आज विश्व क्यान्सर दिवसः नसर्ने रोगको विगविगी
सुर्खेत ।
क्यान्सरका कारण सुर्खेतमा वर्षेनी सयौको संख्यामा मान्छेले ज्यान गुमाइरहेका छन् । जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतको तथ्याँक हेर्ने हो भने स्थानीय पालिकाबाट उपचारको लागि सहुलियत लिनेहरुको संख्या नै २०० बढि छ । सरकारले क्यान्सर पीडितहरुका लागि १० हजार यातायात खर्च र १ लाख उपचार खर्च दिने गर्दछ ।
नसर्ने रोगहरु मान्छेको जीवनशैलीसँग सम्बन्धित हुने भएकाले पनि यसलाई न्यूनिकरण गर्न समस्या हुने गरेको छ । आजभोलि अधिकांश मानिस नसर्ने रोगबाट पीडित भएको पाइन्छ । यस्तै नसर्ने मध्यको डरलाग्दो रोग हो, क्यान्सर । क्यान्सर आफैंमा ठूलो रोग होइन । तर, समयमै पहिचान भएन भने यसले ज्यानैसमेत लिन सक्छ । शरीर वृद्धि विकासको क्रममा कोषिकाहरुको अनियन्त्रित विकास अथवा धेरै कोषको उत्पादन हुँदा आउने समस्या क्यान्सर हो । हाम्रो शरीरको रोग प्रतिरोधात्मक क्षमताले राम्ररी काम नगर्दा पनि कोष अनावश्यक रुपमा वृद्धि हुने गर्दछ । अस्वस्थकर खानपान र जीवनशैली, वंशाणु रोग र निकोटिनको प्रयोगले क्यान्सर लाग्न सक्छ ।
यसका विभिन्न चरण हुन्छन् । समयमै उपचार गर्न सकेमा यो रोगबाट बच्न सकिन्छ । निरन्तर खोकी लाग्नु, कोठी बढ्नु, शरीरको कुनै भागमा गिर्खा आउनु, शरीरबाट रगत वा पीप आउनु, लामो समयसम्म घाउ निको नहुनु र तौल घट्नु यसका लक्षण हुन् । यसबाट बच्न चुरोट, बिँडी, खैनी, सुर्ती, जाँड, रक्सी सेवन नगर्ने, बासी, सडेगलेको र ढुसी परेको खाना नखाने, पोलेर डढेको मासु र अन्य खानेकुरा नखाने, अखाद्य रंग, रासायनिक मल, कीटनाशक औषधि प्रयोग गरिएका खानेकुरा नखाने, धुलोधुवाँ तथा वातावरणीय प्रदूषणबाट जोगिने, महिलाले नियमित रुपमा गर्भाशय परीक्षण गर्ने, व्यायाम गर्ने र अनावश्यक मोटोपन घटाउन आवश्यक छ । नसर्ने रोग लाग्नुको प्रमुख कारण खराब जीवनशैली नै हो । जसमध्ये अत्यधिक धूम्रपान–मध्यपान गर्नु, अल्छीपना अर्थात् शारीरिक व्यायाम नगर्नु, प्रदूषण, गलत खानपान आदि कारक तत्व हुन् ।
अहिले नेपालमा उच्च रक्तचाप, मधुमेह, दम, क्यान्सरलगायत रोगका बिरामीको संख्या ह्वात्तै बढ्नुको कारण जीवनशैलीमा हेल्चेक्र्याइँ गर्नुले नै भएको चिकित्सकहरुले बताउँदै आएका छन् । व्यक्ति स्वयंले आफ्नो जीवनशैलीमा ध्यान दिन सकेमा नसर्ने रोगबाट बच्न सकिन्छ । नसर्ने रोगबारे सरकारीस्तरबाटै स्वास्थ्य योजना, खोजमूलक अनुसन्धान, खाद्य विनियम गर्न सकेमा केही हदसम्म नसर्ने रोगबाट बच्न सकिने स्वास्थ्यविज्ञहरुको भनाई छ । वंशाणुगत कारणले पनि मानिसहरुलाई क्यान्सर हुने गर्दछ । क्यान्सर मध्य पनि दश प्रतिशत क्यान्सरमात्र वंशाणुगत हुनेमा बाँकी ९० प्रतिशत क्यान्सर हुनुमा विभिन्न कारण हुने गरेको चिकित्सकहरुको भनाई छ ।
