Loading... आजः ८ बैशाख २०८१, शनिबार । Saturday 20th April 2024

ज्योतिषज्ञानः बालक जन्मफल

कुनैपनि घरमा बच्चाको जन्म हुने भयो । अथवा श्रीमती बुहारी गर्भिणी भइन् । अब घरमा बच्चा जन्मने पक्कापक्की भयो भने खुसीका किरणहरु छाउन सुरु भइहाल्छ । त्यो हुने नै भयो । स्वभाविक पनि हो । घरमा नयाँ सदस्यको आगमन हुने भयो । तर त्यही खुसी भित्र एउटा चिन्ताले पनि सताइरहेको हुन्छ । बच्चा सजिलै जन्मने हो वा होइन । अनि बच्चा कस्तो जन्मने हो । किनभने कतिपय बच्चाहरु सहज ढंगले जन्म लिन सक्दैनन् । आमाले निकै कष्ट भोग्नुपर्दछ । अप्रेसन नै गर्नुपर्ने हुनसक्छ एउटा चिन्ता । अर्कोतिर कतिपय बच्चाहरु अपाङ्ग पनि जन्मने गर्दछन् । तर पछिल्लो समयमा विकास भएको भौतिक विज्ञानको चमत्कारले मान्छेलाई सहज बनाइदिएको छ । अब डराउनु पर्ने अवस्थाको अन्त्य हुँदैछ । किनकी सहज रुपमा बच्चा जन्मन सकेन भने डाक्टरहरुले अप्रेसन गरेर भएपनि आमा बच्चा दुबैलाई बचाउन सक्छन् । बच्चाको अवस्था कस्तो छ भन्ने कुरा प्रविधिको प्रयोग गरेर पेटभित्रै हेरिदिन्छन् ।

ज्यो. खगेन्द्र अधिकारी

बच्चाले जन्मलिइ सकेपछि त्यसको जन्मफलको बारेमा ज्योतिष विज्ञानले फलादेश गर्ने गर्दछ । पाठकहरुलाई लाग्न सक्छ यो हिन्दु धर्ममा अझ सनातनीहरुमा मात्र हो तर ज्योतिष विधा भनेको विज्ञान भएकाले यो सबै धर्म तथा समुदायमा लागु छ । तरिका केही फरक होलान् । विधि केही फरक होलान् तर सुत्र त एउटै हो । किनकी विकासको दृष्टिले निकै अघि बढिसकेको चीनमा पनि ज्योतिष विज्ञानका बारेमा चर्चा छ भने अमेरिका, बेलायत जस्ता देशहरुमा पनि यो विज्ञानको प्रभावमा कमी छैन । त्यसैले यसलाई सहस्र सबैले स्वीकार गरेका छन् ।

अब मुख्य विषयवस्तु तिर लागौं । कुनैपनि बच्चाको समय भइसकेपछि त्यो बच्चा भविष्यमा कस्तो बन्दछ भन्ने बारेमा खुल्दुली त हुने नै भयो । त्यो खुल्दुली मेटाउनका लागि एउटा मात्र उपाय भनेको उसले जन्मसमयमा कुन ग्रहहरु कस्तो अवस्थामा थिए र तिनीहरुले उसको जीवनमा कस्तो प्रभाव पार्दछन् । यहीबाट सुरु हुने गर्दछ उसको जीवनको । ज्योतिष विज्ञान अनुसार ऊ कुन तिथिमा जन्म्यो । कुन योगमा जन्म्यो । कुन करणमा जन्म्यो । कुन नक्षत्रमा जन्म्यो । नक्षत्रको पनि कुन चरणमा जन्म्यो । उ जन्मिदा ग्रहहरु कुन कुन स्थानमा थिए भन्ने कुरा नै प्रमुख कुरा हो । पाठकहरुले बुझ्नुपर्ने मुख्य कुरा के छ भने जहाँ समस्या हुन्छ त्यहाँ समाधान हुन्छ । त्यसैले समस्या भयो भन्दैमा आत्तिनु पर्ने होइन तर सोचिनय ढंगले अगाडि बढ्न आवश्यक छ । यिनै विषयमा यस लेखमा पाठकहरुलाई केही जानकारी दिने योजना बनाइएको छ ।

