Loading... आजः ७ बैशाख २०८१, शुक्रबार । Friday 19th April 2024

सरल तरिकाले मनाऔं तिहार

दशैं सकिएपछि नेपालीहरुको घर आगनमा तिहारले प्रवेश गरेको छ । दशैं सकिन साथ धानखेती भित्र्याउने समयमा भएको अविरल वर्षाले धानखेतीमा गरेको नोक्सानले किसानका मन नराम्रोसँग दुखे । वर्ष दिन हातमुख जोर्नका लागि लगाइएको धानखेतीमा भएको नोक्सानीले गर्दा किसानलाई रुन बाध्य बनायो । किसान माथि यति ठूलो समस्या परेको बेलामा पनि सरकारी पक्षबाट राहतको लागि खासै पहलदकमी नभएको भन्दै बारम्बार गुनासाहरु बाहिर आइरहेका छन् । सरकार भने कार्यविधि बनाउने कार्यमा लागिरहेको बताउँदै आएको छ । कहिले बन्छ कार्यविधि र किसानहरुले राहत पाउँछन् यो प्रश्न निकै दरो भएर उभिएको छ । केही दिनको वर्षापछि मौसममा सुधार भएपछि बचेखुचेका धानका बोटहरु बटुल्दै गरेका किसानहरुलाई झस्काउनका लागि फेरी तिहार पनि आइपुग्यो । जसले वर्ष दिनका लागि खाने खान गुमाएका छन् उनीहरुका लागि तिहारले के सुखी दिनसक्ला र ?


तरपनि हिन्दु धार्मिक परम्परा अनुसार मुखैमा आइसकेको तिहारलाई संस्कार र परम्पराका कारण नकार्न पनि त सकिदैन । त्यसैले यस वर्षको तिहारलाई विगतका तिहारहरु जस्ता भड्किला रुपमा नभई सामान्य रुपमा मनाउन आवश्यक छ । शहर बजारमा बस्नेहरु र हुने खानेहरुलाई खासै समस्याले नछोएपनि मंसिरमा मुरी फलाउने उद्देश्य बोकेर असारमा हिलाम्य भएकाहरुका लागि भने समस्या भएको छ । कतिपयले नयाँ धान भित्र्याएर तिहार मनाउने गर्दथे भने उनीहरुका लागि समस्या परेको छ । त्यसैले भातृत्वको विकास गर्नका लागि पनि हुने खानेहरुले पनि हुँदा खानेहरुको पीर मर्कालाई बुझेर तिहारलाई सामान्य रुपमा मनाउन मानवता र बुद्धिमानी हुनेछ ।

विश्वमा फैलिएको कोरोना संक्रमणका कारण विगत केही वर्षका तिहारमा दाजुभाइ र दिदीबहिनीहरुको बीचमा भेटघाट गर्न समेत समस्या परेको थियो । तर धन्न यो वर्ष दशैं तथा तिहारको समयमा पनि कोरोना संक्रमणको दर ओरालो लागेको छ । जसले गर्दा पनि स्वास्थ्य सुरक्षालाई पालना गर्दै दाजुभाइ र दिदीबहिनीहरुका बीचमा भेटघाट गर्न सकिने वातावरणको सिर्जना भएको छ । तरपनि कोरोनाको जोखिम भने कायम छ । त्यसैले द्यौसी भैलो खेल्ने कार्यदेखि पटका तथा आतिसबाजी गर्ने कार्यहरुलाई न्यूनिकरण गर्न आवश्यक छ । जसले गर्दा आगलागी, चोटपटक जस्ता घटनाहरु घट्न सक्छन् भने त्यसबाट हुने भीडभाडबाट कोरोनाको जोखिम बढ्न सक्ने भएकाले परम्परालाई जोगाइ राख्न सरल तरिकाले तिहार मनाउन आवश्यक छ । हाम्रो तर्फबाट पनि तिहारको मंगलमय शुभकामना सबै–सबैलाई ।