खानपानमा ध्यान दिऔं
अरु वर्षहरुमा भन्दा यस वर्ष करिब १ महिना नै ढिलो आइपुगेको तिहारसँगै चिसो पनि बढिरहेको छ । एकातिर कोरोना महामारीको त्रास छ भने अर्कोतिर कर्णालीमा डेंगु रोगको संक्रमण समेत फैलिरहेको छ । यस्तो अवस्थामा आजदेखि तिहार सुरु हुँदैछ । यस वर्ष कोरोना महामारीको संक्रमण कम गर्नका लागि प्रशासनिक निकायहरुले देउसी भैली नखेल्न सूचना प्रवाह गरिसकेको छन् । देउसी भैली, मेला पर्व तथा भेला नभएपनि घरमा विभिन्न परिकारहरु भने पाक्छन् होला नै । एकातिर चिसो बढिरहेको र अर्कोतिर डेंगु तथा कोरोना महामारीले समेत संक्रमण फैलाइरहेको अवस्थामा तिहारको समयमा भन्दै खाइने विभिन्न परिकारहरुले विरामी पर्न सकिने अवस्था झनै बढ्छ । त्यसैले तिहारको समयमा भनेर जथाभावी रुपमा खानु भन्दा पनि आफ्नो स्वास्थ्यको ख्याल गर्नु बुद्धिमानी ठहर्छ ।
विशेष गरि तिहारको समयमा चिल्लो खाद्य पदार्थको बढि सेवन गर्ने गरिन्छ । जसका कारण चिसोले सहजै आक्रमण गर्न सक्ने भएकोले पनि मौसमी रोगहरु लाग्न सक्छन् । चिसोको समयमा गर्भवती महिला, बालबालिका तथा वृद्धवृद्धाहरु र दीर्घरोगीहरुले समेतलाई असर पर्ने भएकोले स्वास्थ्यलाई फाइदा पु¥याउने खालका खानपान गर्नु उचित हुन्छ । केहि दिनयता कर्णालीमा जाडो बढ्दै गइरहेको छ । जाडोको समयमा विरामी र वृद्धवृद्धाहरूलाई हृदयाघात हुने संभावना समेत बढी हुने चिकित्सकहरू बताउँछन् । गर्मीको तुलनामा जाडो मौसममा मानिसमा मुटु रोगसम्बन्धी जोखिममा बढी रहने भएकोले पनि जाडोबाट बच्नु पर्नेहुन्छ । अर्कोतिर रक्तचाप कहिले धेरै कहिले कम हुने समस्या समेत जाडो बेलामा बढी हुन्छ ।
त्यसैगरि जाडोबाट बच्नका लागि भन्दै ध्रुमपान तथा मध्यपान गर्नेहरु पनि छन् । तर चिकित्सकको भनाई अनुसार त्यस्ता नशालु पदार्थको सेवनले जाडो कम हुने नभई त्यसले झन स्वास्थ्यमा असर गर्दछ । त्यसकारण तिहारको समय भन्दै ध्रुमपान, मध्यपान तथा मदिराको सेवन गर्दा पनि स्वास्थ्यलाई असर गर्ने भएकोले त्यसबाट पनि जोगिन आवश्यक छ । त्यसैगरि चिसोका कारण शरीरमा उत्पन्न हुने रसायन वा हर्मोनहरू हुन् जसले मुटुको चाल वा धड्कन बढाउन मद्दत गर्छन् । मुटु भित्रका नलीमा रक्त संचार अवरुद्ध गर्ने र रगत जम्ने सम्भावना बढाइदिन्छ । अझ विशेष गरि उमेरले ६० नाघेका मानिसहरू, मधुमेह वा दमका रोगी, अन्य रोग लागेका वा पहिल्यैदेखि मुटुसम्बन्धी समस्या भएकाहरु बढि समस्यामा पर्ने सम्भावना हुन्छ । यस्ता समस्याबाट बच्नका लागि झोलिलो पदार्थको बढि सेवन गर्नु तथा न्यानो गरि बस्नु नै उत्तम हुन्छ । खानपानमा ध्यान नदिने हो भने एक दिनको रमाइलोको कारण ज्यान नै जोखिममा पर्नसक्छ । सचेत बनौं । दीपावलीको मंगलमय शुभकामना । आजको सूक्ष्मदृष्टिमा प्रकाशित सम्पादकीय








