Loading... आजः ९ बैशाख २०८३, बुधबार । Wednesday 22nd April 2026
ताजा खबर
  

विश्वविद्यालयको आम्दानी करिब एक अर्ब हुने अनुमान

सुर्खेत ।
उपकुलपति सिंहले चालु आर्थिक वर्षमा विश्वविद्यालयको आम्दानी करिब एक अर्ब हुने अनुमान गरेका छन् । विश्वविद्यालयको अनुदानमा वृद्धि, सञ्चालनमा रहेका तथा थप शैक्षिक कार्यक्रमबाट उठ्ने शुल्क, गुणस्तर सुनिश्चितता तथा स्वायत्तता अनुदान, अनुसन्धान तथा विकासबाट प्राप्त हुने शीर्षकहरुबाट चालु आर्थिक वर्षको अन्तिमसम्म ९९ करोड ८७ लाख २२ हजार रुपैयाँ आम्दानी हुने अनुमान गरिएको उनको भनाइ छ ।

उनका अनुसार चालु आर्थिक वर्षको खर्चका लागि अनुमान गरिएको बजेट नै विनियोजन गरिएको र विगतको वर्षभन्दा २४.०६ प्रतिशतले वृद्धि भएको सिंहको भनाइ थियो ।


डेढ वर्ष अघिमात्र उपकुलपति भएर आएका सिंहले विश्वविद्यालयको शैक्षिक स्तर उकास्ने, प्रशासन चुस्त–दुरुस्त राख्ने प्रयास गरेका छन् । जसका कारण उपकुलपति सिंहको कार्यकालमा विश्वविद्यालयले बजेट कार्यान्वयनको क्षेत्रमा उल्लेखनीय प्रगति हासिल गरेको छ ।

उपकुलपति सिंहको हालसम्मको कार्यकालमा विश्वविद्यालयले बजेट कार्यान्वयनको क्षेत्रमा राम्रो प्रगति गरेको छ । आर्थिक वर्ष ०७६/७७ मा विश्वविद्यालयको कुल आम्दानी ५२ करोड २५ लाख ९५ हजार थियो भने ०७७÷७८ मा आम्दानी वृद्धि भइ ५५ करोड १३ लाख ८६ हजार ६० रुपैयाँ भएको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ५.५१ प्रतिशत अर्थात् २ करोड ८७ लाख ९१ हजार ६० रुपैयाँ बढी हो ।

यस्तै आर्थिक वर्ष ०७७÷७८ मा विश्वविद्यालयको कुल बजेट ८० करोड ५० लाख १४ हजार थियो, जसमध्ये २६ करोड ४१ लाख ७७ हजार पुँजीगत र सञ्चालनतर्फ ५४ करोड ८ लाख ३७ हजार रुपैयाँ थियो । सो बजेटअन्तर्गत ५३ करोड २९ दाख ४२ हजार अर्थात् ६६.२० प्रतिशत कार्यान्वयन भएको छ । त्यसमध्ये पुँजीगत तर्फ ५६.०५ र सञ्चालनतर्फ ७१.१५ प्रतिशत बजेट कार्यान्वयन भएको छ ।

यस्तै गत आर्थिक वर्षमा विश्वविद्यालय अनुदान आयोगबाट प्राप्त पुँजीगत बजेट १५ करोडमध्ये १४ करोड ८० लाख ९२ हजार अर्थात् ९८.७२ प्रतिशत बजेट कार्यान्वयन गरिएको उपकुलपति सिंहले बताए । यस्तै गत आवमा विश्वविद्यालयको बेरुजु २६ करोड रहेकोमा अहिलेसम्म आइपुग्दा झण्डै ११ करोडभन्दा बढी रकम बेरुजु सम्परीक्षण भइसकेको सिंहको दाबी छ ।

विश्वविद्यालयको स्तरवृद्धिमा उपकुलपति सिंहको योजना
मध्यपश्चिम विश्वविद्यालयको ग्लोबल वरीयता ११ हजार ७०४ छ । उपकुलपति सिंहले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा उक्त वरीयता सुधारका लागि योजना बनाउनुपर्नेमा जोड दिए ।

‘हामीले त्यसका लागि अन्तर्राष्ट्रिय जर्नलहरुमा हाम्रा विद्यार्थी र प्राध्यापकहरूका आर्टिकल प्रकाशित गर्नुपर्छ । त्यसको प्रोत्साहन स्वरुप प्रतिलेख १० हजारका दरले उपलब्ध गराइने छ,’ उनले भने ।


यस्तै विश्वविद्यालयले ‘एमयु अवार्ड’ दिने भएको छ । राम्रो काम गर्नेलाई पुरस्कृत तथा नराम्रो काम गर्नेलाई दण्डित गर्ने नीति विश्वविद्यालयले लिएको बताउँदै उनले १५ विधाका ४० जनालाई ‘एमयु अवार्ड’ दिने घोषणा समेत गरे । अवार्डको राशि ५ हजारदेखि तीन लाख सम्मको छ । जसमा सामान्य कार्यालय सहयोगीदेखि डिनसम्म पुरस्कृत हुन सक्ने उनको भनाइ छ ।

उपकुलपति सिंहले विश्वविद्यालयको गरिमा उच्च राख्न र शैक्षिक क्षेत्रको विकासका लागि अबको केही महिनभित्रै विश्वका विभिन्न देशबाट २५ जना पिएचडी गरेको व्यक्तिलाई ल्याउन लागिएको जानकारी दिए ।