Loading... आजः ८ जेष्ठ २०८१, मंगलवार । Tuesday 21st May 2024

थिरेन्द्र हो तपाईंको नाम ‘थिरेन्द्र’

कर्णालीको विकट जिल्लाका रुपमा चिनिएको कालिकोट । कालिकोटको एउटा दुरदराजको बस्ती । थिरेन्द्र बाहुन कूलमा जन्मिएकाले पनि पढ्नै पर्छ भन्ने बाध्यता । शिक्षित हुनका लागि पढ्नु वा जागिर खानका लागि पढ्नु भन्दा पनि यजमानहरुलाई पाती लगाउन, रक्षाबन्धनमा डोरो बाँधिदिन र नागपञ्चमीमा यजमानका घरमा नागको पूजा गर्नका लागि पढ्नु पर्छ भन्ने बाध्यात्मक परिस्थिति जस्तो वातावरण । त्यसै वातावरणमा हुर्कदै गर्दा थिरेन्द्रले १४ वसन्तहरु पार गर्नै लागेका थिए ।

सायद त्यो गाउँमा विद्यालय जाने उमेरको थिरेन्द्रले मात्र पाइन्ट लगाउने अनुभव गरेका थिए । यसो भनिरहँदा कालिकोटका मान्छे पाइन्ट नै लगाउँदैनन् भन्न खोजेको होइन । प्रायः भोटी (दौरा) र सुरुवाल लगाउने ठाउँमा थिरेन्द्र पाइन्टमा चिटिक्क देखिन्थे । सानै उमेरमा अरुको भन्दा फरक स्वभाव भएकाले पनि होला थिरेन्द्रले पाइन्ट बिना विद्यालय नजाने घुर्की लगाएपछि उनका बा उनलाई पाइन्ट सिलाउन बाध्य भएका थिए ।

खगेन्द्र अधिकारी ‘अमृत’

एकदिन साँझपख थिरेन्द्रका ठूला बा थिरेन्द्रकै घरमा आए । बा र ठूला बा ले कुरा गरिरहेको ठाउँमा साना केटाकेटी बसिराख्नु राम्रो मानिदैनथ्यो । त्यसैले होला थिरेन्द्र आमासँगै केही कुरा गर्दै थिए । यत्तिकैमा थिरेन्द्रको कानमा एउटा कुराले बास ग¥यो । ‘कान्छा ! अब यो केटाको जणो बानिदिन प¥यो ।’

थिरेन्द्रका ठूला बा ले भनेको यो कुरा थिरेन्द्रको चौध वर्षे कलिलो दिमागले बुझ्नै सकेन । अझ भन्ने हो भने उनले घुमाउरो पाराले भनेकाले पनि यिनले बुझ्न नसकेका होलान् । तर मनमा खुल्दुली भने लागिरह्यो । त्यसपछि उनले आमालाई सोधे, ‘आमा कसको जणो बान्या ? यो जणो कसरी बान्छन् ?’

छोराको यस्तो कुरा सुनेर आमाले भनिन्, ‘तेरी ब्याउली ल्याउने कुणो हो । ब्याउली ल्याउनु भनेको जणो बान्नु हो ।’ आमाको जवाफले थिरेन्द्रको मनमा फरक खालको तरंगको विकास ग¥यो । एकातिर खुसी मान्ने हो भने यो उमेरमा नै विहे गर्नुपर्नेमा उनको मनले खुसीलाई पनि अंगाल्न सकेन अनि दुःख मान्ने हो भने जणो बानिने भैयो । आफू पनि ठूलै भएछु भन्ने लाग्यो ।

साँझको खान खाइसकेकाले सबै आ–आफ्नो ठाउँमा सुत्ने योजनामा लागे । थिरेन्द्र पनि । जब ओछ्यानमा पल्टिए उनलाई आज निद्रा देवीले साथ दिने सम्भावना नै देखिएन । मनमा ठूला बा ले भनेको ‘जणो’ शब्दले राज जमाइरहेकाले पनि होला निद्रा देवी नजिक आउन नसकेको । हुन त उनका उमेरका धेरैले जणो बानिसकेका छन् । त्यसैले आफूले पनि ‘जणो’ बान्नुमा के फरक पर्छ र । उनको मनले यस्तै सोचिरहेको थियो ।

