मास्क नलगाए कारवाही हुन्छः प्रजिअ रिजाल
सुर्खेत ।
सुर्खेतमा मास्क नलगाएमा कारवाही हुने भएको छ । जिल्ला प्रशासन कार्यालय सुर्खेतले मास्क नलगाउने व्यक्तिलाई जरिवाना तिराएर कारवाही गर्ने भएको हो । जिल्ला प्रशासनका कार्यालय सुर्खेतका अनुसार यो नियम भोली (अर्थात् शनिवार) देखि लागु हुनेछ ।
‘अनुगमनबाट बुझ्दा अधिकांश नागरिक मास्क लगाउन अटेर गरेको पाइयो’ प्रजिअ रिजालले भन्नुभयो, ‘आज पहिलो चरणमा सम्झाई–बुझाई गरेका छौं । भोली शनिबारदेखि जरिवाना तिराउछौं ।’सरुवा रोग संक्रमण नियन्त्रण सम्बन्धी मापदण्ड बमोजिम मास्क नलगाउनेलाई जरिवाना तिराउने प्रजिअ रिजालले बताउनु भयो ।
कोभिड–१९ संक्रमण दर बढ्दै गएकोले संक्रमण रोकथामका लागि यसअघि नै जिल्लामा ‘स्मार्ट लकडाउन’ लागु गरिसकिएको छ । तरपनि मास्क लगाउन अटेर गर्ने गरेको पाइएपछि जरिवाना तिराउन बाध्य भएको प्रशासनले जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाल र जिल्ला प्रहरी प्रमुख एसपी पदमबहादुर विष्टसहितको टोलीले मास्क लगाए वा नलगाएको अनुगमन गरेको थियो । टोलीले बसपार्क, मंगलगढि चौक लगायतका स्थानमा अनुगमन गरी मास्क नलगाएका व्यक्तिलाई मास्क समेत वितरण गरेको छ ।
उक्त अनुगमनबाट अधिकांश नागरिकले कोभिड–१९ बेवास्ता गरी मास्क लगाउन अटेरी गरेको पाइएपछि भोलीदेखि जरिवाना तिराउन लागिएको प्रजिअ रिजालले जानकारी दिनुभयो ।






