अविधेशनका प्रतिनिधिहरु सक्षम हुनुहुन्छ : शर्मा
सुर्खेत ।
नेकपा एमालेको आठौं जिल्ला अधिवेशन चलिरहेको छ । उक्त अधिवेशनमा भाग लिनका लागि जिल्लाका साढे ६ सय भन्दा बढि प्रतिनिधिहरु यतिबेला वीरेन्द्रनगरमा छन् । एमालेको आठौं जिल्ला अधिवेशनमा आज (सोमबार) मतदानको कार्य तालिका भएपनि मतदान हुन सकेन । अधिवेशन निर्वाचन समितिका अनुसार समय अभावले मतदान प्रक्रियामा जान ढिलाई भएको बताइएको छ । यसैक्रममा जिल्ला अधिवेशनका लागि आउनु भएका प्रतिनिधिहरुले सक्षम नेतृत्व चयन गर्नुहुनेछ भन्ने विश्वास भएको जिल्ला कमिटि सदस्य खुला तर्फका उम्मेदवार नन्दलाल शर्माले बताउनु भयो ।
निर्वाचनमा होमिएका अध्यक्षका उम्मेदवारहरु डण्डीप्रसाद शर्मा र अमृत बिसी दुबैले आ–आफ्नो पक्षमा निर्वाचनको परिणाम आउने बताएपनि कसको पक्षमा परिणाम जान्छ यसै भन्न सकिने अवस्था छैन । दुवै पक्षका बीचमा कडा प्रतिस्पर्धा एकातिर छँदैछ भने अर्कोतिर निर्वाचन समितिले पनि तयारीका लागि केही समय लाग्ने भएकाले मतदानको प्रक्रियामा ढिलाई भएको हो । निर्वाचन समितिका अनुसार भोली (मंगलबार) विहान ९ बजेदेखि मतदान प्रक्रिया सुरु हुनेछ ।
जिल्ला कमिटि सदस्य खुला तर्फका उम्मेदवार नन्दलाल शर्माले भन्नुभयो, अधिवेशनमा आउनु भएका प्रतिनिधिहरु आफैमा नेता प्रतिनिधि हुनुहुन्छ । त्यसैले उहाँहरुले नेकपा एमाले पार्टीलाई एक नम्बर पार्टीको रुपमा सफल बनाउने उम्मेदवार छान्ने कुरामा कुनै शंका छैन । संगठन निर्माण, नेता कार्यकर्ताहरुको व्यवस्थापन गर्दै सबैलाई मिलाएर लैजाने नेतृत्व छान्न प्रतिनिधिहरु सक्षम हुनुहुन्छ भन्ने विश्वास छ । जुन नेकपा एमालेका लागि आजको आवश्यकता भएकोे शर्माले बताउनु भयो ।