Loading... आजः २६ बैशाख २०८३, शनिबार । Saturday 9th May 2026
ताजा खबर
  

काँग्रेस कम्यूनिष्टको विकल्प राप्रपा होः पुरी, २८ गते राजेन्द्र लिङदेल सुर्खेत आउँदै

राजसंस्था तथा हिन्दुराष्ट्र राप्रपाका एजेण्डा

सुर्खेत ।
राष्ट्रिय प्रजातन्त्र पार्टी सुर्खेतका अध्यक्ष कविराम पुरीले काँग्रेस कम्यूनिष्टको विकल्प राप्रपा भएको बताउनु भएको छ । यही फागुन २८ गते राप्रपाका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देल सुर्खेत आउने बारेमा जानकारी दिँने उद्देश्यले आयोजना गरिएको पत्रकार सम्मेलनमा पुरीले यस्तो बताउनु भएको हो ।

No description available.
अध्यक्ष पुरीले भन्नुभयो, वर्तमान अवस्थामा मुलुकको आर्थिक, राजनैतिक असुरक्षा र बाह्य हस्तक्षेपका कारण गम्भीर संकटमा परेको छ । राज्यले संस्थागत सेटिङ्ग गरेर भ्रष्टाचारमा व्यापाकता भएको छ । यस्तो अवस्थामा राष्ट्रिय स्वाधिनता माथि नै बादल मडारिएको छ । जनतालाई सही सूचनाको सम्प्रेषण गर्न आवश्यक छ जसका लागि राप्रपाका अध्यक्षसहित पूर्वअध्यक्ष डा. प्रकाशचन्द्र लोहनी, उपाध्यक्षद्वय मुकुन्दश्याम गिरी र विक्रम पाण्डे, महामन्त्री डा. धवल शम्मेर राणा र कुन्ति शाही तथा प्रवक्ता ज्ञानेन्द्र शाहीलगायतका नेताहरुले २८ गते हुने जनसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।’

२०४६ सालदेखि हालसम्म राजनीतिक तथा प्रशासनिक रुपमा उच्च पदस्थ व्यक्तिहरुको सम्पत्ति छानविन गर्न अधिकार सम्पन्न आयोगको गठन गर्नुपर्ने, सांसदले मन्त्री हुन नपाउने, संघीयताको खारेजी, पूर्ण समानुपातिक सांसद र प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुनुपर्ने व्यवस्थाका साथै कुनैपनि राजनीतिक दलको सदस्यता नलिएको आम नेपाली जनताको जनभावना बमोजिम चल्ने अभिभावकको रुपमा शान्ति र स्थायित्वको आधारस्तम्भको रुपमा राजसंस्था तथा हिन्दुराष्ट्रको माग गर्दै राप्रपाका एजेण्डाहरु भएको पुरीको भनाई थियो ।

यसैगरी नाटकीय ढंगबाट पास गरिएको एमसिसि असंलग्न परराष्ट्रनीति अनुरुप नभएकाले विदेशी सहायतालाई स्वीकार गर्ने नाममा वर्तमान सरकार परराष्ट्र मामलामा अपरिपक्व रहेको पुरीले बताउनु भयो । अब हुने स्थानीय निर्वाचनमा कुनैपनि दलसँग गठबन्धन नगर्ने बताउँदै पुरीले भन्नुभयो, अहिले राप्रपा संगठन निर्माणमा जुटेको छ । अब राष्ट्रिय पार्टी बन्नेमा शंकै छैन । माहोल राप्रपातिर लम्कियो काँग्रेस कम्यूनिष्टको विकल्प राप्रपा नै हो ।’ काँग्रेस कम्यूनिष्टदेखि जनता हैरान भइसकेका छन् राष्ट्र जोगाउनका लागि राप्रपाको पक्षमा जनमत तयार भइरहेको छ । यसका लागि जनतालाई कसैले चाहेरपनि रोक्न सक्दैन ।

कमल थापाले त राप्रपा नेपाल ब्यूताए नि भन्ने पत्रकारको प्रश्नमा पुरीले भन्नुभयो, ‘पार्टीलाई अनिर्णयको बन्दी बनाउनेहरु पाखा लागेका छन् राप्रपा फुटेको होइन राष्ट्रवादीहरु एक भएको हो । त्यसैले अबको निर्णायक आन्दोलन गर्न राप्रपा तम्सिरहेको छ ।’

तपाईहरुको आन्दोलनको शैली कस्तो हुन्छ भन्ने प्रश्नको जवाफ दिँदै अध्यक्ष पुरीले भन्नुभयो, ‘हामी जनता चढ्ने गाडी चल्न दिन्छौ सरकारी सम्पत्तिको दुरुपयोग गरेर नेता हिड्ने सरकारी गाडि बन्द गर्न सक्छौ । संस्थागत र व्यक्तिगत रुपमा भ्रष्टाचार गरी आर्जेको अकूत सम्पत्ति सरकारी गर्न दबाबमूलक आन्दोलनका कार्यक्रम गर्छौ तर जनतालाई दुःख दिएर होइन ।’

पत्रकार सम्मेलनमा केन्द्रीय उपाध्यक्ष मुकुन्दश्याम गिरी, जिल्लाका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको थियो ।