Loading... आजः १२ बैशाख २०८३, शनिबार । Saturday 25th April 2026
ताजा खबर
  

ठगी आरोपी युवतीलाई मुद्दा चलाउन काठमाडौंबाट दैलेख ल्याइयो

सुर्खेत ।

ठगी गरेको आरोपमा पक्राउ परेकी विद्या सरकार शर्मालाई काठमाडौंबाट दैलेख ल्याइएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंले ईटहरी उपमहानगरपालिका–४ घर भएकी २४ वर्षीया विद्यालाई पुस ६ मा काठमाडौंमा पक्राउ गरेको थियो ।

ठगी आरोपी युवतीलाई मुद्दा चलाउन काठमाडौंबाट दैलेख ल्याइयो

काठमाडौंमा उजुरी नआएपछि उनलाई जिल्ला प्रहरी कार्यालय दैलेखमा पठाइएको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी प्रमेश विष्टले बताए ।

जिल्ला प्रहरी कार्यालय दैलेखमा उनिविरुद्ध ठगी मुद्धा दर्ता छ । विद्याले अमेरिका पठाइदिने भन्दै लाखौँ ठगी गरेको आरोप लागेको छ । ‘अमेरिका सपना’ बाँडेर उनले दैलेखमा ५० लाख बढी ठगी गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । आफुलाई सिंगापुर रेडक्रस सोसाइटी नेपालको (सिईओ) बताउने उनी गत असारमा कोरोना महामारीमा राहत वितरण गर्ने भन्दै दैलेख आएकी थिइन् ।

त्यसबेला उनले आफुलाई अमेरिकाको भिसा लागेको हुनाले आठ–दश जनालाई अमेरिका लैजान सक्ने भन्दै स्थानीयलाई ठगेकी थिइन् ।

जिल्ला प्रहरी कार्यालय दैलेखका डिएसपी अनुपम श्रेष्ठका अनुसार नारायण नगरपालिका–१ नयाँ बजारका मनोज थापाको ९० हजार र विवेक थापाको ५२ लाख १४ हजार ठगी गरेको उजुरीको आधारमा उनलाई पक्राउ गरिएको हो ।

पुस ९ मा दैलेख प्रहरीमा उनीविरुद्ध ठगीको जाहेरी परेको थियो । विद्यालाई पक्राउ गर्न जिल्ला अदालत दैलेखले अनुमति दिएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंसँगको समन्वयमा उनलाई पक्राउ गरेर दैलेख ल्याइएको डिएसपी श्रेष्ठले बताए ।

अदालतबाट ७ दिनको म्याद लिएर विस्तृत अनुसन्धान शुरु गरिएको डिएसपी अनुपम श्रेष्ठले  बताए । ०७७ असारपछि दैलेखका विभिन्न स्थानीय तहमा राहत वितरण गर्दै आएकी उनले सुरुमै जिल्ला प्रशासन कार्यालय दैलेखबाट कोरोना रोकथामका लागि स्वास्थ्य सामग्री वितरण गरेकी थिइन् ।

यस्तै, उनले दैलेखका स्थानीय तहहरुसँग सहकार्य गरेर राहत रकम वितरण गरेको बताइएको छ ।