Loading... आजः २५ श्रावण २०८३, सोमबार । Monday 10th August 2026

गृहसचिवले भने, निर्वाचनको तयारीमा जुट्नुहोस्

सुर्खेत ।

गृहसचिव महेश्वर न्यौपानेले निर्वाचनको तयारीमा जुट्न प्रदेशका सुरक्षा निकायहरुलाई निर्देशन दिएका छन् ।

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर पुगेका गृहसचिव न्यौपाने अन्तर जिल्ला सुरक्षा समन्वय समितिको बैठकलाई सम्बोधन गर्दै प्रतिनिधिसभाको आगामी निर्वाचनतर्फ केन्द्रित हुन् सरकारको स्पष्ट निर्देशन आएको भन्दै आवश्यक तयारी थाल्न निर्देशन दिए ।

‘निर्वाचन हुन्छ या हुन्दैन्, भन्ने तिर तपाईंहरु अलमलमा नपर्नुस । सरकारले चुनावको घोषणा गरेको छ,’ गृहसचिव न्यौपानेले भने, ‘सरकारको निर्णय कार्यान्वय गराउनु तपाइर्ं हाम्रो अठोट हो, काम हो । रतिभर संशय नलिएर काम थाल्नुस ।’

मन्त्रालयले सुरक्षा महाशाखा प्रमुखको अध्यक्षतामा डीआईजीहरु, एसएसपीहरु र नेपाली सेनातर्फ महासेनानी सम्मेलित केन्द्रीय निर्वाचन सुरक्षा योजनासमेत तयार गरेर काम थालिएको गृहसचिव न्यौपानेले बताए ।

उनले कर्णालीमा नेत्रविक्रम चन्द (विप्लव) नेतृत्व नेकपाका गतिविधिहरु बढेको र यसका गतिविधिहरु पूर्णरुपमा रोक्नेगरी काम गर्नसमेत निर्देशन् दिए ।

बैठकमा सुर्खेतसँग सीमा जोडिएका तीन प्रदेशका ६ जना प्रमुख जिल्ला अधिकारी र सुरक्षा प्रमुखहरुले सुरक्षा व्यवस्थामा कडाइ गरेकै कारण विप्लवका गतिविधिमा कमी आएको गृहसचिवलाई रिपोर्टिङ गरेका थिए ।

बैठकमा सुदूरपश्चिम प्रदेशको अछाम, लुम्बिनी प्रदेशका बाँके र बर्दिया, कर्णाली प्रदेशका सल्यान, दैलेख, जाजरकोट जिल्लाका प्रमुख जिल्ला अधिकारीसँगै कर्णाली प्रदेश प्रहरी प्रमुख र सशस्त्र प्रहरी प्रमुख, राष्ट्रिय अनुसन्धान प्रमुखको समेत सहभागिता रहेको थियो ।

शनिबार सुर्खेत पुगेका गृहसचिव न्यौपानेले सुर्खेत कारागारको निरीक्षण, जिल्ला प्रशासन कार्यालय सुर्खेतको गैरआवासीय भवन शिलान्यास, जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रको भवन उद्घाटनसमेत गरेको सुर्खेतका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जानकारी दिए ।