Loading... आजः १० बैशाख २०८३, बिहीबार । Thursday 23rd April 2026
ताजा खबर
  

उपभोक्ताको हित साझा सरोकारको विषय : उपप्रमुख ढकाल

सुर्खेत ।
वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख मोहनमाया ढकालले उपभोक्ताको हित साझा सरोकारको विषय भएको बताउनु भएको छ । स्वच्छ बजार तथा उपभोक्ता हित संरक्षणका लागि संघ, प्रदेश र स्थानीय सरकार बीचको समन्वय विषय अन्तरक्रिया कार्यक्रममा बोल्दै उपप्रमुख ढकालले यस्तो बताउनु भएको हो ।


कार्यक्रममा बोल्दै ढकालले भन्नुभयो, ‘उपभोक्ताले स्वच्छ खाना पाउनु पर्छ । त्यसका लागि उपभोग गर्ने व्यक्ति पनि स्वयम् जानकार हुनुपर्दछ ।’ सेवा दिने मात्र नभई सेवा लिने समेत सचेत भएको खण्डमा उपभोक्ताको हित हुने बताउँदै त्यसका लागि सरकार मात्र नभई उपभोक्ताको हितका लागि कार्य गर्ने अभियान्ताहरुले समेत एक भएर अगाडि बढ्न आवश्यक रहेको उहाँको भनाई थियो ।

स्वच्छ बजार साझा सरोकारको विषय भएकोले त्यसलाई वस्ती–वस्तीमा पु¥याउन आवश्यक छ भन्दै उपप्रमुख ढकालले निरन्तर बजार अनुगमनलाई अगाडि बढाउनु पर्ने आवश्यकता रहेको बताउनु भयो ।

कार्यक्रममा जिल्ला प्रशासन कार्यालय सुर्खेतका सहायक प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले अनुगमनमा गलत गर्नेहरुलाई कारवाही गर्ने क्रममा दबाब समेत आउने गरेको बताउँदै आफ्नो जिम्मेवारी पूरा गर्न दृढ रहेको बताउनु भयो । गुणस्तरीय वस्तुको उपभोग गर्न पाउनु उपभोक्ताको अधिकार भएकोले उत्पादकदेखि उपभोक्ता समेत सचेत हुन आवश्यक रहेको बताउनु भयो । शहर भन्दा गाउँ–गाउँमा उपभोक्ता हितका विषयहरु पु¥याउन आवश्यक रहेको उहाँको भनाई थियो ।

द एसिया फाउण्डेशनको सहकार्य उपभोक्ता हित संरक्षण मञ्च नेपाल कर्णाली प्रदेश सुर्खेतको समन्वय उपभोक्ता हित संरक्षण मञ्च नेपाल काठमाडौंको प्राविधिक सहयोग र वरिेन्द्रनगर नगरपालिकाको आयोजनामा भएको कार्यक्रममा उपभोक्ता हित संरक्षण मञ्चका उपमहासचिव विष्णुप्रसाद तिमिल्सिनाले सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टीकाराम ढकाललगायत विभिन्न सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।