पार्टी फुट्न नदिन विद्यार्थीको धर्ना
सुर्खेत ।
यतिबेला नेकपा भित्र चुलिएको विवादले पार्टी नै फुट्छ कि भन्ने ठूलो चिन्ताको विषय बनिरहेको छ । शीर्ष नेताहरु नै भागबण्डाका कारण विभिन्न विवादमा अल्झिएर पार्टी नै फुट्ने अवस्थामा पुगेपछि विभिन्न शुभचिन्तक एवम् भातृ संगठनहरुले आ–आफ्नो ठाउँबाट दबाब दिन थालेको छन् । यसै अन्तर्गत सुर्खेतमा पनि अनेरास्ववियुले प्रदेश पार्टी कार्यालय तथा सुर्खेत जिल्ला पार्टी कार्यालय अगाडि धर्ना दिएको छ ।

नेताहरु नीतिमा चल्नु पर्ने बताउँदै व्यक्ति हावी हुन नहुने विद्यार्थी नेताहरुले बताएका छन् । धर्ना कार्यक्रममा विद्यार्थी नेता मिलन बिसीले भने नेपाली जनताले दिएको मतको सम्मान गर्न पार्टीलाई एकढिक्का बनाएर अगाडि जानुको विकल्प नभएकोले शीर्ष नेताहरुलाई दबाब दिनका लागि धर्ना दिइरहेका छौ ।
अर्का विद्यार्थी नेता विष्णु महताराले भने, फूल जस्तो सुगन्ध छर्न सक्ने पार्टीको निर्माण भएकोले त्यसलाई जोगाएर अगाडि बढ्न नेताहरुलाई सुझाव दिन्छु । यदि कसैको स्वार्थको लागि पार्टी फुटाउने खेल भयो भने त्यो फोहोर नाली झँै गन्हाउने छ । जसले गर्दा नेपाली जनताको मतको अपमान हुनेछ ।
पार्टी एकतालाई जोगाउनका लागि दबाब सिर्जना गरेकोमा स्थानीय नेताहरुले समेत विद्यार्थीहरुलाई हौस्याएका थिए ।