त्यही मौकामा उनले आफ्नो हुनेवाला दुलहीको बारेमा सोच्न थाले । मान्छेको मनमा नयाँ कुराले नयाँ तरंग ल्याउनु स्वभाविकै हो । थिरेन्द्रका मनमा पनि एकातिर दुलाहा बन्न पाइने र अर्कोतिर घरमा आफ्नी दुलही भित्रिने कुराले तरंग फैलाइरहेको छ । लामो सास फेर्दै कोल्टे फेर्छन् अनि सोच्छन्, ‘कस्ती होली मेरी हुनेवाला दुलही ?’ एउटा दुलाहाले विहे पूर्व कस्ती दुलहीको अपेक्षा गरेको हुन्छ त्यो विहे गरिसकेका र विहे गर्न ठीकठाक पर्न थालेकाहरुलाई भनिरहनु नपर्ला ।

चिटिक्क परेको जिउ । न पातलो न मोटो । उचाई पनि आफै बराबर भएन भने एक दुई इन्च मात्र होची । गोरी । कालो लामो कपाल । मृगनयनी । फिस्स हाँस्दा गालामा सानो डिम्पल पर्ने मात्र होइन चिउडीमा पनि मसिनो रेखा जस्तै आकृतिको निर्माण हुने । मिलेका दन्त लहर । बोलाउँदा लजालु स्वभाव भएकी । आफूलाई जन्मदिने आमा बाबु नै छोडेर आउने भएकाले सबैभन्दा बढि माया आफूलाई मात्र दिने । निकै आज्ञाकारी । सासु ससुरालाई आफ्नै आमा बाबुजस्तै माया गर्ने । घर परिवारमा सबैसँग मिल्ने अनि बत्तिस लक्षणले युक्त भएकी । यस्तै युवतीको बारेमा थिरेन्द्रले निकै लामो समय व्यतित गरे कतिबेला भुसुक्क निदाएछन् उनलाई पत्तै भएन ।

विहानीपख सूर्यले छरेको उज्यालो पृथ्वीमा आइ नपुग्दै आमाले कराइहालिन्, कान्छा, ए ! कान्छा । थिरेन्द्र घरको सबैभन्दा कान्छो सन्तान भएकाले आमा बुबाले उनलाई कान्छा भनेर बोलाउँछन् । आमाले कान्छा भनेर बोलाएको नै प्यारो लाग्छ थिरेन्द्रलाई । अनि खासै भन्ने हो भने थिरेन्द्रको वास्तविक नाम नै छैन ।

किन छैन थिरेन्द्रको नाम ? नाम नै नभएपछि ऊ कसरी थिरेन्द्र भयो त ? कुरा फरक छ । थिरेन्द्र आमाबुबाको एघारौ सन्तान हुन् । पहाडि भेकमा मात्र होइन त्यो समय र परिस्थितिमा छोराछोरीले डाँडाकाँडा ढाकुन् भन्ने आर्सिरवाद नै पाइन्थ्यो भने सिमित सन्तान जन्माउनु पर्छ भन्ने शिक्षा नै थिएन । त्यो भन्दापनि अझ भित्रि रहस्य फरक छ । थिरेन्द्रका एक दिदी र एक दाजु छन् । त्यो भन्दा पछाडि लगातार आठ सन्तान जन्माए पनि त्यति लामो समयसम्म ती सन्तानहरु यो संसारमा रहन सकेनन् । सायद त्यो बालमृत्यूदर थियो । त्यति बेला आजको जस्तो औषधी उपचार, अस्पताल थिएन । सहज रुपमा डाक्टरसम्म पहुँच थिएन । त्यसैले विभिन्न कारणले ती आठ सन्तानहरु यो संसार छोड्न बाध्य थिए । त्यसपछि जन्मेका थिए थिरेन्द्र ।

