Loading... आजः ४ जेष्ठ २०८१, शुक्रबार । Friday 17th May 2024

मालपोतको कार्यशैली सुधार

कर्णाली प्रदेशको राजधानीको रपमा विकसित भइसकेपछि सुर्खेतमा जग्गाको किनबेच तिब्र रुपमा बढिरहेको छ । अर्कोतिर वीरेन्द्रनगर नगरपालिकाले केही समयका लागि जग्गाको कित्ताकाटमा रोक लगाएपछि थन्किएको कामले पनि सुर्खेत मालपोतमा सेवाग्राहीको निकै चाप बढेको छ । कार्यालयमा सेवाग्राहीको चाप बढिरहेको बेलामा छिटो छरितो सेवा दिनु कार्यालयको जिम्मेवारी र कर्तव्य हो । तर सुर्खेतको मालपोत कार्यालयमा त्यसो हुन सकिरहेको छैन । बैंकिङ्ग कारोकारका कारण रोक्का भएका जग्गाको फुकुवा गर्नका लागि समेत महिनौ दिन लाग्न थालेपछि सेवाग्राहीहरु आक्रोसित हुन थालेका छन् । मालपोत कार्यालयले त्यसको सहजताका लागि कुनै पहलकदमी गर्न सकेको छैन ।

मालपोत कार्यालयमा कम्प्यूटर सिष्टमको जडान भएपछि आफ्ना कामहरु छिटो र छरितो होलान् भनेर आश गरेका सेवाग्राही झनै मर्कामा परेका छन् । एकातिर सिष्टममा काम गनेृ कर्मचारीहरुको ढिलासुस्ती र अर्कोतिर सिष्टम स्लो हुने भएका कारण समयमा सेवा पाउन नसक्ने अवस्था सिर्जना भएको छ । एउटा प्रदेशको राजधानीमा रहेको मालपोत कार्यालयमा सेवा लिनका लागि मध्य रातीदेखि नै लाइनमा बस्नु पर्ने अवस्था छ । स्थानीय सरकार र प्रदेश सरकारले समेत खासै चासो देखाएको पाइँदैन । अर्कोतिर संघीय सरकारको प्रतिनिधिको रुपमा रहेको जिल्ला प्रशासन कार्यालय र मालपोत कार्यालय एक आपसमा जोडिएको अवस्थामा छन् । मालपोत कार्यालयमा भएको असहज अवस्थाको बारेमा प्रमुख जिल्ला अधिकारी पनि जानकार छन् । तर संघीय सरकारको प्रतिनिधिको रुपमा प्रमुख जिल्ला अधिकारीले समेत कुनै पहल चालेका छैनन् ।

घुस रिसवत लेनदेन हुने स्थलको रुपमा चिनिने सुर्खेतको मालपोत कार्यालयमा जग्गाको दलाली गर्नेहरुले भने कर्मचारीहरुको मिलेमतोमा काम हुने गरेका गुनासाहरु आइरहेका छन् । जिल्लाका विकट पालिकाहरुबाट आएका सेवाग्राहीहरु महिनौ दिनसम्म वीरेन्द्रनगरमा बस्दा उनीहरुको समय तथा आर्थिक रुपमा हुने नोक्सानीको बारेमा सरकारी निकाय सचेत हुन नसक्नु गैरजिम्मेवारीपन हो । यसले गर्दा गाउँका सर्वसाधारणहरु निक्कै मर्कामा परेका छन् । मालपोत कार्यालयको कार्यशैलीमा सुधार गर्न नसक्ने हो भने यसले सेवाग्राहीमा आक्रोश मात्र होइन सरकारी राजश्व संकलनमा समेत नोक्सानी हुने निश्चित छ । त्यसैले सरोकारवाला निकायहरुले बेलैमा ध्यान दिएर मालपोत कार्यालयको कार्यशैलीलाई छिटो भन्दा छिटो सुधार गर्न आवश्यक छ । आअजको सूक्ष्मदृष्टिमा प्रकाशित सम्पादकीय ।