Loading... आजः २८ बैशाख २०७८, मंगलवार । Tuesday 11th May 2021

कविता – नयाँ वर्ष मनाउँला

(१)

गाडुँला कोरनालाई धर्तीभित्र धसाउँला

प्रा.डा. जगत्प्रसाद उपाध्याय
खुला हिँड्न नसक्ने झैँ दुलाभित्र पसाउँला ।
अग्निका कुण्डमा हाली विषाणु यी जलाउँला
ल्याई जीवनमा ज्योति नयाँ वर्ष मनाउँला ।।
(२)
लड्दै भीषण यो युद्ध म सती सालझैँ बनी
फ्याँकी यी रात औॅसीका ल्याउँला चन्द्रचाँदनी ।
बिहानी सूर्यका रेखा मुखमा कोर्न लाउँला
भयमुक्त भई सारा नयाँ वर्ष मनाउँला ।।
(३)
कोरोना कालका काला दुर्दिन यी भगाउँला
सिङ्गो ब्रह्माण्डलाई नै फेरि जाग्न लगाउँला ।।
निराशाको अँध्यारोमा आशादीप जलाउँला
विश्वलाई सिँगारेर नयाँ वर्ष मनाउँला ।।
(४)
माटो आफ्नै मुसारेर धर्तीलाई सजाउँला
यी मेरै करेसाबारी लटरम्म फलाउँला ‌।
भत्के के भो र यी ऐले घर फेरि बनाउँला
सबै सङ्गै बसी रम्दै नयाँ वर्ष मनाउँला ।।
(५)
कोरोना कैद यो टुट्ला, फट्टा मन सिलाउँला
हाम्रै सञ्जीवनी पेय सबैलाई पिलाउँला ।
अङ्कमाल गरी फेरि हर्षले प्रीत लाउँला
गाउँदै जितको गीत नयाँ वर्ष मनाउँला ।।
अनुष्टुप् छन्द