Loading... आजः ६ बैशाख २०८३, आईतवार । Sunday 19th April 2026
ताजा खबर
  

यस वर्षको ‘तिहार’ विगतको जस्तो रमाइलो नहुने

सुर्खेत |
तिहारै आयो लौ झिलिमिली… यो गीत आजभोली घन्किन सुरु हुने समय हो । किनकी आज कार्तिक कृष्णपक्षको त्रयोदशी तिथि । अर्थात् तिहार सुरु भइसकेको छ । हिन्दु धर्मालम्बीहरुको दोस्रो ठूलो पर्वका रुपमा मनाइने यमपञ्चकको आज पहिलो दिन । आजदेखि भैलेनीहरु आगनमा नाच्न र गाउन आउने दिन भएपनि यस वर्ष कोरोना कहरका कारण तिहार आए जस्तो पनि लागेको छैन ।

यस वर्षको तिहार विगतका वर्षहरुको झँै रमाइलो नहुने भएको छ । कोरोना भाइरसका कारण तिहार विगतका वर्षहरु झैँ रमाइलो नहुने भएको हो । आजदेखि नै हिन्दुहरुको घर आगमनमा दोस्रो चार्ड तिहारले पाइला टेकिसकेको छ । अबको ३ दिनपछि अर्थात् मंसिर १ गते भाइटिका आउँदैछ ।

जसरी यस वर्षको दशैं रौनक विना नै वित्यो । तिहारको समयमा खेलिने देउसी भैलीका कारण तिहारमा जुन रौनक आउथ्यो त्यो यस वर्ष नआउने भएको छ । अर्थात भन्नुपर्दा यस वर्षको तिहार पनि रौनक विना नै वित्ने भयो । विश्वमा फैलिएको कोरोना महामारीका कारण यस वर्षको तिहार पनि खल्लो हुने निश्चित छ ।

कर्णालीका विभिन्न जिल्लाका जिल्ला प्रशासन कार्यालय तथा स्थानीय सरकारहरुले समेत सार्वजनिक सूचना प्रकाशित गरि देउसी भैली खेल्न प्रतिबन्ध लगाइसकेका छन् ।

सबैभन्दा ठूलो कुरा मानव जीवन हो । मानव जीवनलाई बचाउन सकिएको खण्डमा तिहार त अर्को वर्ष पनि आउनेछ । तर मानज जीवन नै रहेन भने ? यस्तै सकसपूर्ण प्रश्नले सताइरहेका छन् यतिबेला । कर्णाली प्रदेश सरकारले समेत कोरोना महामारीको जोखिमलाई न्यूनिकरण गर्नका लागि यस वर्ष देउसी भैली खेल्नमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ । जसले गर्दा पनि तिहारको रमझम नहुने भएको हो ।

आ–आफ्नो घरमा दिपावली गर्न, भौतिक दुरी कायम गरि रमाइलो गर्न र सकेसम्म घरपरिवारमा मात्र सिमित हुन आवश्यक छ । नेपाल सरकारले तोकेका स्वास्थ्य सुरक्षाका मापदण्डहरु पूरा गरेर मात्र तिहार मनाउने कार्य गरियो भने कोरोनाको संकटबाट बच्नमा सहयोग पुग्ने चिकित्सकहरुले बताएका छन् । तिहारको नाममा भौतिक दुरीको कायम गर्न नसक्ने हो भने कोरोनाले अझँै डरलाग्दो रुप धारण गर्न सक्ने अवस्था छ । विगतमा झैँ एक ठाउँबाट अर्को ठाउँमा गएर दिदीभाइ तथा दाजुबहिनी बीचमा टिकाटालो गर्न समेत जोखिम छ ।

गाउँघर न हो चिने जानेकै मान्छे न हो भनेर हेलचक्र्याँई गर्न नहुने गुर्भाकोट नगरपालिकका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर खत्रीको भनाई छ । जुनसुकै क्षेत्रमा काम गर्ने मान्छे भएपनि रोगले ठूलो सानो नभन्ने भएका कारण स्वास्थ्य सुरक्षा अनिवार्य अपनाउनु पर्ने खत्रीले बताए । ‘अहिले मास्क लगाउन अप्ठ्यारो मान्नेले भोलि आइसोलेसनमा पुग्नु पर्ने अवस्था आउन सक्छ’ उनले भने । कोरोना हाउँगुजी नै नभएपनि त्यसबाट बच्न र बचाउनका लागि सचेतता अपनाइएन भने ज्यान नै लैजाने काल पनि हो उनको भनाई थियो ।

यता सिम्ता गाउँपालिकाका अध्यक्ष कविन्द्र केसीले पनि आफ्नो पालिकामा देउसी भैली खेल्न रोक लगाएको बताए । यस वर्ष कोरोनासँग संघर्ष गरेर भएपनि बाँचौं र बचाऔं अर्को वर्ष धुमधामले दशैं तिहार मनाउला । आफू बच्न र आफ्नालाई बचाउन सकिएन भने त्यो जीवनकै पछुतो हुने उनको भनाई छ ।

तिहारमा दिदीबहिनी कहाँ जाँदा कतै कोरोना नै सँगै जाने त होइन भन्ने बारेमा सचेत हुन आवश्यक रहेको वीरेन्द्रनगर नगरपालिका वडा नं. ६ का वडाअध्यक्ष मोतिप्रसाद कंडेलको भनाई छ । हामी आफै सचेत भएनौ भने कोरोनाले हामीलाई पनि छोड्नेवाला छैन त्यसैले सचेत भएर तिहार मनाउन कंडेलले सुझाव दिए ।

कोरोना महामारीको जोखिम कम गर्नका लागि यस वर्षको तिहारमा देउसी भैली भन्दा पनि सचेतना तर्फ लाग्नु पर्ने वीरेन्द्रनगर नगरपालिका वडा नं. ११ का वडाअध्यक्ष नन्दलाल शर्माले बताए । उनले भने, ‘तिहारमा भौतिक दुरी कायम गर्नु, स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गर्नु र कोरोना महामारीको जोखिम कम गर्न के गर्नुपर्छ भन्ने कुरा बुझेकाले बुझाउनु नै यस पटकको तिहार सफल हुनु हो ।’

यता प्रहरीले पनि तिहारलाई शान्तिपूर्ण रुपमा मनाउन सबैसँग आग्रह गरेको छ । तिहारको समयमा कोही कसैले पनि पटका पड्काउन अतिसबाजी गर्न नपाइने भएकोले कानूनमा प्रतिबन्ध लगाइएका त्यस्ता पदार्थहरुको प्रयोग, खरिद विक्री नगर्न नगराउन प्रहरीले अनुरोध गरेको छ । मदिराको सेवन गरि हो–हल्ला गर्ने, जुवा तास खेल्ने वा अवैध कार्य गर्नेहरुका विरुद्धमा सादा पोशाकमा समेत प्रहरीहरु परिचालन हुने भएकाले त्यस्ता कार्य गर्ने जो कोहीलाई पनि कानून बमोजिम कारवाही हुने प्रशासनले जनाएको छ ।