पूर्णा तिथिको पछिल्लो २ घडी र नन्दा तिथिको शुरुको २ घडीमा तथा क्षयतिथिमा बच्चा जन्मेमा अशुभ हुन्छ भनिएको छ । यसैगरी अश्लेषा, ज्येष्ठा तथा रेवती नक्षत्रको पछिल्लो ५ घडी, अश्विनी, मघा, मूल नक्षत्रको शुरुको ५ घडी, भरुणी नक्षत्रको पहिलो र दोस्रो चरण, हस्ता नक्षत्रको तेस्रो चरण, चित्रा नक्षत्रको तेस्रो चरण, उत्तरफाल्गुनीको पहिलो चरण तिष्यको पहिलो र दोस्रो चरण गण्डान्त हुन्छ अर्थात दोषि हुन्छ । यसैगरी कर्कत, बृच्छिक र मीन लग्नको पछिल्लो आधा घडी र मेष, सिंह, तथा धनु लग्नको शुरुको आधा घडी गण्डान्त हुन्छ । यी तीनै गण्डान्त जन्म, ब्रतबन्ध, विवाह, यात्रादि कार्यहरुमा मृत्यूप्रद अर्थात मृत्यु समान पीडा दिने हुन्छन् ।

तपाईं हामी कतिलाई थाह छ जानेका छौ, सुनेका छौ, देखेका छौ । कसैको बच्चालाई मूल जन्मेको छ, लात जन्मेको छ अथवा दोष जन्मेको छ भन्दै कालो बोका काट्नेहरु पनि छन् । मूल शान्ति विधि, दोषशान्ति विधि कसरी गर्नुपर्छ भन्ने बारेमा ध्यान छैन तर बोका काट्न हतार छ त्यो किन ? पाठकहरु आफै बुझुन्हुन्छ मैले लेखिरहन पर्दैन । सबभन्दा पहिले मूलको बास कहाँ छ भन्ने कुरा जान्न आवश्यक छ । आषाढ, भाद्र, आश्विन र माघमा मूलको बास स्वर्गमा हुन्छ । श्रावण, कार्तिक, पौष र चैत्रमा मूलको बास पृथ्वीमा हुन्छ । वैशाख, जेष्ठ, मंसिर र फाल्गुनमा मूलको बास पातालमा हुन्छ । जुन महिनामा मूलको बास पृथ्वीमा छ त्यो महिनामा मूल नक्षत्रको ३६ घडी भित्र जन्मेको ६० घडीमा जन्मेको बच्चाको विधिपूर्वक मूलशान्ति गर्नुपर्दछ । तर ४८ घडीदेखि पछाडि ५७ घडीको बीचमा जन्मेको बच्चाको मूल शान्ति गर्नुपर्दैन । यो बीचको समयमा जन्मेको बच्चा राज्यप्राप्ति गर्ने योगको, मन्त्री हुने योगको र अधिक लक्ष्मी प्राप्ति गर्ने योगको हुन्छ ।

ज्योतिष विज्ञानमा रेवती, अश्विनी, अश्लेषा, मघा, ज्येष्ठा, र मूल नक्षत्रलाई गण्डमूल नक्षत्रको रुपमा व्याख्या गरिएको छ । तरपनि यी गण्डमूल नक्षत्रका केही चरण भने शुभाशुभ हुने गर्दछन् । जस्तैः रेवती नक्षत्रको पहिलो, दोस्रो र तेस्रो चरण शुभ हुन्छ भने चौथो चरण मात्र अनेक कष्ट दिने हुन्छ । अश्विनीको पहिलो चरण पितालाई अशुभ हुन्छ भने अरु तीन चरण दोस्रो, तेस्रो चौथो शुभ रहन्छन् । अश्लेषाको पहिलो चरण शुभ रहन्छ भने दोस्रो चरण धनहानी, तेस्रो चरण मातालाई हानी चौथो चरण पितालाई हानी दिने हुन्छ । मघा नक्षत्रको पहिलो चरण मातालाई कष्ट, दोस्रो चरण पितालाई कष्ट, तेस्रो र चौथो चरण शुभ रहन्छ । यसैगरी ज्येष्ठाको पहिलो चरण दाजुलाई कष्ट, दोस्रो चरण भाइलाई कष्ट, तेस्रो चरण मातालाई कष्ट दिने हुन्छ भने चौथो चरण आत्मविनाश गर्ने हुन्छ । मूल नक्षत्रको पहिलो चरण पिता कष्ट दोस्रो चरण माता कष्ट हुन्छ भने तेस्रो चरणले धन हानी गर्दछ तर चौथो चरण शुभ रहन्छ ।

