Loading... आजः १८ बैशाख २०८३, शुक्रबार । Friday 1st May 2026
ताजा खबर
  

घ्वाच्च घोच्यो

उहिले उहिले राजा सबका साझा भन्थे । राजाको जन्मदिनमा फूलका माला लिएर राष्ट्रिय झण्डा लिएर राजाको जय जयकार गर्थे । राजा भनेका राजा हुन् । हामी पनि राजाकै सन्तान हौ भन्दै ठकुरी बाबुुसाफलाई पनि राजा साफ भन्ने गरिएको हो । अहिले समय परिवर्तन भयो । राजा त राजावादीका मात्र भए । आ–आफ्नै राजा भए । कम्यूनिष्ट भित्र पनि केपीलाई राजा मान्नेहरु एकातिर छन् । प्रचण्डलाई राजा मान्नेहरु एकातिर छन् । अनि माधवलाई राजा मान्नेहरु अर्कोतिर छन् । काँग्रेसमा पनि त्यस्तै छ । देउवालाई राजा मान्नेहरुको गुट एउटा छ । रामचन्द्रलाई राजा मान्नेहरुको गुट अर्को छ । भएन भनेर राप्रपाले पनि गुट गुटमा राजा बनाउन थाल्यो । राजा ल्याउन पर्छ भन्ने नारा घन्काउने अनि थापालाई राजा मान्ने अनि राणालाई राजा मान्ने र लोहनीलाई राजा मान्नेहरु पनि देखिन थालेका छन् । एउटा राजा फालेर यति धेरै राजा ल्याएकोमा देशले यो हविगत भोग्नु परेको हो । त्यही एउटा राजालाई खान दिएको भए कति सकिने थियो होला र । यहाँ त खानसम्म खाए । लु खतम ।

उहिलेका राजाले आफ्नो छोरालाई मात्र उत्तराधिकारी बनाउथे हजुर । अहिलेका नयाँ राजाले त छोरी बुहारी जुवाइ नाती नातिनीहरुलाई पनि उत्तराधिकारी बनाउन थाले । विचरा रामचन्द्रका दिन कहिल्यै आएनन् । उहिले सभामुख हुँदा गोल्छेले तह लगाउन खोज्ने अहिले आफ्नै गृहजिल्लामा जाँदा किसानले ठीक बनाए । हिजोका दिनमा किसानको मन जितेको भए ती पनि काँग्रेस हुँदा हुन । आज जय जयकार गर्दा हुन । अब पालो मजदुरको पनि आउँला । विद्यार्थीको पनि आउँला अनि कसरी खान्छौ खाउला । प्रधानमन्त्री खाना खोज्दा १७ पटक हार्नु प¥यो । भएन भनेर अहिले प्रतिनिधि सभामै हराएर जनताले पनि देखाइ दिए । पालो एक पटक मात्र आउँछ भन्छन् हो रहेछ कि क्या हो । आफ्नै पार्टी भित्र सभापति त जित्न नसक्नेले के चुनाव जित्न सक्थेर भन्ने पनि सुनियो । लु खतम ।

आगोको अगाडिड प्लाष्टिक परेपछि कसरी चाउरिन्छ त्यसरी चाउरिन थालेको माओवादी भन्ने पार्टी एमालेसँगको गठबन्धनले आगोमै परेको प्लाष्टिक कसरी बल्छ त्यसरी बलेर झलमल्ल प्रकाश छर्न सफल भएको सबैलाई थाह छ । कसैले फुँइ नलगाए हुन्छ । स्वार्थसिद्धि हुने बेलामा देउवाले हँसिया हथौडामा भोट हालेकै हुन् । उनी काँग्रेसको पार्टी सभापति बनेकै छन् । प्रचण्डले रुखमा भोट हालेकै हुन उनी कम्यूनिष्ट बनेकै छन् । गठबन्धन पछि ओलीले पार्टी फुटाइ दिउँ कि भन्ने धम्की दिएर प्रचण्डलाई हैरान पारिसकेका छन् । पार्टी जोगाउने र पद हत्याउने दाउमा लागेका प्रचण्ड ओलीसँग नत्र किन डराउथे र । तर उनलाई अर्को डर पनि रहेछ भन्ने कुरा बुझिएको छ । आफ्नै भनेका बादल ओली तिर लागेर पानी पारिदिन तम्सिएपछि प्रचण्ड नराम्रोसँग गुम्सिएका छन् । यता कर्णालीमा आफ्नै भनेका धर्मले धर्म नै नसम्झेर शाही विरुद्ध सही गरेपछि आफ्नैले गलत गरेको भन्नेहरुको कमी छैन । उपसभामुखले पनि कागजमा सही व्यवहारमा गलत गरेको भन्नेहरुको कमी छैन । जसले जे भने पनि कर्णालीबाट लागेको राजनीतिक आगोले खुमलटार र बालुवाटारमा जोडिएको तार नै चुँडाल्ने स्थितिको पैदा भयो । जसले गर्दा संघीय राजनीति तातियो । यता कर्णालीमा अधिकांश जिल्ला हिमाली भेकक र अन्य पहाडि भेकमा पर्ने भएकोले मंसिर सुरु हुन पाउँदा नपाउँदै हिउँ पर्न थालेपछि राजनीति मात्र होयन कर्णालीको भूमि समेत चिसियो । न पिठो पिसियो न घुन । तर यिनीहरुकै कारण जनता भने साँढेको जुधाइमा पाठा मिचिए झँै मिचिएका छन् थिचिएका छन् । काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर भन्थे उहिले तर अहिले भने काम कुरो एकातिर कुम्लो बोकी कालिकोट र जुम्लातिर भएको देखेर यो हरिलठ्ठकलाई घ्वाच्च घोच्यो ऐया ऽऽऽऽऽऽऽ