Loading... आजः १४ बैशाख २०८१, शुक्रबार । Friday 26th April 2024

ज्योतिष ज्ञानः राशी तत्व बोध

मेरा पाठकहरुलाई ज्योतिष सम्बन्धी ज्ञानहरु दिने उद्देश्यले फरक फरक विषयवस्तुहरु प्रस्तुत गर्ने गरेको छु । यस पटक केही मुहुर्त र बारम्बार मान्छेको मनमा खड्किने कुराहरुलाई उल्लेख गर्ने जमर्को गरेको छु ।

ज्यो. खगेन्द्र अधिकारी

ज्योतिषशास्त्रमा उल्लेख भए अनुसार हामीले चारवटा युगहरु यो ब्रह्माण्डमा घुमिरहेका हुन्छन् । सत्य, त्रेता, द्वापर र कलि । यी चार युगका आयूहरु फरक फरक छन् । सबैभन्दा छोटो आयू भएको युग नै कलियुग हो ४ लाख ३२ हजार वर्ष कलियुगको आयू छ । त्यसको दोब्बर अर्थात् ८ लाख ६४ हजार वर्ष त्रेतायुगको आयु छ भने त्यसमा कलियुगको आयू समेत जोडेर द्वापर युगको आयू १२ लाख ९६ हजार वर्ष हुन्छ । सबैभन्दा बढि आयु भएको सत्ययुग हो जसको आयू १७ लाख २८ हजार वर्ष बताइएको छ । हामी कलियुगमा छौ । कलियुगलाई पापीयुगको रुपमा समेत चर्चा गर्ने गरिन्छ ।

कलियुगमा मान्छेहरुको मन धर्म र विश्वासमा भन्दा पनि आँखा अगाडि देखिने वस्तु र पापकर्ममा जाने गर्दछ भनिएको छ । मान्छेले विज्ञानलाई आधार मानेर अनेक तर्क विकर्तहरु गर्ने गर्दछन् । तर त्यही विज्ञानको जन्म कहाँबाट भएको हो भन्ने कुरालाई विचार गर्नै सक्दैनन् । यदि बेद नहुँदो हो त आज विज्ञान हुने थिएन । ज्ञान भनेको बेद हो र त्यसको कार्यान्वयन अर्थात् प्रयोग भनेको विज्ञान हो । कलियुगको सुरुवात भएको धेरै भएको छैन । ४ लाख ३२ हजार वर्षको आयू भएको कलियुगको भरखरै ५ हजार १२२ वर्ष मात्र व्यतित भएको छ । सायद यति थोरै वर्ष मात्र गएकाले होला अझै त केही धर्मका कुरा आस्थाका कुरामा मान्छेको मन जाने गरेको छ । तर जब साँच्चिकै घोर कलि अर्थात् मध्य कलि आउला त्यसपछि यो संसार कस्तो होला अझै भन्ने हो भने कलियुगको समाप्ति हुने समय आयो भने कस्तो होला कल्पना गर्दापनि मनमा निकै डर लाग्छ ।

यो कलियुगमा ज्योतिष प्रमाणले कुनैपनि जातकको दशा कुन दशाबाट विचार गर्ने वा गर्नुपर्दछ भन्ने कुरालाई यसरी उल्लेख गरिएको छः
कलिकाले विशेषण विचार्या योनिी दशा
तस्य विज्ञान मात्रेण फलं बाच्यंशुभाशुभम् ।

अर्थात् कलियुगमा विशेष गरी योगिनी दशालाई ध्यानमा राखेर शुभाशुभ फलको विचार गर्नु उत्तम हुनेछ । मैले यो भन्दा अघिल्लो लेखमा योगिनी दशा निकाल्ने विधि त्यसको फलसमेतको बारेमा उल्लेख गरिसकेको छु ।