ग्रहहरुको प्रभाव अर्थात् ग्रहले दिने फल भनेको आँखामा कसिङ्गर परे झैँ तत्काल असर गर्ने होइन । यसले त विद्या, बुद्धि र कर्मलाई प्रभावित पार्ने गर्दछ । विद्या भनेको पढाइ लेखाइमा समेत प्रभावित हुनु, बुद्धि भनेको बोलाईमा समेत प्रभावित हुनु हो भने कर्म भनेको चाहेर वा नचाहेर पनि राम्रो नराम्रो काममा लाग्नु हो । माथि गण्डान्त नक्षत्रहरुको बारेमा बताइसकेपछि त्यसले कुन उमेरमा खास असर गर्ने खालको हुन्छ भन्ने कुराको स्पष्ट गरिएन भने यो लेख अधुरो हुनसक्छ भन्ने लाग्यो । त्यसैले त्यसको ज्ञानको बारेमा पनि केही चर्चा गरौं ।

अश्विनी नक्षत्रको पहिलो चरणको १६ वर्ष, मघाको पहिलो चरणको ८ वर्ष, ज्येष्ठाको १ वर्ष, चित्राको ४ वर्ष, अश्लेषाको २ वर्ष, रेवतीको १ वर्ष, उत्तरफाल्गुनीको २ महिना, तिष्यको ३ महिना र हस्ताको १२ वर्षको आसपासको समयमा गण्डान्तको अवस्था अनुसार प्रभाव पर्दछ ।

यी समस्याहरु भए । अझ भन्ने हो भने जन्म समय अनुसार ग्रहहरुको अवस्था भए । तिथि गण्डान्त, नक्षत्र गण्डान्तको बारेमा उल्लेख गरियो । अब त्यसको शान्ति विधिको बारेमा पनि उल्लेख गर्नु आवश्यक छ । गण्डान्त नक्षत्र भित्र बच्चा जन्मेमा न्वारनमा वा छिटै शुभ साइत हेरी गण्डान्तको शान्ति गर्नुपर्दछ । शान्ति नगरेसम्म बालकको जीवन कष्टदायक हुने गर्दछ । अश्लेषा, ज्येष्ठा र मूल नक्षत्रको गण्डान्त विशेष पीडादायी हुने भएकाले विधिपूर्वक शान्ति गर्नु आवश्यक छ । यहाँ शान्ति गरिदिनु हुने ज्योतिष पण्डितहरुले पनि ध्यान दिनु पर्ने के छ भने नक्षत्र गण्डान्त भए नक्षत्रेशको, लग्न गण्डान्त भए लग्नेशको र तिथि गण्डान्त भए तिथिको मालिकको सुनको प्रतिमा बनाई कलश माथि राखेर ईन्द्र, वरुणदेवता तथा शिवजीको पूजा गरी महामृत्यूञ्जय मन्त्रले जप तथा हवन गरी कलशको जलले परिवारको साथमा बच्चाको अभिशेष गरिदिनु पर्दछ ।


सबै तिथिका आ–आफ्नै मालिकहरु छन् । जस्तै प्रतिपदाको अग्नी, द्वितीयाको ब्रह्मा, तृतीयाको गौरी, चतुर्थीको गणेश, पञ्चमीको नाग, षष्ठीको कार्तिकेय, सप्तमीको सूर्य, अष्टमीको शिव, नवमीको काली दुर्गा, दशमीको यमराज, एकादशीको विश्वेदेव, द्वादशीको विष्णु, त्रयोदशीको कामदेव, चतुर्दशीको शिव, पूर्णिमाको चन्द्रमा र औसीको पितृ मालिकको रुपमा रहेका छन् । यसैगरी नक्षत्र गण्डान्त भएमा नक्षत्रका पनि स्वामी देवता तथा स्वामी ग्रहहरु छन् । जस्तैः अश्विनी नक्षत्रको स्वामी ग्रह केतु हुन् भने स्वामी देवता अश्विनीकुमार हुन् । भरुणीका स्वामी ग्रह शुक्र हुन् भने स्वामी देवता यमराज हुन् । कृतिकाका स्वामी ग्रह सूर्य हुन् भने स्वामी देवता अग्नी हुन् यसरी २८ नक्षत्रका फरक फरक स्वामी ग्रह र स्वामी देवताहरु छन् ।

