Loading... आजः ५ मंसिर २०८१, बुधबार । Wednesday 20th November 2024

संस्कृति मन्त्री किराँतीको राजीनामा माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन पत्र

सुर्खेत ।
नेपाल ज्योतिष परिषद, नेपाल ब्राह्मण समाज, ठकुरी समाज, दशनामी समाज, वैदिक सनातन धर्म समाज, विश्व हिन्दु महासंघ, रामराज्य परिषद, कृष्ण प्रणामी, श्री बैष्णव निम्मार्कि रामानन्दलगायतका धार्मिक संघ सस्थाहरुले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीको राजीनामाको मागसहित उनलाई कानून बमोजिम कारवाहीको माग गर्दै प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छन् ।


नेपाल ब्राह्मण समाजका केन्द्रीय सचिव तुलसी प्रसाद पाण्डेयले सहायक प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेलाई ज्ञापन पत्र बुझाएका हुन् । प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई पठाइएको ज्ञापन पत्रमा लेखिएको छः
‘नेपाल सरकारको मन्त्री पदमा बसेको व्यक्तिले दिएको अभिव्यक्तिका कारण अहिले धार्मिक सहिष्णुतामा समेत आँच आइरहेको छ । नेपाल बहुभाषिक, बहुजातीय, बहुधार्मिक देश भएकाले पनि दुई वा दुई भन्दा बढि धर्म मान्नेहरु बीचमा रहेको भातृत्वको भावनालाई निमिट्यान्न पार्दै देशलाई धार्मिक युद्धमा लैजाने खालका अभिव्यक्ति दिनु गैरजिम्मेवारपन हो । नेपालको संविधानमा धर्मनिरपेक्ष लेखिएसँगै विश्व जगतमै नेपालको पहिचानमा समेत ठेस पुगेको अनुभूति भइरहेको पेरिपे्रक्षमा नेपालमा बसोबास गर्ने ९३ प्रतिशत ओमकार परिवार माथि विभिन्न आक्षेप लगाउनुले देशमा धार्मिक सद्भाव खल्बल्याउन गरिएका अनेक प्रपञ्चले निम्त्याएका घटनाहरु सेलाउन नपाउँदै समस्त हिन्दु र ओमकार परिवारको आस्था र विश्वासमा आघात पुग्ने गरी देशको संस्कृति मन्त्री जस्तो गरिमामय पदमा बसेर कुनै धर्मको आड लिएर अन्य धर्म मान्नेहरुको आत्म सम्मानमा चोट पुग्ने गरी दिएको राष्ट्रघाती अभिव्यक्तिप्रति घोर भत्र्सना गर्दै खेद प्रकट गर्दछौ ।


जस्ता अराजक, अपाच्य र समाजमा खलल पुग्ने अभिव्यक्ति दिने जो कसैलाई पनि राष्ट्रको महत्वपूर्ण जिम्मेवारीमा राख्नु अशोभनीय हुन्छ । तसर्थ सम्माननीय प्रधानमन्त्रीज्यूले अराजक संस्कृति मन्त्री सुदन किराँतीलाई तत्काल पदमुक्त गरि कानून बमोजिम कारवाही गर्नुहुन जोडदार माग गर्दछौ ।


हाम्रो मागलाई वेवास्ता गरी आलटाल गरेको खण्डमा थप आन्दोलनका कार्यक्रमहरु अगाडि बढाउन हामी बाध्य हुनेछौ । आन्दोलनको आँधिबेहरीबाट सिर्जना हुने परिस्थितिको जिम्मेवार स्वयम् नेपाल सरकार हुनुपर्नेछ । धन्यवाद ।’