Loading... आजः ६ बैशाख २०८३, आईतवार । Sunday 19th April 2026
ताजा खबर
  

शताब्दी पुरुष सत्यमोहन जोशीको निधन

काठमाण्डौ ।

वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको निधन भएको छ । उन्को १ सय ३ वर्षको उमेरमा बिहान ७ बजेर ९ मिनेटमा निधन भएको हो । जोशीको छातीमा निमोनिया सङ्क्रमण देखिएको थियो । निमोनिया र मुटुरोगसँगै पछिल्लो समय डेङ्गी सङ्क्रमण देखिएपछि जोशी २४ दिनदेखि उपचारत थिए ।

स्वास्थ्य अवस्था केही सुधार भएपछि गएको बुधवार आईसीयूबाट क्याबिनमा सारिएकोमा उहाँलाई फेरि आईसीयूमै राखेर उपचार हुँदै आएको थियो । ललितपुरको बखुम्बहालमा १९७७ साल वैशाखमा जन्मिएका जोशी संस्कृतिविद् हुन। उनी तीन पटक मदन पुरस्कार पाउने एक्लो व्यक्ति थिए।

‘लोक संस्कृति’ नामक पुस्तकले २०१३ सालमा मदन पुरस्कार पाएको थियो । त्यस्तै ‘नेपाल राष्ट्रिय मुद्रा’ नामक पुस्तकका लागि दोस्रो पटक र ‘कर्णाली लोक संस्कृति’ पुस्तकका लागि तेस्रो पटक मदन पुरस्कार पाउनुभयो । जोशी पुरातत्त्व विभागका पहिलो निर्देशक हुन।

२०१५ सालमा पुरातत्त्व विभागको निर्देशक हुँदा उनी ३८ वर्षको थिए। उनका संस्कृतिसम्बन्धी १० पुस्तक प्रकाशित छन् । कलाकार अरनिकोका विषयमा आम नेपालीलाई जानकारी दिने पनि सत्यमोहन जोशी पहिलो व्यक्ति मानिनुहुन्छ । उहाँले ‘कलाकार अरनिको’ पुस्तक सार्वजनिक गरेका थिए ।

लोक संस्कृतिका लागि पहिलोपटक वि. सं. २०१३ सालमा, नेपाली राष्ट्रिय मुद्रा नामक ग्रन्थका लागि दोस्रोपटक वि. सं. २०१७ सालमा, र कर्णाली लोक संस्कृति नामक ग्रन्थको लागि उनले संयुक्त रूपमा तेस्रोपटक वि. सं. २०२८ सालमा तीन पटक मदन पुरस्कार प्राप्त गर्न सफल जोशी नेपालका संस्कृतिविद समेत हुन् । हालसम्म तीनपटक मदन पुरस्कार पाउने उनी एक्लो व्यक्ति हुन् ।

नेपाली भाषा, कला, संस्कृतिको संरक्षण, संस्कृतिको संरक्षण, सम्बर्धन र विकासमा लागि परेकाले उनको योगदानको कदर स्वरूप सुप्रबल गोर्खा दक्षिणबाहु विख्यात त्रिशक्ति पट्ट, आदिकवि भानुभक्त पुरस्कार, काठमाडौँ विश्व विद्यालयले विद्यावारिधीको मानार्थ प्रमाणपत्र प्रदान गरेको थियो भने कर्णाली साहित्य समाजले कर्णाली साहित्य समाज साधना सम्मान २०७५ प्रदान गरेको थियो । नेपाल सरकारले पनि उज्ज्वल कीर्तिमान राष्ट्रदीपले सम्मानित गरेको छ । जोशी प्रबन्ध तथा अनुसन्धानात्मक कृति नेपालीमा १०, नाटक पाँच, काव्य दुई र कथा सङ्ग्रह पाँच तथा नेवारी भाषामा गरी करिब ५० कृति प्रकाशित भइसकेका छन् ।