Loading... आजः २ असार २०७८, बुधबार । Wednesday 16th June 2021

सरकारलाई कर तिर्न सास्ती भोग्दै करदाता

सुर्खेत ।
आज पुसको २६ गते । अर्थवार्षिक रुपमा कर तिर्ने महिनाको अन्तिम साता । यति बेला करदाताहरु सरकारलाई कर गर्न जरिवानाबाट जोगिनका लागि हतारोमा छन् । तर कर्णाली प्रदेशको राजधानी सुर्र्खेतमा रहेको आन्तरिक राजश्व कार्यालय सुर्खेतमा कर तिर्न आएका करदाताहरु भने कर तिर्नकै लागि सास्ती भोगिरहेका छन् ।


कर्णालीको हुम्लाबाट कर तिर्नका लागि सुर्खेतको वीरेन्द्रनगर आइपुगेका करदाताले तीन दिनसम्म बसेर पनि कर तिर्न सकेका छैनन् । एकातिर अनलाइन सिष्टमका कारण उनीहरुले सास्ती भोगिराख्नु परेको छ भने अर्कोतिर कार्यालयमा काम गर्ने कर्मचारीहरुको व्यवहारका कारण उनीहरुले सास्ती भोग्नु परेको छ । अनलाइनमा काम गर्नुपर्र्ने भएकोले त्यसको आफूलाई जानकारी नभएको र उक्त क्षेत्रका लागि काम गर्न समस्या हुने गरेको एक करदाताले बताए ।

दैलेखबाट सुर्खेत कर बुझाउन आएका पूर्णबहादुर शाहीले भने कर्मचारीहरु आफूलाई के ठान्छन् कुन्नी बोल्दा पनि पैसा पर्ला झैँ गर्छन् । सरकारलाई कर तिर्न आएका छौ तर भिख माग्न आएको मान्छेलाई जस्तै हेला गर्छन । यो राज्य व्यवस्थाले जनतालाई सहुलियत होइन सास्ती दिइरहेको छ ।

कर कार्यालयमा काम गर्ने कर्मचारीकको रुखो बोली व्यवहारले गर्दापनि सेवाग्राहीको आत्म सम्मानमा ठेस पु¥याउने गरेको छ । एकै दिनमा हुने २ दिन लाग्ने भएकोले पनि बाध्य भएर एक साँझ सुर्खेतमा बस्ने पर्ने अवस्थाको सिर्जना हुने गरेको छ । जसले गर्दा करदाताहरु आर्थिक रुपमा समेत मर्कामा पर्ने गरेका छन् ।

यस सम्बन्धमा आन्तरिक राजश्व कार्यालय सुर्खेतका प्रमुख कर अधिकृत डा. राप्रसाद मैनाली भने यो स्वीकार गर्न तयार हुनुहुन्न । आफू मातहतका कर्मचारीहरु व्यवहार रुखो भएको म स्वीकार्न तयार छैन उहाँले भन्नुभयो । कार्यालयमा कर्मचारीहरुको अभावका कारण काम गर्न केही असजिलो भएको भएपनि सेवाग्राहीले सेवा पाइरहेको डा. मैनालीले भन्नुभयो । कर तिर्न आउँदा हुने असुविधाका लागि नागरिक वडापत्रमा उल्लेख भएको तथा अनलाइन मार्फत पनि सेवा लिन सकिने डा. मैनालीको भनाई छ । केही द्विविधा भए आफूलाई जानकारी आउनु पथ्यो तर अहिलेसम्म त्यस्तो कुनै गुनासो नआएको उहाँले बताउनु भयो । सेवाग्राहीलाई समस्या नहोस् भन्नका लागि हेल्पडेक्स समेत राखिएको डा. मैनालीले भन्नुभयो ।

यस वर्ष राजश्व संकलन सन्तोषजनक रहेको बताउँदै करचुक्ता प्रमाण पत्र लिनका लागि वा अन्य अनलाइनबाट काम गर्नका लागि सिष्टमको कारण केही समस्या हुने गरेको उहाँले स्वीकार्नुभयो ।