Loading... आजः ७ बैशाख २०८१, शुक्रबार । Friday 19th April 2024

वीरेन्द्रनगरमा फस्टाउँदै यौनधन्दा

सुर्खेत ।
झट्ट हेर्दा ४० माथिको उमेर । विभिन्न श्रृङ्गारहरुले लतपतिएको अनुहार । वीरेन्द्रनगरको एउटा होटलमा वेटरको काममा व्यस्त एउटा महिला । उक्त होटलमा पुग्ने ग्राहकहरु खाजा नास्ताले आफ्नो भोक मेटाउनका लागि भन्दापनि ती र त्यस्तै महिलाहरुसँग यौन प्यास मेटाउनका लागि जाने गर्दछन् । त्यसरी आउने ग्राहकसँग ती महिलाले आफ्नो शरिरको मोलमोलाई गर्छिन र भन्छिन्, एक घण्टाको लागि ५ हजार । रातभर बस्ने हो भने १५ हजार । त्यसो त उनले मोलमोलाई गरेर कुरा मिलेपछि उनले आफ्नो शरिर बेचेर पाउने सबै पैसा भने उनको हातमा पर्दैन । त्यसको केही निश्चित प्रतिशत बाहेक अरु त होटल साहुले नै पाउँछन् । त्यसको बदलामा उनले ती र त्यस्ती महिलालाई निःशुल्क खान र बस्नको सुविधा भने प्रदान गरेका रहेछन् । वीरेन्द्रनगर नगरपालिका ६ मा रहेको एक होटलमा भएको घटना हो यो ।

स्केचः गुगलबाट

प्रदेशको राजधानी भएसँगै बढेको जनघनत्व र यहाँका भौतिक विकाससँगै फस्टाउँदै गएको देह व्यापारले सुर्खेतीको नाक नै खुम्चिने वातावरणको सिर्जना गरेको छ । सुर्खेतबाट दैलेख जाने बाटोमा पर्ने कटकुवा जंगल होस् कि सुर्खेत उपत्यका भित्र रहेका साना तथा ठूला होटल, रेष्टुरेण्ट तथा लजहरु । पर्यटकीय क्षेत्र बुलबुले, काँक्रेविहार तथा सिद्धपाइला र भरखरै संचालनमा आएको शहिद पार्क त युवा युवतीहरुको डेटिङ्गस्थल नै बनेको छ ।

वीरेन्द्रनगरका साना होटलहरुमा दिउँसै हुने यौनधन्दा र त्यसबाट पर्ने असरका बारेमा भने सरोकारवाला निकायहरु नै मौन देखिन्छन् । विद्यालय जाने उमेरका बालबालिकाहरु पनि पछिल्लो समयमा रमाइलोका लागि लहलहैमा लागेर यौन क्रियाकलापमा संलग्न हुन थालेका छन् । जसका कारण एकातिर उनीहरुको भविष्य नै अन्धकार हुने निश्चित छ भने अर्कोतिर बालविवाहको जोखिम तथा आत्महत्यासम्मका घटनाहरुमा बृद्धि हुन सक्छ । कतिपय महिलाहरु बाध्यात्मक परिस्थितिले आफू यो पेशामा लागेको बताउनसम्म पछि पर्दैनन् । श्रीमान्ले मादक पदार्थको सेवन गरेर दुःख दिने, विभिन्न हिंसा फैलाउने अनि बालबच्चाहरुको भोक मेटाउन यौन क्रियाकलापमा लाग्न बाध्य हुनु परेको बताउँने महिलाहरुको पनि कमी छैन । कतिपय युवतीहरु भने यस बारेमा कुरा नै गर्न चाहँदैनन् ।

