Loading... आजः ३ बैशाख २०८१, सोमबार । Monday 15th April 2024

घ्वाच्च घोच्यो – व्यङ्ग्य

देखियो हजुर देखियो भेट्नु कुहिएका पनि देखियो फेदै कुहिएका पनि देखियो । जस्तो देखियो त्यस्तै लेखियो । हिजो रुखै ढाल्ने योजना बनाउनेहरु आज फेरि वृक्षारोपणमा लागेका छन् । यो देश कला संस्कृतिको धनि हो भनिन्छ । त्यही कला संस्कृतिको जगेर्ना गर्ने अभिभारा लिएका कलाकारहरु यतिबेला गुमनाम भएका छन् । संस्कृति परम्परादेखि धर्म कर्म सिध्याउन लागेकाहरु कलाकार बनेपछि यस्तै हुन्छ । कुनै समयमा यिनले लडि मरेका, बगि मरेका हेरि मरेका र छेरि मरेकाहरुलाई समेत शहिद घोषणाको अभियान ल्याए । त्यस्ता शहिदले के योगदान गरेका होलान् । जसले गर्दा सच्चा शहिदको अपमान भयो । सायद त्यसैले होला ती सच्चा शहिदले आत्माले पोलिरहेको छ यिनीहरुलाई । जसले गर्दा यिनीहरुको बुद्धि नफिर्ने भयो । आज कुर्सी, सत्ता र स्वार्थका लागि मरिहत्ते गर्न लागे । कोही अदालततिर लागे कोही उखान टुक्कातिर । तिम्रा कारणले जनताले नराम्रोसँग दुःख पाए । यो जनताले कहिले महसुस गर्छन र तिमीहरुलाई जनअदालतबाट दण्ड दिन्छन् । लु खतम ।

यता तिमीहरु मञ्च बनाउँदै जाउ । उता पञ्च सल्बलाउँदै जान्छन् । जनताको मतको अपमान भयो भन्ने अलिकति हेक्का पनि नराख । हाँस र हसाउँदै जाउ । समयले कोल्टे फेर्ने बेलासम्म तिमीहरु हाँस्न कसले रोक्ने । मान्छे मार्दै, विधुवा बनाउँदै आमाका काख रित्याउँदै जनता रुवाउँदै गर्नेहरुसँग हिजो स्वार्थकै लागि एकिकरणको नारा लगाएका रहेछौ त्यो कुरा जनताले बुझेका छन् । कुहिएको आलुले सफा आलुलाई पनि कुहाउँछ भन्ने हेक्कासमेत राख्न नसक्ने तिमीहरु स्वार्थी छौ । लाचारी हौ । हिजो नै आलु सफा छ कि कुहिएको छ भन्ने कुराको विचार नगर्ने अनि आज मुख छ भन्दैमा जो पायो त्यही भन्ने । तिम्रो पनि नैतिकता छैन । नैतिकता भएको भए आज जनताको मतको अपमान हुने नै थिएन । लु खतम ।

सबैले बा भनेर बा भएकाले के बोल्ने के नबोल्ने भन्ने विचार्नु पर्छ कि पर्दैन । हिजो आफ्नो पक्षमा हुने बेलासम्म जुझारु, परिपक्व, इमान्दार, कर्तव्यनिष्ट आज अर्को पक्षमा लाग्यो भन्दैमा एउटा नाबालक केटो । आफ्नो मन्त्रीमण्डलमा केटाकेटीलाई मन्त्री बनाएकै कारण तिमीले देश र जनताको पक्षमा काम गर्न सकेनौ । तिमीलाई काम गर्न नदिनेहरु केटाकेटीहरु हुन् । बालहठका कारण तिमीले प्रतिनिधि सभा नै भंग गरिदियौ सायद त्यसैमा दंग परेका छौ होला । हिजो तिम्रो गुणगान गाउने पितबस्त्र धारीहरु पनि आज तिम्रो विरोध गर्नतिर लागेको छन् । कुरोको चुरो बुझ्न सकिएन । लु खतम ।
एक मन र एक मुठी लिएर जनताका अगाडि एकताको स्वाङ पार्ने चण्ड, मुण्डहरुले म प्रचण्ड हुँ भन्ने भुले । अंकगणितीय स्वार्थकै कारण हिजोको आन्दोलनको समेत अपमान भयो । शरिरमा गोली बोकेकाहरु ढाडमा टेकेर टाउकोमा ठोकेकाहरु आज कता छन् कता तिमी भने राजासँग लम्पसार परेर प्रधानमन्त्रीको पदको भिक्षा माग्नेहरुसँग फेरि अर्को गठबन्धनको योजनाका साथ अघि बढिरहेका छौ । खै भलो हुने त तिम्रो पनि देखिदैन । व्यक्तिगत रुपमा यो हरिलठ्ठको कसैसँग दुष्मनी छैन । रिस छैन खिस छैन । डाह छैन कुनै चाह छैन । तर पनि तिमीहरुले गरेका कर्ततहरु नलेखि बस्नै सकिदैन । लु खतम ।

हिन्दु राष्ट्रको नारा लगाउनेहरु आज फेरि लुकिसके । राजा ल्याउछौ भन्नेहरु नराम्रोसँग चुकिसके । जुट्दै फुट्दै गर्दा गर्दा तिम्रा आफ्नै कार्यकर्ताले तिमीहरुलाई थुकिसके । हजार जिब्रा भएको नाग जस्तै चरित्र देखाउने विपीको सिद्धान्तलाई होइन आफ्नो स्वार्थलाई प्रयोग गर्ने देउवाले गर्दा पनि देउवा नभई लेउबा भएको देखियो । भाइ फुटेको बेलामा गवाँर लुट्न पाइन्छ कि भन्ने कुरा आशाले ठिक्क पार्नेहरुले पनि भोली लोकतन्त्र गणतन्त्र नै धरापमा पर्ने स्थितिको सामना गर्नुपर्ने भयो भने चाख्नेछन् फल भनेको सुन्दा फेरि एक पटक घ्वाच्च घोच्यो ऐया ऽऽऽऽऽऽऽ