Loading... आजः ९ भाद्र २०८३, मंगलवार । Tuesday 25th August 2026

निषेधाज्ञा अवज्ञा आरोपमा मजदुर पिट्दै सुर्खेत प्रहरी

सुर्खेत ।
निषेधाज्ञा उल्लंघन गरेको आरोपमा प्रहरीले मजदुरहरूलाई कुटपिट गरेको छ । निषेधाज्ञाको पहिलो दिन वीरेन्द्रनगरको मंगलगढी चोक नजिकै तीनजना मजदुरमाथि प्रहरीले लाठी बर्साएको हो । वीरेन्द्रनगर–४ रेडियो नेपाल नजिक बस्दै आइरहेका शिव नेपालीसहित तीनजनालाई प्रहरीले लाठी वर्षाएको हो ।


‘फलाटे चोक र यरिचोकको प्रहरीले मजदुरलाई जान छुट छ भनेको थियो । त्यही अनुसार बुलबुलेनजिकै ज्याला मजदुरी गर्न जान लाग्दा भ्यानबाट प्रहरी ओर्लेर प्रहरीकै अनुमतिमा आएको भन्दाभन्दै लाठी बर्सायो’ शिवले भने, ‘श्रीमती मानशोभा नेपाली, अजय गिरी र मलाई बेस्सरी पिट्यो’ शिवको भनाई छ । अजय गिरीको हात नै सुन्निएको छ भने शिव हिड्न गारो भइरहेको बताउँछन् ।

‘काम गर्न दिन्छन् कि भन्ने लागेर हामी घरबाट निस्केका थियौं । चोकमा खटिएका प्रहरीलाई सोध्दा काम गर्न जानुहोस् भनेर उहाँहरूले भन्नु भएको हो ’, उनले भने । दुई छाक टार्न काम गर्नैपर्ने बाध्यता भएको भन्दै आफूहरूलाई रोगभन्दा भोक ठूलो भएकोले काम गर्ने वातावरण बनाइदिनुपर्ने उनीहरूको माग छ ।

प्रहरीको पिटाइ पाएका शिव नेपाली

यसबारे बुझ्न खोज्दा सुर्खेत प्रहरी प्रवक्ता (डिएसपी) रामप्रसाद घर्तीले घटनाका सम्बन्धमा के भएको हो आफूले बुझ्ने बताए ।