सुर्खेतका होटलमा पेसेवर यौनकर्मीको संख्या बढ्दै गएको छ । यौन गतिविधिका कारण समाजलाई नै लज्जित बनाउने खालका गतिविधिहरु भइरहेपनि त्यसलाई रोक्ने तर्फ कसैको ध्यान गएको छैन । झट्ट हेर्दा सुन्दर देखिन्छ कर्णाली प्रदेशको राजधानी, वीरेन्द्रनगर सुर्खेत । चारैतिर डाँडा र बीचमा लमतन्न सुतिरहेको झैँ सुर्खेत उपत्यकाले धेरैको मन लोभ्याउने पनि गर्दछ । तर त्यही उपत्यका भित्र अझ भन्ने हो भने कर्णाली प्रदेशको राजधानी भित्र निकै घिनलाग्दा कार्यहरु पनि भइरहेका छन् भन्दा धेरैलाई पत्यार नलाग्ला । पछिल्लो समयमा फस्टाउँदै गइरहेको देह व्यापारबाट सुर्खेतको वीरेन्द्रनगर पनि अछुतो रहन सकेको छैन ।

पहिले जंगललाई सुरक्षित यौन सम्पर्कको थलो बनाउने यौनकर्मी केही वर्षदेखि लजमा सहजै व्यवसाय सञ्चालन गररिहेका छन् । पैसाको लोभ देखाई पुराना यौनकर्मीले नयाँलाई पेसामा तान्ने गर्छन् । यसमा १८ देखि ५० वर्षसम्मका महिला सक्रिय छन् । सुरक्षित यौन सम्पर्कका लागि यौनकर्मीलाई चेतनामूलक कार्यक्रम सञ्चालन गर्ने संस्थाका कर्मचारी अधिकांश यौनकर्मी मोजमस्तीका लागि व्यवसायमा लागेको पाइएको बताउँछन् । एक गैरसरकारी संस्थाका प्रतिनिधि नाम उल्लेख नगरिदिन आग्रह गर्दै भन्छन्, ‘गरिबीभन्दा पनि राम्रो मोबाइल, गहना, कपडा र खानपानकै लागि यौन व्यवसाय गर्ने धेरै छन् ।’

कुनै समयमा होटलमा बस्दा निकै खोजिनीति गर्ने प्रहरी प्रशासन समेत पछिल्लो समयमा मौन देखिन्छ । दिन दहाडै होटलमा क्षणिक समय विताउनका लागि आउनेहरुको पनि कमी छैन । एक होटल सञ्चालकले पनि यौनकर्मीहरु होटलमा आउने गरेको स्वीकार गरे । सुर्खेतमा प्रायः स्थानीय तथा जिल्ला बाहिरबाट पनि यौनकर्मीहरु आउने गर्दछन् । यौनकमीहरुबाट होटलवालाले प्रतिकोठा ७०० देखि १५ सय रुपैयाँसम्म कोठाभाडा लिने गरेको होटल मजदुरले बताए । कानुनले बर्जित गरेको यौनव्यापार रोक्नलाई कहिलेकाँही प्रहरीले छापा मारेर केही जोडी पक्राउ गर्ने गरेको एक स्थानीयले बताए ।

यसैगरी सुर्खेतको सिद्धपाइला क्षेत्र पर्यटकीय क्षेत्र पनि हो भने छेडा पनि रमणीयस्थल हो । वीरेन्द्रनगर बजारदेखि १० किलोमिटर उत्तरमा पर्ने यो क्षेत्र पर्यटकीय गन्तव्यका रुपमा परिचित छ । आन्तरिक पर्यटकहरुको आकर्षणका रुपमा रहेको छेडा, सिद्धपाइला पुगेपछि लोकल कुखुरा तथा अर्गानिक खानेकुरा खानुपर्छ भन्ने सबैको सोंच रहन्छ । शुक्रबार र शनिबार यस क्षेत्रका दर्जन बढी होटलमा ग्राहकहरुको भीड लाग्ने गर्छ । त्यहाँका होटलहरु लगभग सधैंजसो भरिभराउ नै हुने गर्छन् । सुर्खेतका कतिपय होटलहरुले यौनकर्मी राखेका छन् भने कतिपय बाहिर आफैले ल्याउने गरेको होटलमा कार्यरत एक मजदुरले भने ।