मैले व्यवहारिक रुपमा काम गर्दै गर्दै गर्दा धेरै प्रश्नकर्ताहरुले मलाई कुन रंग शुभ हुन्छ । मैले कुन रंगको पत्थर भएको औठी लगाउनु पर्दछ ? जस्ता प्रश्नहरु आउने गर्दछन् । त्यसैले मेरो मनमा के लाग्यो भने यो सामान्य कुरालाई सबै पाठकले बुझ्ने शैलीमा यहाँ उल्लेख गरिदिएपछि सबैको जिज्ञासाको सम्बोधन होला । यही सोचका साथ राशी र रंगको बारेमा पनि उल्लेख गर्न गइरहेको छु ।

मेष, सिंह र बृच्छिक राशी राता वर्णका हुन्छन् । बृष, कर्कट र तुला राशी सेता वर्णका हुन्छन् । मिथुन, धनु र मीन राशी पहेला वर्णका हुन्छन् भने कन्या, मकर र कुम्भ राशी काला वर्णका हुन्छन् । यी राशी समेत फरक फरक वर्णका हुने भएकाले यी राशी हुनेहरुका लागि शुभ रंग पनि फरक फरक हुने नै भए । राशी र त्यसको शुभरंगसँगै ती राशीका स्वामीपनि उल्लेख गर्नु अझ सान्दर्भिक हुन्छ होला ।

मेष राशीका स्वामी मंगल हुन् । त्यसैले मेष राशी हुनेहरुका लागि रातो रंग शुभ हुने गर्दछ भने मुगा नामक रत्न यो राशीका लागि शुभ रहन्छ । वृष राशीका स्वामी शुक्र हुन् । यो राशी हुनेहरुका लागि सेतो रंग शुभ हुन्छ भने हिरा नामक रत्न शुभ यो राशीलाई शुभ रहन्छ । मिथुन राशीका स्वामी बुध हुन् । यो राशीका लागि हरियो रंग शुभ रहन्छ भने पन्ना नामक रत्न शुभ रत्न हुन्छ । यसैगरी कर्कट राशीका स्वामी चन्द्रमा हुन् । कर्कट राशी हुनेहरुका लागि सेतो रंग शुभरंग मानिन्छ भने मोति नामक रत्न शुभरत्न मानिएको छ । सिंह राशीका स्वामी सूर्य हुन् । सिंह राशी हुनेहरुका लागि रातो रंग शुभ रंग हो भने माणिक्य शुभरत्न हो । कन्य राशीका स्वामी बुध हुन् । यो राशी हुनेहरुका लागि हरियो रंग शुभरंग हो भने पन्ना नामक रत्न यस राशीका लागि शुभ रहन्छ । तुला राशीका स्वामी शुक्र हुन् । तुला राशी हुनेहरुका लागि सेतो रंग शुभरंग हो भने हिरा शुभ रत्न हो । बृच्छिक राशीका स्वामी मंगल हुन् । यो राशी हुनेहरुका लागि रातो रंग शुभ मानिएको छ भने म्ँगा शुभरत्न मानिएको छ । धनु राशीका स्वामी बृहस्पति हुन् । धनु राशी हुनेहरुका लागि शुभरंग पहेलो हो भने पुष्पराज नामक रत्न शुभरत्न मानिएको छ । यसैगरी मकर राशीका स्वामी शनि हुन् । मकर राशी हुनेहरुका लागि कालो रंग शुभ रहन्छ भने नीलम नामक रत्न शुभरत्न मानिएको छ । कुम्भ राशीका स्वामी शनि हुन् । कुम्भ राशी हुनेहरुका लागि पनि कालो रंग नै शुभरंग र नीलम नै शुभरत्न मानिएको छ । यसैगरी बाह्रौ नम्बरमा आउने राशी मीन हो । मीन राशीका स्वामी बृहस्पति हुन् । मीन राशी हुनेहरुका लागि पहेलो रंग शुभ मानिएको छ भने पुष्पराज नामक रत्नलाई शुभ मानिएको छ ।

