Loading... आजः ५ जेष्ठ २०८१, शनिबार । Saturday 18th May 2024

सत्ताच्यूत भएका ओली र देउवाको पुनरागमन

पछिल्लो आम निर्वाचनको समयमा यस्तो माहोल खडा भयो कि नेपालमा साँच्चिकै अब विकासको आँधिवेहरी नै आउने भयो । निर्वाचनको लागि मात्र भएपनि गठबन्धन गरेका कम्यूनिष्टहरु पार्टी एकिकरणमै पुगेपछि अब उनीहरुलाई हराउन सक्ने क्षमता कसैको पनि छैन । किनकी नेपाली कम्यूनिष्ट आन्दोलनमा लामो समयसम्म संघर्ष गरेको नेकपा एमाले र दश वर्ष जनयुद्ध गरेर आएको नेकपा माओवादी केन्द्र बीच एकिकरणको प्रक्रिया अघि बढेपछि अरु साना झुण्डमा रहेका कम्यूनिष्टहरु पनि एक हुनेछन् र विशाल कम्यूनिष्ट पार्टीको निर्माण हुनेछ भन्ने आशा जाग्यो नेपाली कम्यूनिष्ट समर्थकहरुमा । त्यसपछि निर्वाचनमो समयमा ओली र प्रचण्डको देश दौडाहाले अर्को रौनक थपिदियो, अब नेपालमा कम्यूनिष्टहरुले सयौ वर्ष शासन गर्ने भए । नभन्दै निर्वाचनको परिणाम पनि कम्यूनिष्टकै पोल्टामा पुग्यो । झण्डै दुईतिहाइ ल्याएर नेपालको मात्र होइन दक्षिण एशियामै कम्यूनिष्टको यति बलियो सरकार निर्माण भएको कि जुन अहिलेसम्म कहिँ कतै भएको थिएन ।

खगेन्द्र अधिकारी ‘अमृत’

निर्वाचन पश्चात दोस्रो पटक सत्ताको नेतृत्वमा केपी ओली पुगे । स्थायी शान्ति, रोजगार, शिक्षा, स्वास्थ्यका साथै दीगो भौतिक विकासका कार्यहरु अघिबढ्ने भए नेपाली जनताको मनमा आशा पलायो । अब राजनीतिक रुपमा देश र जनताले कुनै प्रकारको झण्झड व्यहोर्नु पर्ने छैन । एकातिर भौतिक विकासमा देशले फड्को मार्नेछ भने अर्कोतिर त्यसको परिणाम स्वरुप रोजगारीका अवसरहरु श्रृजना हुनेछन् । जसले गर्दा नेपाली जनताले आफ्ना दैनिक आवश्यकताहरु परिपूर्ति गर्नका लागि कसैसँग हात थाप्नु पर्नेछैन । छोराछोरीलाई पठाउनका लागि र आमाबाबुलाई औषधी उपचारका लागि भौतारिनु पर्ने छैन । भोको पेट भर्नका लागि आफुनै देशमा पसिना चुहाए पुग्ने भयो । युवाहरुमा पनि नयाँ जोश र जाँगर नआएको होइन ।

ओलीको शासन अघि बढ्दै गयो । अघिल्लो पटक प्रधानमन्त्री भएको बेलामा भारतले गरेको नाकाबन्दीको समयमा समेत टसमस नभएका ओलीले देशको सीमा रक्षाका साथै आफ्नो भूभागलाई संरक्षण गर्ने क्रममा लिपुलेक, लिम्पियाधुरा समेटेर देशको नक्सा नै परिवर्तन गरी सबै राजनीतिक दलहरुलाई एक ठाउँमा उभ्याएर राष्ट्रियताको सवाललाई मजबुद बनाउदै गए । संविधान नै संशोधन गरेर कयौ वर्ष अगाडिको चुच्चे नक्सालाई पुनर्जीवन दिनु केपी ओलीको महान कार्य हो । जसका लागि नेपाली जनताले उनलाई युगौयुग सम्झने छन् । वास्तवमा देशप्रेमी, राष्ट्रवादी नेता भनेकै केपी ओली रहेछन् भन्ने कुरालाई प्रमाणित गरेर उनले नेपाली राजनीतिक इतिहासमा आफ्नो नाम सुनौला अक्षरले लेख्ने कार्य गरे ।

प्रमुख प्रतिपक्षमा बसेको काँग्रेसले छायाँ सरकार गठन गरेको भएपनि पुग नपुग दुईतिहाइको सरकारका विरुद्धमा केही लछारपाटो लगाउन सक्ने कुरै भएन । विरोधका नाममा विरोध गर्नु र प्रतिपक्ष भएको कुरा जनतालाई देखाउनका लागि आफ्नो धर्म निर्वाह गर्नु बाहेक काँग्रेस शक्ति शुन्य भएर बस्न बाध्य भयो । जसले गर्दा कम्यूनिष्टहरुले आफ्नो ढंगले विकास निर्माणका कार्यहरु अघि बढाउने कुरामा अझ बल पुग्ने नै भयो ।

