Loading... आजः २० बैशाख २०८१, बिहीबार । Thursday 2nd May 2024

सतर्कता अपनाऔं

यो वर्षको असारको सुरुवातमै मनसुनको सुरुवात समेत भइसकेको छ । मनसुन सुरु भएपछि यतिबेला दैनिक जसो वर्षात हुने भइरहेको अवस्थामा आउने बाढी पहिरोका कारण जोखिम निम्त्याएको छ । कर्णाली प्रदेशको भौगोलिक बनावट राजधानी रहेको सुर्खेत उपत्यका भएपनि अन्य सबै जिल्लाहरु पहाडि र हिमाली छन् । वर्षातको समयमा आउने बाढी र पहाडि भू–भागमा आउने पहिरोका कारण जनधनको क्षति हुने जोखिम बढ्ने गर्दछ । आज भन्दा करिब ७ वर्ष अगाडि सुर्खेतमा आएको बाढीको वितण्डाबाट घरबार बिहिन बनेकाहरुले अहिलेसम्म छानामुनीको बास पाउन सकेका छैनन् । २०७१ सालपछि देशमा संविधान आयो । निर्वाचन भयो । सरकारहरु बने । तीनै तहका सरकारहरुले उनीहरुलाई छानोमुनी ल्याउने आश्वासन पनि दिए । तर अहिलेसम्म उनीहरुले के हिउँद के वर्षा त्रिपाल मुनी नै गुजार्नु परेको छ ।

आखिर दैविक प्रकोपलाई कसैले चाहेर पनि रोक्न सक्दैन । तर पनि त्यसको न्यूनिकरण गर्न सकिन्छ भने त्यसबाट हुने सम्भावित खतराबाट जोगिनका लागि बेलैमा सचेत रहन सकिन्छ । हामीले प्रकृति माथि नै विजय प्राप्त गर्न खोज्यौ भने त्यहाँ विनाश हुने कुरालाई स्वीकार गर्नुपर्छ । कर्णाली प्रदेशका पहाडि जिल्लाहरुमा विभिन्न स्थानीय सरकार र प्रदेश सरकारले समेत निर्माण गरेका सडकमा डोजरको प्रयोग गरेर भूमिलाई छिया–छिया बनाउने कार्य भयो र भइरहेको छ । डोजरले थर्कमान पारेको भूमि वर्षातसँगै पहिरोमा परिणत हुने र त्यसबाट जनधनको क्षति हुने उच्च जोखिम छ । त्यसैले सम्भावित दुर्घटना हुने स्थानमा बसोबास गर्नेहरुले उच्च सतर्कता अपनाउन जरुरी छ । वर्षातको समयमा पानी दुषित हुने गर्दछ । दुषित पानीका कारण मानव स्वास्थ्यमा असर पर्ने, विभिन्न सरुवा रोगहरुको प्रकोप फैलिन सक्ने भएकोले पनि सचेतता अपनाउन जरुरी छ ।

सुर्खेत उपत्यका वरिपरी भएका डाँडाहरुमा बाहिरबाट हेर्दा घना जंगल देखिएपनि भित्र भित्र जंगल खोक्रो भइसकेको छ । यस्तो अवस्थामा बाढीको प्रकोप बढ्ने नै भयो । स्थानीय साना खोलाहरुमा समेत पानी संग्रहित हुने र त्यसले वीरेन्द्रनगर भित्र रहेका खोला किनारका बस्तीहरुमा असर गर्ने गर्दछ । वीरेन्द्रनगरमा सहरीकरण बढ्दै जाने क्रममा खोलाको भू–भागलाई समेत मिचेर बनाईका घरहरु अझ बढि जोखिममा छन् । २०७१ सालको बाढीपछि पनि त्यस्ता धेरै घरहरु बनेका छन् बनिरहेका छन् । त्यसलाई रोक्नका लागि न नगरपालिकाले ध्यान दिन सक्यो न सम्बन्धित नागरिकहरु नै सचेत बने । खोला किनारमा घर बनाउने र बनाउन दिने अनि दुर्घटना भइसकेपछि राहत माग्ने र वितरण गर्ने प्रवृत्तिको अन्त्यका लागि सबै पक्षले ध्यान दिनु नै पर्छ । वर्षात सुरु भइसकेकोले त्यसबाट जनधनको क्षति हुन नदिनका लागि सरोकारवालादेखि आम नाागरिकले सतर्कता अपनाऔं ।