राशी र तिनका स्वामी तथा शुभरंग र रत्नका बारेमा स्पष्ट किन पारिएको हो भने हामी जुन जुन राशी छौ । अथवा हाम्रो राशी जुन छ हामीले त्यही चीजको प्रयोग गर्नुपर्दछ । त्यसो गरिएको खण्डमा हामीलाई यात्रामा सहज, कार्यमा सफलता र मनमा सन्तोष मिल्ने निश्चित छ । हाम्रो राशी अनुसारको रंग भएको पूरा नभएपनि थोरै कतै भएको कपडा लगाउनाले हामीलाई ग्रहले रक्षा गरिरहेका हुन्छन् । हाम्रो सवारी साधनमा पनि त्यस्तो रंग मिसिएको हुन आवश्यक छ । अनि हामी जुन पायो त्यही रग अथवा रत्न भएको औठीहरु प्रयोग गरिरहेका हुन्छौ । तर आफ्नै राशी अनुसारको रत्न प्रयोग भएको औठी प्रयोग गर्नु उपयुक्त हुन्छ ।

राशीहरु ह्रस्व, दीर्घ तथा सम हुन्छन् । पुरुष तथा स्त्री रुपमा हुन्छन् । चर तथा स्थिर हुन्छन् अथवा दुबै स्वभावका कहिले चल्ने कहिले स्थिर रहने खालका हुन्छन् । कोही नारीको स्वभाव पुरुषको जस्तो हुन्छ भने कोही पुरुषको स्वभाव नारीको जस्तो हुन्छ । कतिपय नारीहरु हक्की, निडर, बलवान हुन्छन् भने कतिपय पुरुषहरु पनि डरपोकुवा, निकै शालिन र निर्बल अथवा कमजोर मनोभावका हुन्छन् । यसमा लैङ्गिक रुपमा भेदभावको कुरा उठान गर्न खोजिएको नभई ग्रह र त्यसको स्वभावका कारण राशी अनुसारका भेदहरुको बारेमा स्पष्ट पार्न खोजिएको हो ।

मेष, बृष र कुम्भ राशी ह्रस्व हुन्छन् । मिथुन, कर्कट, धनु, मकर र मीन राशी सम हुने गर्दछन् । यसैगरी सिंह, कन्या, तुला र बृच्छिक राशी दीर्घ हुने गर्दछन् । मेष, मिथुन, सिंह, तुला, धनु र कुम्भ राशी पुरुष राशी हुन भने बृष, कर्कट, कन्या, बृच्छिक, मकर र मीन राशी स्त्री राशी हुन् । यसैगरी मेष, कर्कट, तुला र मकर राशी चर राशी हुन् भने वृष, सिंह, बृच्छिक, कुम्भ स्थिर राशी हुन् । तर मिथुन, कन्या, धनु र मीन द्विस्वभाव भएका राशी हुन् ।

जसरी हामी राशीको बारेमा जानकारी राख्छौ त्यसरी नै घातको बारेमा पनि जानकारी राख्न आवश्यक छ । कुनैपनि शुभ कार्य गर्दा, टाढाको यात्रा गर्दा, नयाँ कामको थालनी गर्दा यी घात राशी, घात तिथि आदिको बारेमा जानकारी राख्न आवश्यक छ । हामीले यसको कुनै मतलब गरेनौ भने हाम्रा कार्यमा विघ्न बाधा पर्न सक्छ । कतिपय साइतहरु यस्ता हुन्छन् जुन साइत नै मान्छेका अन्तिम साइत बन्न पुग्दछन् । यात्रा गर्दा आफूभन्दा ठूलाको आर्सिरवाद, आफ्ना कूल इष्टदेवहरुको स्मरण अनि भूमि सोधनम् गर्नै पर्छ । जब जानौ केही घात अर्थात नराम्रो पक्षको बारेमा ।

मेष राशीलाई प्रथम प्रहर घात हुन्छ । वव करण घात हुन्छ । मघा नक्षत्र घात हुन्छ । विष्कुम्भ योग घात हुन्छ । आइतबार घात हुन्छ । नन्दा तिथि घात हुन्छ । कार्तिक मास (महिना) घात हुन्छ ।

