Loading... आजः ८ जेष्ठ २०८१, मंगलवार । Tuesday 21st May 2024

वौद्धिक विकास कहिले ?

भौतिक विकास हुनका लागि बौद्धिक विकास हुन जरुरी छ । प्रविधिको विकासका लागि बौद्धिक विकास हुन जरुरी छ । बौद्धिक विकास विना प्रविधिको विकास हुन सक्दैन भने प्रविधिको विकास विना भौतिक विकास हुन सक्दैन । विज्ञानले निकै फड्को मारिसकेको अवस्थामा पनि बौद्धिक विकास र प्रविधिको विकास हाम्रो देश किन पछि परिरहेको छ ? हामीले अन्य देशहरु जस्तै किन विकासको गतिमा फड्को मार्न सकिरहेका छैनौं ? यी प्रश्नहरुको उत्तर हाम्रै वरिपरी छन् तर हामीले त्यसलाई टिप्न सकिरहेका छैनौ । देशले संघीयताको अभ्यास गरेको पनि पाँच वर्ष पुग्न थालिसक्यो । प्रदेश सरकारको एक कार्यकाल पुरा हुन थालिसक्यो । कर्णालीलाई संस्कृतिको धनि, भाषाको उद्गमस्थल र विविधतामा एकता भएको प्रदेशको रुपमा परिभाषित गर्नेहरुको कमी छैन । कर्णाली प्रदेश सरकार निर्माण भएपछि बौद्धिक विकासका क्षेत्रमा कर्णालीले के प्रगति गर्न सक्यो कसैले भन्न सक्ने अवस्था छैन ।

प्रदेश सरकार निर्माण भइसकेपछि यहाँ एउटा साहित्यिक प्रतिष्ठानको स्थापना होला । यहाँका विभिन्न भाषिकाहरुसँगै नेपाली भाषाको संरक्षण, सम्वद्र्धन र विस्तारका लागि कार्यहरु अघि बढ्लान् । यहाँका संस्कृति, प्राकृतिक र एतिहासिक विषयवस्तुका बारेमा खोज अनुसन्धान होला । त्यसलाई प्रशारण र प्रकाशनमा जोड दिइएला भन्ने ठूलो आशा गरेकाहरुको अझैसम्म पनि निराश अवस्थामा छन् । केवल बाटो बनाउनु, डोजर चलाउनु, उपभोक्ता समिति गठन गर्नु र भवनहरुको निर्माण गर्नुलाई विकास देख्नेहरुले बौद्धिकताको विकासमा ध्यान दिन सकेनन् ।

कर्णालीमा भएको रारा, काँक्रेविहार जस्ता प्राकृतिक सुन्दरतालाई भाषणमा मात्र समेट्ने अनि नेपाली भाषाको उद्गमस्थल जुम्लाको शिंजालाई नारामा मात्र सिमित गर्नेहरुले भाषा साहित्यका क्षेत्रमा सिन्को भाँच्न सकेनन् । जसका कारण यहाँको भाषा साहित्यको क्षेत्रमा कुनै काम हुन सकेन । भाषा साहित्यको विकास विना बौद्धिक विकास हुन सक्दैन भन्ने कुराको ज्ञानको अभाव हो वा इच्छाशक्ति नभएको हो ? स्वास्थ्यका लागि अस्पताल, हिड्नका लागि बाटो र बस्नका लागि घरको आवश्यकता भएजस्तै बोल्नका लागि भाषाको विकास र सभ्यताका लागि साहित्यको विकास गर्नुपर्छ भन्ने कुरालाई आत्मसाथ गर्नु जरुरी छ । किनकी हामीले भाषा र सभ्यतालाई नै बचाउन सकेनौ भने हाम्रो सन्ततीलाई हामीले कतातिर लैजादै छौ भन्ने कुरालाई बेलैमा सोच्नु पर्ने भयो । सरकारीस्तरबाट पहलकदमी नभई केवल निजी क्षेत्रबाट मात्र यसमा प्रगति हुन सक्दोरहेछन भन्ने कुरा स्पष्ट भइसकेको छ ।