एक तथ्याँकका अनुसार नेपालमा क्यान्सर रोग लाग्नेको अनुपात १ लाख जनसंख्यामा १०० देखि १२० जना प्रति वर्ष र करिव ५५ हजार क्यान्सरका रोगी रहेको छ । नेपालमा निदान भएका क्यान्सरहरु मध्ये फोक्सोको क्यान्सर, पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर, मुख, टाउको तथा घाँटीको क्यान्सर, आमाशयको क्यान्सर आदि प्रमुख छन् । यी क्यान्सरका रोगी मध्ये धेरै रोकथाम गर्न सकिने तथा समयमा पत्ता लागे वा लगाएर उपचारबाट निको गराउन सकिने खालका भएपनि अशिक्षा, गरिबी र चेतनाको कमीको कारण मान्छेहरु समयमा अस्पतालमा नजाने तथा क्यान्सरले ग्रस्त पारेपछि मात्र अस्पताल पुग्ने भएका कारण रोग निको हुन नसक्ने अवस्थामा पुगिसकेको हुन्छ । पछिल्लो समयमा सर्ने भन्दा नसर्ने रोगको प्रकोप झनै डरलाग्दो हुन थालेको छ । विश्वलाई नै हल्लाउने गरी आएको कोरोना भाइरस सरुवा रोग भएपनि यसको नियन्त्रणका लागि विभिन्न उपायहरु भइरहेका छन् र खोपको समेत व्यवस्था भइसकेकाले यसलाई नियन्त्रण गर्न सहजता तिर वैज्ञानिकहरु लम्किरहेका छन् । तर नसर्ने रोगको न्यूनिकरणका लागि गरिएका प्रयासहरु भने असफल नै छन् ।
नसर्ने रोगका कारण मृत्यु हुनेमा ६० वर्षभन्दा कम उमेरका मानिस बढी छन् । उनीहरूको संख्या ८२ प्रतिशतभन्दा माथि छ । यसमा पनि प्रायः निम्न र मध्यम आयस्रोत भएका मानिस नसर्ने रोगका कारण मृत्युवरणमा पुगेका छन् । विश्वमा बर्सेनि नसर्ने रोगका कारण ५ करोड ७० लाख मानिसको मृत्यु हुने गरेको विश्व स्वास्थ्य संगठनको तथ्यांकले देखाउँछ । यो भनेको कुल मृत्यु संख्याको ६३ प्रतिशत बराबर हो । नेपालमा पनि नसर्ने रोगबाट मृत्यु हुनेको संख्या उत्तिकै छ ।
नेपालमा हुने कुल मृत्युको ५१ प्रतिशत मृत्यु नसर्ने रोगकै कारणले हुने गरेको विश्व स्वास्थ्य संगठनको एक अध्ययनले देखाउँछ । संगठनका अनुसार नेपालमा दुर्घटना तथा चोटपटकबाट ७ प्रतिशत, सरुवा रोग, कुपोषण, मातृ तथा बाल मृत्यु दरसमेत हिसाब गर्दा ४२ र नसर्ने रोगबाट ५१ प्रतिशत मानिसले ज्यान गुमाउने गरेका छन् । निकट भविष्यमा ठूलो समस्याको रुपमा देखा पर्ने प्रक्षेपण गरिसकेको यस रोग नियन्त्रणको लागि प्रभावकारी कार्यक्रम सञ्चालन यथासिघ्र सञ्चालन गरेमा मात्र यसबाट हुने ठूलो धन जनको क्षेतिबाट जोगाउन सकिन्छ । आजको सूक्ष्मदृष्टि साप्ताहिकमा प्रकाशित समाचार ।