कुनै बालकको कृष्ण चतुर्दशीमा जन्म भएको छ भने उसको जन्मकुण्डलीमा सूर्य र चन्द्रमा दुबै ग्रह योगकारक स्वरुपका भएमा कृष्ण चतुर्दशी तिथिले कसैलाई पनि पीडा दिँदैन । तर चन्द्रमा कमजोर भएर बसेको छ भने बालकले शुद्ध मोति धारण गर्नले केही शान्ति मिल्दछ । यसैगरी अमावस्या तिथिमा जन्मेका बालकको जीवन संघर्षमय हुन्छ । किनकी त्यो दिन चन्द्रमा अस्त भएका हुन्छन् । चन्द्रमा भनेका प्रकाश दिने हुन् । प्रकाश नै छैन भने जीवन संघर्षमय हुने नै भयो । प्रायः यस्ता बालकहरुले मातापितालाई कष्ट दिने, दरिद्र हुने, आफ्नो जीवनपनि कष्टकर हुने, विवाहपछि श्रीमान श्रीमतीका बीचमा पनि कष्टमय जीवन व्यतित हुने गर्दछ । यस्ता बालकको जन्मकुण्डलीमा सूर्य र चन्द्रमा दुबै वा कुनै एक ग्रह मारक ग्रहको रुपमा बसेका भए अमावस्याको शान्ति विधि गर्न आवश्यक छ । सूर्य वा चन्द्र ग्रहण लागेको समयमा बालकको जन्म भएमा त्यो बालक रोगी, दुःखी, दरिद्र मात्र होइन अल्पायू समेत हुने कुरा ज्योतिष विज्ञानले उल्लेख गरेको छ । ग्रहण लागेको समयमा जन्मेको बालकको जन्मकुण्डलीको कुनै पनि भावमा सूर्य र चनद्रमासँग राहु वा केतु बसी ग्रहण योग बनेमा राहु र केतुको शक्ति अनुसार सम्बन्धित भावको शुभ फल नष्ट गरिदिन्छ । त्यसैले यस्तो अवस्थामा पनि शान्ति गर्नु आवश्यक छ ।

अर्को बारम्बार सोधिने प्रश्न के हो भने बच्चाको दाँत कुन महिनामा आए के हुन्छ ? त्यसको बारेमा ज्योतिष विज्ञानका अनुसार बच्चा आमाको पेटमै दाँत आएको अर्थात् जन्मदै दाँत उम्रेको जन्मेपछि वा जन्मेकै महिनामा दाँत आएमा बालक स्वयम् र कूलमा अनिष्ट हुन्छ । यदि कुनै बालकको जन्मेको दोस्रो महिनामा दाँत उम्रेमा भाइलाई, तेस्रो महिनामा दाँत उम्रेमा दिदीबहिनीलाई, चौथो महिनामा दाँत उम्रेमा आमा र पाँचौ महिनामा दाँत उम्रेमा दाजुलाई अनिष्ट गर्दछ । छ महिनादेखि १० महिनाको उमेरमा दाँत उम्रेमा अत्यन्त शुभ मानिन्छ । अशुभ समयमा दाँत उम्रेमा अनिष्ट नहोस् भन्नका लागि पूर्ण संकल्पसहित अग्निस्थापना विधिले यज्ञ स्थापना गरी दियो, कलश, गणेश देवताको पूजासहित रुद्री तथा चण्डी पाठ, महामृत्यूञ्जय जप तथा हवन गरी बालिक सहित सबै परिवारमा शान्ति कलश तथा रुद्रीको जलले अभिषेक गर्नुपर्दछ । उक्त बालकलाई हात्ति चढाउनु वा डुङ्गा चढाउनु पर्दछ । ब्राह्मणलाई भोजन गराउनु पर्दछ । कुनै बच्चाको माथिल्लो भागमा पहिलो पटक दाँत उम्रेमा मामालाई कष्ट दिने हुन्छ । त्यसको शान्तिको लागि सुन चाँदी तामा वा काँसको पात्रलाई सही भातले भरेर शिशुको हातमा राखिदिनु पर्दछ । शिशुको हातमा राख्न भन्दा पहिले ‘हे भान्जा वा भान्जी तिमीले मेरो र मेरा सम्पूर्ण कूलको रक्षा गर । यो दहीभातसहितको अन्नपात्र ग्रहण गरी म माथि प्रशन्न होऊ । तिमीले निविघ्न रुपमा मेरो कल्याण गर । आफ्नी आमाको कल्याण गर ममा आफ्नो आत्म राखी मेरो साथमा धेरै वर्षसम्म बाँच’ भन्नु पर्दछ । यसरी शान्ति कर्म र प्राथना गरेपछि कुनै विघ्न हुँदैन भन्ने शास्त्रिय मान्यता छ । (ज्योतिष चिन्तामणी, बृहद्ज्योातिःसार, ज्योतिष शिरोमणी सन्दर्भ सामग्रीको रुपमा रहेका छन् । लेखक)