बृष राशीलाई चतुर्थ प्रहर घात हुन्छ । शकुनी करण घात हुन्छ । हस्ता नक्षत्र घात हुन्छ । शुक्ल योग घात हुन्छ । शनिबार घात हुन्छ । पूर्णा तिथि घात हुन्छ । मंसिर मास (महिना) घात हुन्छ ।

मिथुन राशीलाई तृतीय प्रहर घात हुन्छ । चतुष्पद करण घात हुन्छ । स्वाती नक्षत्र घात हुन्छ । परिध योग घात हुन्छ । सोमबार घात हुन्छ । भद्रा तिथि घात हुन्छ । आषाढ मास (महिना) घात हुन्छ ।

कर्कट राशीलाई प्रथम प्रहर घात हुन्छ । नाग करण घात हुन्छ । अनुराधा नक्षत्र घात हुन्छ । व्याघात योग घात हुन्छ । बुधबार घात हुन्छ । भद्रा तिथि घात हुन्छ । पौष मास (महिना) घात हुन्छ ।

सिंह राशीलाई प्रथम प्रहर घात हुन्छ । वव करण घात हुन्छ । मूल नक्षत्र घात हुन्छ । धृति योग घात हुन्छ । शनिबार घात हुन्छ । जया तिथि घात हुन्छ । ज्येष्ठ मास (महिना) घात हुन्छ ।

कन्या राशीलाई प्रथम प्रहर घात हुन्छ । कौलव करण घात हुन्छ । श्रवण नक्षत्र घात हुन्छ । शुल योग घात हुन्छ । शनिबार घात हुन्छ । पूर्णा तिथि घात हुन्छ । भाद्र मास (महिना) घात हुन्छ ।

तुला राशीलाई चतुर्थ प्रहर घात हुन्छ । तैतिल करण घात हुन्छ । शतभिषा नक्षत्र घात हुन्छ । शुल योग घात हुन्छ । विहीबार घात हुन्छ । रिक्ता तिथि घात हुन्छ । माघ मास (महिना) घात हुन्छ ।

वृच्छिक राशीलाई प्रथम प्रहर घात हुन्छ । गर करण घात हुन्छ । रेवती नक्षत्र घात हुन्छ । व्यतिपात योग घात हुन्छ । शुक्रबार घात हुन्छ । नन्दा तिथि घात हुन्छ । आश्विन मास (महिना) घात हुन्छ ।

धनु राशीलाई प्रथम प्रहर घात हुन्छ । तैतिल करण घात हुन्छ । भरणी नक्षत्र घात हुन्छ । ब्रज योग घात हुन्छ । शुक्रबार घात हुन्छ । जया तिथि घात हुन्छ । श्रावण मास (महिना) घात हुन्छ ।

मकर राशीलाई चतुर्थ प्रहर घात हुन्छ । शुकनी करण घात हुन्छ । रोहिणी नक्षत्र घात हुन्छ । वैधृति योग घात हुन्छ । मंगलबार घात हुन्छ । रिक्ता तिथि घात हुन्छ । वैशाख मास (महिना) घात हुन्छ ।

कुम्भ राशीलाई तृतीय प्रहर घात हुन्छ । किंश्तुष्न करण घात हुन्छ । आद्र्रा नक्षत्र घात हुन्छ । गण्ड योग घात हुन्छ । बिहीबार घात हुन्छ । जया तिथि घात हुन्छ । चैत्र मास (महिना) घात हुन्छ ।

मीन राशीलाई प्रथम प्रहर घात हुन्छ । चतुष्पद करण घात हुन्छ । अश्लेषा नक्षत्र घात हुन्छ । विष्कुम्भ योग घात हुन्छ । शुक्रबार घात हुन्छ । पूर्णा तिथि घात हुन्छ । श्रावण मास (महिना) घात हुन्छ । सबैलाई आफ्नै राशी भएको राशी घात हुने गर्दछ ।

सन्दर्भ सामग्रीः ज्योतिःसार शिरोमणी, बेला पञ्चाङ्ग ।