरू पनि सच्चिनुपर्छ ।”

प्रधानमन्त्री ओलीलाई भेटेर सचिवालय बैठक बसाउन लिखित रूपमै आग्रह गरिएको पार्टी प्रवक्ता एवं सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले जानकारी दिनुुभयो । कोरोना भाइरस (कोभिड–१९) महामारीले देशमा सिर्जना गरेको अवस्था, स्थायी कमिटीले गरेका निर्णयको कार्यान्वयन, पार्टीमा उत्पन्न सङ्कट, राष्ट्रियता लगायतको सम्बन्धमा छलफल गर्न सचिवालयको बैठक बस्न लिखित आग्रह गरिएको उहाँले बताउनु भयो ।

नेताहरूका अनुसार प्रधानमन्त्री ओली, अध्यक्ष प्रचण्ड र प्रवक्ता श्रेष्ठको गतिविधिप्रति आक्रोशित हुनुभएको थियो । श्रेष्ठले पार्टी प्रवक्ताको मर्यादा नाघेको र अध्यक्ष प्रचण्डले ठाउँठाउँमा गुटगत भेला गर्दै गरेकोमा प्रधानमन्त्री ओलीको असन्तुष्टि छ ।

शनिबारको बालुवाटार छलफलमा अध्यक्ष प्रचण्ड, सचिवालय सदस्यहरू माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठ सहभागी हुनुहुन्थ्यो ।