देश विकास निर्माणको सबैभन्दा ठूलो बाधकको रुपमा रहेको छ भ्रष्टाचार । सानोदेखि ठूलोसम्म भ्रष्टाचारको जालोमा बेरिएपछि देशले मुहार फेर्न सक्दैन भन्ने कुरालाई राम्रोसँग बुझ्न जरुरी छ । जबसम्म भ्रष्टाचारको अन्त्य गर्न सकिदैन तबसम्म देशको अर्थतन्त्रलाई सही ठाउँमा सही ढंगबाट परिचालन गर्न सकिदैन भन्ने कुरालाई बुझ्न आवश्यक छ । त्यही कुरालाई बुझेर होला केपी ओलीले म भ्रष्टाचारीको अनुहार हेर्नै चाहान्न भनेका पनि हुन । तर विडम्बना उनकै प्रिय पात्रहरु एकपछि अर्को गर्दै भ्रष्टाचारका काण्डहरुमा मुछिदै गए । एउटा मात्र उदाहरण वाइडबडी काण्ड होस् कि ७० करोडको अडियो प्रकरण । यी कुराहरु बाहिर आइसकेपछि ओलीले ती पात्रहरुलाई कानूनी रुपमा कारवाहीको दायरामा ल्याउनुको साटो उल्टै ढाकछोपको काम गर्नु नै केपीका दुर्दशा सुरु हुनु हो ।

सरकारमा बसेको पार्टीले सबै जनतालाई समान रुपले व्यहार गर्नुपर्नेमा जब केपी आफ्ना वरिपरीका आसेपासेहरु, चाकडीबाजहरु, तडकभडकवालाहरुको कुरा सुन्न थाले तब उनी एकपछि अर्को समस्यामा पस्दै गए । त्यही मौका हेरिरहेको भारत अब पुनः नेपालको राजनीतिक अवस्थामा माथि दृष्टि गोचर गर्न थाल्यो । हिजोका दिनमा नाकाबन्दी गरेर, मधेशमा आन्दोलन गर्न लगाएर पनि भारत नेपाली राजनीतिमा हस्तक्षेप गर्न असफल भएकै हो । त्यसले केपी ओलीको लोकप्रियता अझ बढेकै हो । तर मौका पर्खिरहेको भारतले अब केपी ओलीसँग चिलेर होइन मिलेर मात्र आफ्नो लक्ष्यलाई पूरा गर्न सकिन्छ भन्ने सुत्र अनुसार ओलीलाई साथ र सहयोग गर्न थाल्यो । जुन कुरामा ओली रमाउन थाले । हिजोको राष्ट्रवाद, कम्यूनिष्टहरुको एकिकरणदेखि फेरी पनि जनताका बीचमा जानुछ भन्ने कुरालाई बिर्सेर भारतको इशारामा केपी नाच्न थालेपछि उनले हिटलर शैली अपनाउन थाले । जसले गर्दा आज केपी ओलीले बाध्यात्मक परिस्थितिमा सत्ताच्यूत हुनु परेको हो ।

हिजोका दिनमा ओलीलाई मधेशमा प्रवेश निषेध भन्नेहरु ओलीलाई साथ दिन पुगे । त्यो भित्र अनुहार सफा भएपनि मन कालो छ भन्ने कुरा ओलीले बुझ्न सकेनन् । ताजा जनादेश प्राप्त गर्ने नाममा ओलीले दुई दुई पटक प्रतिनिधिसभाको हत्या गरे । तर सर्वोच्चले उनको निर्णयलाई उल्ट्याइदियो । ओलीले बारम्बार संविधान मिचिरहे ।

धारा ७६ को सबै उपधारा अनुसार आफै प्रधानमन्त्री हुन खोज्नु, प्रतिनिधिसभाको पुनस्र्थापना पश्चात प्रधानमन्त्री पदबाट राजीनामा नगर्नु, सत्ता र स्वार्थका लागि आफ्नै पार्टीका नेताहरुलाई पाखा लगाउने योजना बनाउनु र पार्टी अध्यक्षको हैसियतले पार्टीलाई सही ढंगले अगाडि बढाउन नसक्नु केपीका कमजोरी हुन् । अर्कोतिर उनले राष्ट्रपतिलाई जुन ढंगले प्रयोग गरेर राष्ट्रपतिले पनि जुन अन्धभक्तता प्रयोग गरिन त्यो दुर्भाग्यपूर्ण थियो । त्यो एमालेको हितमा थिएन । त्यो केपीकै हितमा थिएन । त्यो नेपाली जनताको हितमा थिएन ।

