Loading... आजः ११ बैशाख २०८३, शुक्रबार । Friday 24th April 2026
ताजा खबर
  

शहिदको सम्मान गरौं

नेपालमा भएका ठूला ठूला राजनीतिक परिवर्तनको पहिलो श्रेय शहिदलाई नै जान्छ । आफ्नो प्राणलाई समेत वास्ता नगरि देश र जनताको लागि लड्ने वीर सपुतहरुको कारण नै देश र जनताले स्वतन्त्रताको उपलब्धी हासिल गर्न पाएका हुन् । चाहे त्यो राणा शासनको विरुद्धमा भएको आन्दोलन होस् चाहे कर्णाली प्रदेश प्राप्तिका लागि भएको आन्दोलन होस् । आन्दोलनको आँधिवेहरीमा होमिएर स्वतन्त्रता, न्याय र अधिकारका लागि बलिदानी दिनेहरु नै सच्चा शहिद हुन् । उनीहरु के का लडेका थिए र किन लडेका थिए भन्ने कुरालाई वर्तमानमा सत्ता र शक्तिमा रहनेहरुले नियाल्न जरुरी छ । कसैलाई कुर्सीमा पु¥याउनका लागि वा कसैलाई अकूत सम्पत्ति आर्जन गर्नकै लागि आन्दोलनहरु भएका होइनन् र शहिदहरुले आफ्नो प्राणको आहुती दिएका होइनन् ।

राणा शासनको कठोर पञ्जाबाट नेपाली जनतालाई मुक्त गराउनका लागि हाँसी हाँसी जीवन उत्सर्ग गर्ने गंगालाल, धर्मभक्त, दशरथ चन्द, शुक्रराजहरुले प्रजातन्त्र र नागरिकका लागि लडेका थिए । अन्यायको विरुद्धमा आवाज उठाएका थिए । त्यसैको आडमा आजको लोकतान्त्रिक गणतन्त्र स्थापना भएको हो । यदि उनीहरुले त्यो आँट र हिम्मत नगरिदिएको भए स्वतन्त्रता प्राप्त हुनका लागि कति समय लाग्ने थियो यसै भन्न सकिने अवस्था छैन । यसैगरि देशको संघीय सिमाङ्कन हुँदा शीर्ष नेताहरुको अदूरदर्शी विचारका कारण तत्कालिन मध्यपश्चिममा उठेको आन्दोलनको ज्वारभाटामा होमिएर भिन्न प्रदेशका लागि आफ्नो प्राणको आहुती नदिएको भए आज कर्णाली प्रदेशको स्थापना हुने थियो वा थिएन । आंकलन गर्न गाह्रो छ ।

वर्षको एक दिन शहिदको तस्वीरमा माल्यार्पण गरेर मात्र शहिद प्रतिको सच्चा श्रद्धाञ्जली हुँदैन भन्ने कुरा वर्तमानका संघीयदेखि स्थानीय सरकारसम्मलाई हेक्का हुनु जरुरी छ । शहिदले देखाएको बाटो, उनीहरुले देखेको सपना साकार पार्ने जिम्मा शासन संचालन गर्नेहरुको हो । देशमा समृद्धि ल्याउनका लागि नेपाली नागरिकहरुका दुःख अप्ठ्याराहरुलाई सहजतामा परिणत गर्नुका साथै शहिद परिवारका आवश्यकतादेखि उनीहरु प्रतिको जिम्मेवारी र कर्तव्यको बोध गर्न आवश्यक छ । आज राजनीतिक परिस्थिति निकै गम्भीर मोडमा पुगेको छ । एकातिर झण्डै दुईतिहाइ बहुमतको सरकारले प्रतिनिधि सभा विघटन गरिदिएको छ भने अर्कोतिर प्रतिनिधि सभाको पुनस्र्थापनाका लागि सर्वोच्च अदालतमा मुद्दा माथि बहस भइरहेको छ । यस्तो अवस्थामा शहिदले देखाएको बाटो र उनीहरुको रगतबाट सिंचित भूमिको रक्षार्थ, नागरिकले प्राप्त गरेका उपलब्धीको रक्षार्थ बुद्धि र विवेक पु¥याएर अगाडि बढ्न आवश्यक छ । आन्दोलनका उपलब्धीहरु गुमेभने शहिदको रगतले सराप्नेछ । त्यसैले साँच्चै शहिदको सम्मान गर्ने हो भने दल र व्यक्तिको स्वार्थ भन्दा एक कदम माथि उठेर शहिदको सम्मान गर्न सक्नुपर्छ ।