लोकतन्त्र खतरामा नपरोस्
नेपाली जनताको करिब ७० वर्षे आन्दोलनबाट नेपालमा लोकतन्त्रको स्थापना भएको हो । जहानियाँ राणा शासनदेखि निरंकुश पञ्चायतका विरुद्धमा लामै संघर्ष गरेर नेपाली जनताले लोकतन्त्रको स्थापना गरेका हुन् । लोकतन्त्रको लडाईमा काँग्रेस एमाले मात्र होइन माओवादी केन्द्र समेतले ठूलो बलिदानी गरेको छ । दश वर्षे जनयुद्धको बलमा नै लोकतन्त्र आएको र त्यसका लागि आफ्नो प्राणको समेत आहुती दिन तयार भएका महान शहिदहरुको समर्पणले आज नेपाली जनताले लोकतन्त्रको स्वाद चाख्न पाएका हुन् । २०६२÷०६३ को आन्दोलन तथा सबैजनाको महान बलिदान र तपस्याको कारण नै आज संघीय लोकतान्त्रिक नेपाल १५ औँ लोकतन्त्र दिवसको संघारमा आईपुगेको छ । बैशाख ११ अर्थात नयाँ नेपालको खाँका कोरीएको सुनौलो दिन पनि हो ।
जनआन्दोलनको सफलतासंगै युद्धरत नेकपा माओवादी शान्ति प्रक्रियामा फर्किएपछि लोकतन्त्रको विजारोपण गर्न सहज भएको थियो । वैशाख ११ गतेकै दिन तत्कालिन राजा ज्ञानेन्द्र शाहले विघठित संसद् पुनःस्थापना गर्दै जनताको नासो जनतालाई नै दिएँ भनी शासनसत्ता नेपाली जनतालाई सुम्पिएर नारायणहिटी दरबारबाट बहिर्गमन भएका थिए । त्यहि बैशाख ११ गतेको दिनलाई लोकतन्त्र दिवस भनेर मनाउन थालिएको हो ।
देशलाई समृद्धिको बाटोमा हिडाउन संविधानसभाको यात्रा यहि आन्दोलनबाट सुरु भएको थियो । फलस्वरुप सवै नेपालीको आकांक्षा पुरा गर्न २०७२ असोज ३ गते नेपालको वर्तमान संविधान जारी हुन सफल भएको थियो । लोकतन्त्र आयो भनेर मख्ख पर्ने अवस्था भने छैन । लोकतन्त्रको मर्म र भावना अनुरुप नेपाली जनताले अवसरहरु प्राप्त गर्न पाएका छन् वा छैनन् भनेर पनि विश्लेषण गर्न जरुरीछ । लोकतन्त्र आयसकेपछि बनेको वर्तमान संविधान बमोजिम भएका निर्वाचनहरुमा तत्कालिन गठबन्धनले ल्याएको झण्डै दुई तिहाइको सरकार र गठबन्धन पार्टीहरुबीच भएको किचलो र शक्तिको खिचलोका कारण आज लोकतन्त्र नै धरापमा पर्ने सम्भावनाहरु बढ्दै जान थालेका छन् ।
विशेष गरी कम्यूनिष्ट पार्टीहरु भित्रको आन्तरिक शक्ति सन्तुलन गर्ने निहुँमा भएका विवादहरुले सीमा नाघिसकेको अवस्था छ । यस्तो अवस्थामा एकातिर लोकतन्त्र विरोधीहरु समेत खुलेर मैदानमा आउन सम्भावना बढिरहेको छ भने अर्कोतिर लोकतन्त्र पक्षधरहरु कमजोर हुन थालेका छन् । राजनीतिक दलका गतिविधिहरुका कारण जनतामा समेत नैराश्यता पैदा हुन थालेका कारण पनि लोकतन्त्र खतरामा पर्न सक्ने डर पैदा भएको छ । यस्तो अवस्थामा लोकतन्त्र पक्षहरु एक भएर अगाडि बढ्नुको विकल्प छैन । अतः राजनीतिक दल र दलका नेताहरुका कारण लोकतन्त्र खतरामा नपरोस् । लोकतन्त्र दिवसको अवसरमा सबैमा शुभकामना ।