थिरेन्द्र जन्मेपछि उनलाई पनि कुन दिन मर्ने हो भनेर उनका आमाबुबाले खासै माया नै गरेनन् रे । एक छोरा र एक छोरी साथमा भएपनि जन्मिसकेपछि सन्तानको माया नहुने कुरै भएन । त्यसरी लगातार आठ सन्तान हातमा नरहेपछि त्यो भरखरै जन्मेको बच्चोको पनि के आश भयो र । त्यही पीरले गर्दा छ दिनको छैठी कर्म भएन रे थिरेन्द्रको । अनि नौ दिनमा गरिनु पर्ने न्वारन कर्मपनि भएन रे । दिन हप्ता वित्दै जाँदा झण्डै वर्ष दिन नै पुग्न थालेपछि अब त बाँच्छ कि क्या हो भन्ने आशले नवदुर्गा सुरु भएको समयमा उसलाई दुर्गा भनिदिए छन् । त्यसपछि उसको नाम दुर्गा रहन गयो । कर्म नगरेपनि एउटा नाम त पायो थिरेन्द्रले । तरपनि आमा बुबामा हुनु पर्ने जति आश नभएपछि उसको विधिपूर्वक चुडाकर्म पनि भएन । उपनयन कर्म पनि भएन । अझ भन्ने हो भने विवाह कर्म पनि भएको छैन, थिरेन्द्रको ।

आमाको आवाजले हतार हतार उठ्छन् थिरेन्द्र । विहानको उनको कर्म भनेको एक डोको घाँस काट्नु र त्यसपछि खाना खाइ विद्यालय जानु हुन्छ । एक कटौरा अमिलो मोहीसँग हिजोको बासी रोटी नूनमा च्वाप्प चोबेर क्वाप्प खाएपछि पिठ्यूमा डोको बोकेर घाँस काट्नका लागि जंगलतिर लाग्छन् थिरेन्द्र । त्यति बेलासम्म झलमल्ल उज्यालो भइसकेको थियो ।

विहानको कर्म पश्चात थिरेन्द्र विद्यालय जान्छन् अनि समय अनुसार घर फर्किन्छन् । त्यही दिन थिरेन्द्रको जणो बान्नका लागि इष्टकहाँ जाने योजना बनेको हुन्छ । हुन त त्यो समयमा आमा बुबाले हेरिदिए पुग्ने । केटाले केटी र केटीले केटा हेर्नै नपर्ने । तर खै किन हो थिरेन्द्रलाई पनि साथमै लगेर गए थिरेन्द्रका बुबा र दाजुले ।

विहान साँझ घाँस दाउरा गरिरहेको मान्छे । उकाली ओराली हिडिरहेको मान्छे भएकाले पनि थिरेन्द्रलाई हिड्न समस्या हुने नै भएन । पहाडमा जन्मे हुर्केको मान्छे । अघि अघि बुबा र दाजु पछि पछि थिरेन्द्र विभिन्न कल्पना गर्दै हिडिरहेका छन् । करिब १ घण्टाको हिडाईपछि गन्तव्यमा पुग्छन् उनीहरु । साइनो अनुसार सबैको एक आपसमा ढोक नमस्कार चल्छ । अलि अलि लजालु स्वभावमै भएपनि थिरेन्द्रले अग्रजहरुलाई ढोग नमस्कार गर्छन । केटो त गहुँगोरो, खाइलाग्दो पढ लेख गर्दै गरेको । भविष्यमा राम्रै गर्ला जस्तो छ । केटीका बाबुले मनमनै सोचेका होलान् । छोरी माग्न आएका पाहुना । भविष्यमा हुनेवाला सम्धी अनि ज्वाइँ भएकाले पनि उनीहरुलाई ठूलै सम्मान हुने नै भयो ।

साँझको खान खाइसकेपछि दाजुले भने, ‘ए ! कान्छा, तेरी हुनेवाली श्रीमती देखिस् त ?’ थिरेन्द्रको मन फेरी दौडिन सुरु गर्न थाल्यो । कति बेला देखौला जस्तो भएको मनलाई पनि बाध्यताको बिटोले थिचेर राख्नु परेको छ । यता हेर्छन् देख्दैनन् यता हेर्छन् देख्दैनन् । मनले सोचेको जस्तै होलिन् या फरक । यस्तै तर्कनाहरु मनमा भएपनि दाजुसँग झ्याट्ट भनिहाल्न पनि भएको छैन । त्यसैले अलिकति घोसेमुण्टो लगाउँदै ‘देखिन’ भन्ने छोटो उत्तरमै टारीदिए उनले । आँखा भने वरपर घुमिरहेकै थिए । खोजिरहेका थिए आँखाले भविष्यको जीवनसाथीलाई ।

