Loading... आजः ६ बैशाख २०८३, आईतवार । Sunday 19th April 2026
ताजा खबर
  

नेपाली भाषाको जगेर्ना अत्यावश्यक : मुख्यमन्त्री

सुर्खेत ।
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले नेपाली भाषाको जगेर्ना र संरक्षण आवश्यक भएको बताउनु भएको छ । कर्णाली उत्सव कुडा कर्णालीका कार्यक्रमको उद्घाटन कार्यक्रममा प्रमुख अतिथिको आशनबाट बोल्दै उहाँले यस्तो बताउनु भएको हो । मुख्यमन्त्री शाहीले भन्नुभयो, ‘हामी पछिल्लो समयमा भाषा संस्कृतिमा कमजोर हुँदै जाँदैछौ भन्ने कुरालाई सबैले मनन् गरेर भाषाको जगेर्नाका लागि सबैले आ–आफ्ना स्थानबाट एक कदम माथि उठ्न सक्नुपर्छ ।’


नेपाली भाषाको उद्गमस्थलको रुपमा रहेको कर्णालीमा नै नेपाली भन्दा अंग्रेजी भाषाको प्रभाव परेकोले नेपाली भाषासँगै यहाँको कला, संस्कृति, सम्पदाहरुलाई संरक्षण गर्न अब ढिला गर्न नहुने मुख्यमन्त्री शाहीको भनाई थियो ।

कार्यक्रममा योगी नरहरीनाथको बारेमा चर्चा परिचर्चा गर्दै नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव प्रा. डा. जगत्प्रसाद उपाध्यायले कर्णालीको रारालाई स्थलगत अध्ययन गरेर कविताको सिर्जना गर्नुपर्ने बताउनु भयो । जुम्लाको सिंजाको अध्ययन गरेर लेखिएको कथा नै बलियो बन्न बताउने उपाध्यायले भन्नुभयो, ‘कर्णालीका सरोकारवालाहरुले कदम चाल्नुहोस् प्रज्ञा प्रतिष्ठान साथ दिन तयार छ ।’


आजदेखि सूर भएको कर्णाली उत्सव चार दिनसम्म संचालन हुने कुडा कर्णालीको आयोजक संस्था ऋति पाउण्डेशनले बताएको छ । चार दिन सम्म चल्ने उक्त उत्सवमा कर्णालीका बारेमा विभिन्न विषयमा बहस हुनेछन् भने २७ गते गजल सन्ध्या र २८ गते कविता साँझ समेत हुनेछ ।