Loading... आजः ११ बैशाख २०८३, शुक्रबार । Friday 24th April 2026
ताजा खबर
  

कथा – सम्झनाले पढाइ छाडिन्

हालको कर्णालीको राजधानी रहेको वीरेन्द्रनगर नगरपालिका भित्रै एउटा सुन्दर रमणीय वस्ती छ । त्यस वस्तीको नाम सुन्दै पनि सुन्दर लाग्ने सुन्दरपुर हो । सुन्दरपुरमा बस्नेहरु प्रायः आफ्नै लयमा काम गर्ने खालका बासिन्दाहरु छन् । झट्ट हेर्दा टीनको छानो भएको घर । त्यो घरभित्र बस्नेहरु पनि घाममा टलक्क टल्कने त्यो टिन जत्तिकै सफा र चम्किला मन भएका छन् । त्यही वस्तीमा भएको एउटा घरको ठूली छोरीको नाम हो सम्झना ।

रुपा लम्साल

घरकी जेठी छोरी भएकोले पनि होला सम्झना साँच्चिकै मिलनसार र मिहिनती थिइन् । भाइको दाँजोमा घरको काममा पनि आमालाई सघाउनेदेखि लिएर आमाबाबाको आज्ञाकारी छोरी भएकोले पनि सम्झनाले साँच्चिकै सोचेको भन्दा धेरै काम गर्नु पर्छ । सम्झना र उनको भाइ भने फरक–फरक विद्यालयमा पढ्ने गर्दछन् । हाम्रो समाजमा अझैँ पनि छोरीलाई सरकारी विद्यालयमा र छोरालाई नीजि विद्यालयमा पठाउने विभेदको अन्त्य हुन सकेको छैन । विहान र साँझ घरको काममा सघाउनु पर्ने भएकोले पनि सम्झनाले भाइको बराबर समय दिएर पढ्न पाउँदिनन् । विदाको दिन आउनै हुँदैन हातमा हँसिया र नाम्लो लिएर सम्झना वनमा घाँसको जोहो गर्न गइहाल्नु पर्छ ।

विहान सबेरै उठेर चिया पकाउने काम पनि सम्झनाकै जिम्मामा छ । उनले आफ्नो लागि भन्दा पनि बुबा र भाइको लागि चिया नपकाइ सुख्खै हुँदैन । किनकी सम्झनाको भाइ निकै पुल्पुलिएको छ । दिदीले पकाएको चिया समेत सन्तोषले पिउने बानी छैन उसको । सन्तोष गर्न नजानेकैले हुनुपर्छ जति खाएपनि शरिर ख्याउटे छ उसको खानै नपाएको जस्तो ।

विहान नास्ता खान नपाएकोमा झोक्किएको छोरालाई सम्झाउँदै उसका बाबाले भने, एक दिन नास्ता छैन भनेर किन रिसाएको ? यो सम्झना पनि यस्तै छ क्या कमसेकम भाइको लागि नास्ता त बनाइदिनु नि । बाबाको आड पाएर सुदीप सुँकसुँक गरेर रोइदिन्छ । अनि उसकी आमाले उसलाई नास्ता बनाइदिन थाल्छिन् । तर सम्झना भने केही नबोलेर गाग्री समातेर पानी भर्न कुँवातिर गइहाल्छिन् ।

गाग्रीमा पानी नभएको बेलामा पानी ल्याउनु, भैसीलाई घाँस हाल्नुदेखि घरमा धेरै कामहरुमा समय दिनु परेकाले सम्झनाको पढाई भने त्यति राम्रो हुन सकेको छैन । खाजा नबनाएको बहानामा भाइको कारणले आफूले गाली खानु परेकोमा सम्झनालाई नराम्रो लाग्नु स्वभाविक हो । भाइलाई विद्यालयसम्म जानका लागि गाडी नै लिन आउने भएकोले सम्झना जहिलेपनि हतारमा खाना खाएर विद्यालय जानु पर्छ । जहिले ढिला हुने भएकोले उनी सधैँ हतारिनु स्वभााविक हो ।

आज पनि सधैँ झैँ अरु साथीहरु भन्दा सम्झना विद्यालयमा ढिला पुगिन । गुरुको भनाई समेत खानु पर्ने । उनी विद्यालयमा ढिला आएकैले जहिले गुरुले गाली गर्ने र साथीहरु गलल हाँस्ने भएकोले पनि सम्झनाको मन नराम्रोसँग कुँडिन्छ । जति छिटो आउँछु भने पनि सकिने होइन ।

सम्झना मनमनै सोच्छिन् यो पढ्नै छोडिदिउँ कि क्या हो । दिक्क लाग्न थालिसक्यो । न घरमा पढ्ने वातावरण छ न सन्तोष । अरु भन्दा गृहकार्य समेत गर्ने फुर्सद छैन । गृहकार्य नगरेकै कारण पनि गाली खानु पर्ने । छोरा र छोरीका विचमा समान दृष्टिले हेर्न नसकेसम्म यो समाजमा छोरीले अझैँ कति दुःख भोग्नु पर्ने हो ।

दैनिक जसो गृहकार्य गर्छु भनेर गुरुका अगाडि बाचा गरेपनि सम्भव नभएपछि सम्झनाको मनमा दिग्दारी लाग्छ । उनको मन पढाइमा भन्दा पनि घरको काम र घरमा भाइ र आफू बीचमा भएको विभेदको बारेमा सोच्न नै ठिक्क छ । दिन वित्दै गए ।

भोलीपख सम्झनालाई विद्यालय जानै मन लागेन । विद्यालय गयो भने पनि गृहकार्य र ढिला पुग्नु पर्ने भएकोले फेरी गाली खानु पर्ने । यस्तै कुराको पीरले सम्झना आज विद्यालय जाने समयमा हातमा हँसिया र नाम्लो बोकेर वनतिर पो लागिन् ।

ए ! सम्झना स्कुल जान छोडेर कता हिडेकी ? सम्झनाकी आमा कराइन् । गृहकार्य पनि गरेको छैन । स्कुल जान पनि ढिला भइसक्यो अब घाँस काट्न जान्छु । उनी सरासर हिडिरहिन् । त्यसै दिनदेखि हो सम्झनाले स्कुल जान छोडेको । स्कुल जान छोडेपछि घरको काममा सहयोग त भएको छ उनलाई स्कुल जानु पर्ने गृहकार्य गर्नु पर्ने बाध्यता त छैन । तर छोरी भएकै कारण उनले बीचैमा पढाइ छोड्नु प¥यो । जसका कारण उनको उज्जवल भविष्य त अन्धकार तर्फ मोडियो । तर भाइ भने निरन्तर स्कुल गइरहेको छ ।

हाम्रो समाजमा छोराछोरी बराबरी हुन भन्ने कुराको चेतनाको विकास कहिले हुने होला । जबसम्म छोरीले शिक्षाको उज्यालो प्राप्त गर्न सक्दिनन् तबसम्म एउटा परिवार नै अशिक्षित हुन्छ भन्ने कुराको ज्ञानबोध हुन आवश्यक छ । विभिन्न संघसंस्थाहरु छन् । जसले चेतना र शिक्षाका बारेमा काम गर्दछन् तर पनि ती केवल नारामा मात्र सिमित रहेका छन् । यो भन्दा अगाडिका दिनहरुमा जे भएपनि अबका दिनहरुमा नारामा होइन व्यवहार उतार्न सक्नुपर्छ र छोराछोरी बीचको विभेद अन्त्य गर्न सक्नु पर्छ । अनि मात्र सुन्दर र समुन्नत समाजको परिकल्पना गर्न सकिएला कि ?