उता बा र हुनेवाला ससुरा बा का गफ भने अघि बढिरहेका थिए । त्यत्तिकैमा दाजुले कोट्याए । विस्तारै नजर दाजुको नजरमा पु¥याउँदै गर्दा दाजुले आँखाले भने ‘ऊ हेर देखिस् ।’ करिब ६÷७ वर्षकी एउटा बालिका भोटीको छेउमा खाजा राखेर कुटुकुटु खाँदै बाहिरबाट आइन् । सायद दिउँसोका लागि भुटेका खाजा थिए होला तर साँझ खाना खाइसकेपछि पनि उनले ती खाजा खाइरहेकी थिइन् । मनले सोचे हुनेवाला साली होलिन् । तर दाजुको इशाराले बुझे मेरी हुनेवाली जीवनसाथी त तिनै पो रहिछन् । आजभोलिको जस्तो बालविवाह गर्नु हुँदैन गराउनु हुँदैन भन्ने न ज्ञान थियो न कानूनी व्यवस्था । त्यसैले रहेछ त्यो एउटा अबोध बालिकालाई मेरी भविष्यकी जीवनसाथीको रुपमा हेरिन थालिएको ।

कल्पनामा खोजेकी जीवन साथी कस्ती होलिन् भनेर सोचेको समयले कस्तो ठाउँमा पु¥याएछ । चटक्क मिलेको जीउमा कालो चोलो अनि सेतो पटुकीले रातो लुङ्गीमा सजिएकी मान्छेलाई खोजिरहेका मेरा आँखाले उक्कसी भोटीको छेउमा खाजा खाइरहेको देखेपछि थिरेन्द्र छाँगाबाट खसे झैँ भएका थिए । त्यो भोटीको फेरले ढाकिने उसको लाज भोटीमा बोकेका खाजाका कारण उचालिएकाले छ्याङ्गै देखिएको थियो । अझ भनौ उमेरले होला उसले लाजै नमानी आफ्नो भोटीको फेर उचालिरहेकी थिई ।

त्यसपछि बाहरुका बीचमा के कुरा भए थिरेन्द्रले ध्यानै दिएनन् । भोली पख विहानै उनीहरु आफ्नो घर फर्किए । त्यतिबेला मोटरबाटो नपुगेर पनि कालिकोटमा हरेक सामानहरु किन्नका लागि बजार थिएन । त्यसैले बुबाले पैसा दिएर किन्नु पर्ने सामानको लामै लिष्ट थिरेन्द्रको हातमा थमाउँदै दैलेख बजार पठाए । दैलेख पुगेपछि उनले विवाहका लागि किन्नु पर्ने सामान नै किनेनन् अनि किने आफ्ना लागि कपडा आफ्ना लागि कापी तथा ज्यामिति बक्स ।

मंसिरको २९ गते हुने भनिएको विवाहको दिनलाई गुजारेर कालिकोट फर्केपछि उनका बाबा र आमा कति रिसाए त्यो वर्णन गर्ने शब्द यो पंक्तिकारसँग पनि छैन । त्यसको एक वर्ष वित्दा नवित्दै माओवादी जनयुद्धको सुरुवात भयो । माओवादी जनयुद्धको सुरुवात भएपछि स्वभावैले क्रान्तिकारी भएकाले कसैलाई नसोधी थिरेन्द्रपनि लागे जनयुद्धतिरै । त्यसपछि औपचारिक रुपमा उनको जणो बानिएन ।

छैठी कर्मदेखि चुडाकर्म, अन्नप्रासन्न कर्म, उपनयन कर्म समेत नभएका कारण मनमा कता कता एक खालको उत्सुकता एक खालको कौतुहलता भएकाले पनि थिरेन्द्रलाई ज्योतिषि विधा अन्तर्गत आफ्नो नाम के होला भन्ने चासो रहेछ । त्यसैले उनले यो पंक्तिकारसँग सोधे, ‘मेरो नाम के होला ?’ ज्योतिष विधा अनुसार उत्तरभाद्र नक्षत्रको द्वितीय चरणमा जन्मेकाले ‘थ’ अक्षरबाट उठान हुने भएकाले यो पंक्तिकारले भन्यो, ‘तपाईं थिरेन्द्र हो । आजबाट म तपाईंलाई थिरेन्द्र भनेर चिन्छु ।