Loading... आजः ३ बैशाख २०८३, बिहीबार । Thursday 16th April 2026
ताजा खबर
  

ज्योतिष परिषद् कर्णाली प्रदेशले मनायो स्थापना दिवस

सुर्खेत ।
नेपाल ज्योतिष परिषद् कर्णाली प्रदेशले आफ्नो २४ औं स्थापना दिवस मनाएको छ । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा सुर्खेत शाखासँगको समन्वयमा ज्योतिष परिषद स्थापना दिवस मनाइएको ज्योतिष परिषद् सुर्खेतका अध्यक्ष धनऋषि उपाध्यायले बताउनु भयो ।

May be an image of 10 people, people standing and outdoors
स्थापना दिवसका अवसरमा शुभकामना मन्तव्य दिँँदै ज्योतिष परिषद कर्णाली प्रदेशका अध्यक्ष डा. गौरीशंकर शर्माले ज्योतिष भनेको बेदको आँखा भएकाले आँखाको रक्षा गर्न नसके संसार देख्न नसकिने बताउनु भयो । उहाँले भन्नुभयो, ‘ज्योतिष भनेको आँखा हो जसले संसारलाई देख्न सक्छ । त्यसैले कसैले मनगडण्ते कुरा गरेको भरमा ज्योतिषहरु कमजोर हुनुहुँदैन । विज्ञान सम्मत भएकाले ज्योतिष विधालाई कसैले पनि काट्न सक्दैन ।’

स्थापना दिवसको अवसरमा ज्योतिष परिषद कर्णाली प्रदेशका वरिष्ठ उपाध्यक्ष ढाकाराम अधिकारीले भन्नुभयो, ‘युवाहरुमा ज्योतिषको ज्ञान फैलाउन जरुरी छ । प्रविधिको विकासक्रमसँगै युवाहरुलाई ज्योतिषको ज्ञान दिन सकेको खण्डमा ज्योतिष विज्ञानको रक्षा गर्न सकिन्छ ।’ कार्यक्रममा शुभकामना मन्तव्य दिँदै यामप्रसाद अधिकारीले भन्नुभयो ‘अब पनि गुरुमुखको ज्योतिष शिक्षा मात्र होइन कर्णालीका यससँग आस्था राख्नेहरुलाई प्रशिक्षणको खाँचो छ ।’

May be an image of 7 people, people standing and outdoors
पछिल्लो समयमा धर्म परिवर्तनका नाममा सनातन धर्ममा मात्र होइन ज्योतिष विधामा समेत अप्रत्यक्ष रुपमा आक्रमण भइरहेको बताउँदै कर्णाली प्रदेशका महासचिव विष्णुप्रसाद अधिकारीले भन्नुभयो ‘लोभ र लालचमा परेर धर्म परिवर्तन गर्नेहरुबाट धर्मसँगसँगै ज्योतिष विज्ञानलाई समेत रक्षा गर्न आवश्यक छ ।’

स्थापना दिवसको अवसरमा ढाकाराम अधिकारी, रुपा कुमारी चलाउने, हरिप्रसाद प्याकुरेल, धर्मप्रसाद उपाध्याय, याम प्रसाद अधिकारी, टिकाराम लामीछाने, काँशीचन्द्र तिवारी, मणीराम अधिकारी र धनकृष्ण आचार्यलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा नेपाल ज्योतिष परिषदका केन्द्रिय सदस्य विकास पौडेल, प्रदेशका पदाधिकारी एवम् सदस्यहरु, विभिन्न जिल्ला शाखाका प्रतिनिधिहरु लगायतले शुभकामना राख्नु भएको थियो ।