ज जसलाई प्रयोग गरेपनि भारतले केपीलाई सत्ताबाट हटाउनु नै थियो भन्ने कुराको प्रमाण के हो भने नेपालमा स्थायी शान्ति र स्थायी सरकार भयो भने देश विकासको दिशामा अगाडि बढ्छ अनि नेपालीहरु आत्मनिर्भर हुन थाल्छन् । जसका कारण भारतले नेपाल माथि गरिरहेको व्यापारिक हालिमुहालीको अन्त्य हुन्छ । त्यसैले भारतले नेपालमा स्थायी शान्ति हुनै नदिने चाल चलिरहेको हुन्छ । त्यो कुरा बुझ्नबाट केपी चुके । उनका सल्लाहकारहरुले पनि उनलाई यो कुरा बुझाउन सकेनन् । जसका कारण नेपालमा झण्डै दुई तिहाइको सरकार ध्वस्त भयो र प्रमुख प्रतिपक्षमा रहेको काँग्रेस र काँग्रेसका पार्टी सभापति एवम् संसदीय दलका नेता शेरबहादुर देउवाको सत्तामा पुनरागमन भयो ।

यस भन्दा अगाडि चार चार पटक प्रधानमन्त्री भएका देउवाको इतिहास पनि त्यति सुखद छैन । कहिले राजाबाट असक्षम घोषणाको बिल्ला भिर्ने, कहिले आफ्नै पार्टीका सांसदहरुबाट विश्वासको मत नपाउनेदेखि तत्कालिन अवस्थामा माओवादीका नेताहरुको टाउकोको मोल तोक्ने लगायतका अनेकौ घटनाहरु छन् । वर्तमानमा काँग्रेसको सभापति भएपनि देशको प्रधानमन्त्री भएपनि देउवा कुशल राजनीतिज्ञ भने होइनन् ।

देश विकासको कार्यमा होस् वा कोरोना जस्तो महामारीको नियन्त्रण तथा त्यसबाट जनतालाई गर्नु पर्ने व्यवस्थापनमा होस् केपीले जति गर्नका सकेका थिए त्यत्ति देउवाले गर्न सक्दैनन् । किनकी एकातिर देउवा दुरदर्शीता भएका व्यक्ति हुँदै होइनन् भने अर्कोतिर उनी गठबन्धनका प्रधानमन्त्री हुन् । आफ्नो पार्टी भित्र खुलेर होइन लुकेर प्रहार गर्ने व्यवहारले पनि देउवालाई यतिबेलाको सत्ता संचालन फलामको च्यूरा चपाउनु जत्तिकै छ । हुने विरुवाको चिल्लो पात भने झँै सुरुमै शिक्षा र स्वास्थ्यका क्षेत्रको व्यापारीलाई स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त गरेर देउवाको पहिलो गाँसमै ढुंगा लागिसकेको छ । सरकार गठन भइसकेको यतिका दिनसम्म पनि मन्त्री मण्डललाई पूर्ण दिन नसक्नुले गठबन्धन भित्र आन्तरिक किच किच सुरु भइसकेको छनक हो ।

एकातिर जसपा फुटिसकेको छ । अर्कोतिर एमाले मिलेको खण्डमा देउवाको सरकार फेरी अल्पमतमा पर्ने निश्चित छ । त्यही डरले पनि देउवा हरेक निर्णयमा डराउने छन् । त्यसका साथै गठबन्धनको बलियो पार्टी र चतुर नेताका रुपमा प्रचण्ड देउवाको साथमा छन् । देउवाले अलिकति दाँया बाँया गर्न खोजेको खण्डमा प्रचण्डले उनलाई फेरी बुढानिलकण्ठ पु¥याउन बेर गर्ने छैनन् । यस्ता भय र त्रासका बीच देउवाले सरकार चलाउनु छ भने अर्कोतिर आफ्नै पार्टीको महाधिवेशन यतिबेलै सम्पन्न गर्नुछ । त्यसपछि अर्को ठूलो कार्यभार भनेको आम निर्वाचन गराउनु छ । स्थानीय तथा प्रदेशको निर्वाचनमा पनि त्यति टाढा छैन । यी सबै कामले गर्दा देउवाको ध्यान देश विकास, जनताका आवश्यकता परिपूर्ति भन्दा पनि राजनीतिक किचलो र खिचातानीमा मात्र हुने भएकोले जनताले यो सरकारबाट आशा नगरेकै राम्रो अनि काँग्रेसीजनहरु आफ्नो पार्टीको नेतृत्वमा सरकार छ भनेर नमख्खिएकै जाती ।

राजनीतिमा असम्भव केही हुँदैन भने झँै केपीले काँग्रेसको अन्तिम प्रधानमन्त्रीको उपमा दिएर देउवालाई खिस्याएका थिए । आफ्नै पार्टीभित्र गुट र उपगुटका कारण सत्ताबाट बाहिरिनु परेका केपी आफै पो फेरी देशको प्रधानमन्त्री हुन पाउने हुन कि होइनन् ?