राप्रपाका केन्द्रीय उपाध्यक्ष गिरी वीरेन्द्रनगरको मेयरका उम्मेदवार
सुर्खेत ।
कर्णाली प्रदेशको राजधानी समेत रहेको वीरेन्द्रनगर नगरपालिकाको नगरप्रमुखमा मुकुन्दश्याम गिरीले आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । पूर्व नगरप्रमुख समेत रहेका गिरी राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय उपाध्यक्ष समेत हुन् ।

राप्रपाले स्थानीय तहको निर्वाचनलाई उच्च प्राथमिकता दिँदै केन्द्रीय पदाधिकारीलाई चुनावी मैदानमा उतार्ने निर्णय गरेकाले पार्टीको निर्णय मान्छे जनताको सेवा गर्ने योजनाका साथ नगर प्रमुखको उम्मेदवार बनेको गिरीको भनाई छ ।
जनताको चाहना र राप्रपा प्रतिको जनलहरलाई ख्याल राख्दै देशमा भइरहेको भ्रष्टाचार लगायतका गलत प्रवृत्तिको अन्त्य गर्नका लागि वैकल्पिक शक्तिका रपमा राप्रपा अगाडि बढिरहेको बताउँदै वीरेन्द्रनगरवासीको सेवाका लागि म निर्वाचनमा होमिएको छु गिरीले भने ।
वीरेन्द्रनगरका सबै वडाहरुमा उम्मेदवारहरुको टुङ्गो लागिसकेको छ । जिल्लाका अन्य पालिकाहरुमा पनि उम्मेदवारको टुङ्गो लगाइसकेका छौ । बाँकी १/२ स्थानमा भोलीसम्म टुङ्गो लाग्छ मेयरका उम्मेदवार गिरीले भने । वीरेन्द्रनगरका १६ वटै वडाहरुमा उम्मेदवारहरुको टुङ्गो लागिसकेको छ ।
उम्मेदवारी घोषणा सभामा दिइएको जानकारी अनुसार सिम्ता गाउँपालिका अध्यक्षमा टिकानाथ योगी र उपाध्यक्षमा लक्ष्मी पौडेल, गुर्भाकोट नगरपालिकाको प्रमुखमा कलावली रेग्मी र उपप्रमुखमा मोहन सापकोटा, भेरीगंगाको प्रमुखमा गोपाल हमाल र उपप्रमुखमा मीना राना, लेकबेसी नगरपालिकाको प्रमुखमा रामप्रसाद ढकाल र उपप्रमुखमा बिमला थापा रहेका छन् । यसैगरी चिङ्गाड गाउँपालिकाको अध्यक्षमा राजन रावत र बराहताल गाउँपालिका अध्यक्षमा गोविन्द पुलामी उम्मेदवारको रुपमा रहेका छन् भने उपप्रमुख तथा उपाध्यक्षहरुको टुङ्गो लागिसकेको छैन भने पञ्चपुरी र चौकुनेमा पनि उम्मेदवारहरु टुङ्गो लागिसकेको छैन ।






