आज शहीद दिवस : देश र जनताको लागि जीवन त्याग गर्ने शहीदको सम्मानमा ‘शहीद दिवस’ मनाइँदै
काठमाडौं ।
हुँदैन बिहान मिर्मिरमा तारा झरेर नगए
बन्दैन मुलुक दुईचार सपूत मरेर नगए
कवि भूपि शेरचनको एक कविताको अंशले हरेक दिन गगनका तारा झरेर अनि सूर्यको प्रकाशको पदार्पणसहित मान्छेले आफ्नो दैनिकी सुरु गरेजस्तै मुलुक बन्नका लागि पनि हरेक ऐतिहासिक कालखण्डमा वीर सपूतहरूको बलिदान चाहिन्छ भन्ने तात्पर्य बुझाउँछ ।
देश र जनताको अधिकारका निम्ति जीवन आहुति गर्ने शहीदप्रति सम्मान गर्दै आज देशभर शहीद दिवस मनाइँदै छ । नेपाली जनतालाई सार्वभौमसत्ता सम्पन्न नागरिक बनाउन जहानियाँ राणा शासन, निरंकुश पञ्चायती व्यवस्था तथा तानाशाही राजतन्त्रविरुद्ध प्रजातान्त्रिक क्रान्ति एवं लोकतान्त्रिक जनआन्दोलनहरूमा आफ्नो जीवनको बलिदान गरेका वीर सपूतहरूको सम्झनामा प्रत्येक वर्ष शहीद दिवस मनाइँदै आएको छ ।
गत सोमबारबाट शहीद सप्ताह सुरु भएको थियो । प्रजातन्त्र स्थापनाका लागि विभिन्न कालखण्डमा ज्यानको आहुति दिएका शहीदको सम्झनामा हरेक वर्ष १० देखि १६ माघसम्म विभिन्न कार्यक्रम गरी उनीहरूको योगदानको चर्चासहित शहीद सप्ताह मनाउने गरिन्छ । काठमाडौं महानगरपालिकाले शहीद शुक्रराज शास्त्रीको शालिकमा पुष्पगुच्छा अर्पण गरेर शहीद सप्ताहको सुरुवात गरेको थियो ।
२०१२ सालदेखि नै काठमाडौं महानगरपालिकाको संयोजकत्वमा प्रत्येक वर्ष शहीद सप्ताह मनाउन थालिएको हो । प्रजातन्त्र र स्वतन्त्रताको माग राखेका शुक्रराज शास्त्रीलाई १० माघ १९९७ मा काठमाडौंको टेकुस्थित पचलीमा मृत्युदण्ड दिइएको थियो । शहीद शास्त्रीलाई मृत्युदण्ड दिइएको दिन १० माघदेखि १६ माघसम्म शहीद सप्ताह मनाउने गरिएको छ ।
१३ माघमा धर्मभक्त माथेमालाई सिफलमा र गंगालाल श्रेष्ठ एवं दशरथ चन्दलाई १५ माघमा शोभा भगवतीमा तत्कालीन राणा शासकले मृत्युदण्ड दिएको थियो । वीर शहीदहरू शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गंगालाल श्रेष्ठको संघर्षमय जीवन र बलिदानको गाथा र प्रजातान्त्रिक आन्दोलनका अरू योद्धाहरूको योगदानमा शहीद दिवस मनाउने गरिन्छ ।
यसैबीच, राष्ट्रपति विद्यादेवी भण्डारीले वीर, अमर, त्यागी र भविष्यद्रष्टा शहीदहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ । त्यसैगरी, उपराष्ट्रपतिबाट नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा त्यस्तै, पूर्व-प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र अन्य राजनीतिक दलका नेताहरूले शहीदहरूको योगदानको स्मरण गर्दै श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।






