सरकारविरुद्ध देशव्यापी आन्दोलन चर्काउने कांग्रेसको निर्णय
काठमाडौं ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले मंसिर २९ गतेका लागि तय भएको सरकारविरुद्धको विरोध प्रदर्शनलाई प्रभावकारी बनाउने निर्णय गरेको छ । सभापति शेरबहादुर देउवाको निवास बूढानीकलण्ठमा बिहीबार बसेको पूर्व–पदाधिकारीसहितको पदाधिकारी बैठकले सरकारविरुद्धको विरोध प्रदर्शनलाई प्रभावकारी बनाउने निर्णय गरेको हो ।
सहमहामन्त्री डा. प्रकाशशरण महतले मंसिर २९ गतेका लागि निर्धारित सरकारविरोधी प्रदर्शनका बारेमा पदाधिकारी बैठकमा छलफल भएको जानकारी दिँदै प्रदर्शनलाई प्रभावकारी बनाउने निर्णय गरिएको बताउनुभयो । उहाँका अनुसार बैठकले मंसिर २९ गतेपछि फेरि छलफल गरेर सरकारविरुद्ध थप आन्दोलनका कार्यक्रमहरू तय गर्ने पनि निर्णय गरेको छ ।
मंसिर १९ गते बूढानीलकण्ठमै बसेको पूर्व–पदाधिकारीसहितको बैठकले सरकारविरुद्ध ७७ वटै जिल्लाहरूमा मंसिर २९ गते विरोध प्रदर्शनको निर्णय गरेको थियो । तनहुँमा मंसिर १७ गते सरकारले प्रस्तुत गरेको दमनकारी व्यवहारलगायत देशका विभिन्न भागमा पटक–पटक गरिएका विभेद, पक्षपात र सर्वसत्तावादी प्रवृत्ति तथा कोभिड–१९ को नियन्त्रण र उपचारमा सरकारले देखाएको उदासीनता र अकर्मण्यता तथा स्वास्थ सामग्री खरिदमा गरिएको भ्रष्टाचारदेखि अनेकौं भ्रष्टाचार काण्ड र बेथितिविरुद्ध विरोध प्रदर्शन गरिन लागेको कांग्रेसको भनाइ छ ।
बिहीबारको बैठकमा मंसिर २९ गतेपछि सरकारलाई कसरी दबाब दिने भन्नेबारेमा पनि छलफल भएको बताइएको छ । बैठकले मंसिर २९ गतेको देशव्यापी प्रदर्शनलाई प्रारम्भिक आन्दोलनका रूपमा लिएर आन्दोलनमार्फत नै सरकारलाई थप खबरदारी गर्ने पनि निष्कर्ष निकालेको छ ।
‘२९ गतेको सरकारविरुद्धको प्रदर्शनलाई प्रारम्भिक चरणको आन्दोलनका रूपमा लिने र अब सरकारविरुद्ध कसरी जाने भन्नेबारे २९ गतेको आन्दोलनपछि छलफल गरेर तय गर्ने निष्कर्ष निकालेका छौं,’ सहमहामन्त्री डा. महतले हिमालय टाइम्ससँग भन्नुभयो, ‘२९ गतेको प्रदर्शनपछि थप रणनीति बनाएर अघि बढ्छौं ।’
पदाधिकारी बैठकले आवश्यकताअनुसार जिल्लाहरूमा केन्द्रीय नेताहरू सरकारविरुद्धको प्रदर्शनमा सहभागी हुन सक्ने पनि निष्कर्ष निकालेको छ । ‘कतिपय जिल्लाहरूमा ठाउँ हेरेर, नेताहरूको इच्छाअनुसार जान सक्नुहुन्छ । उहाँहरू आवश्यकताअनुसार जिल्लामा जान सक्ने भए पनि केन्द्रले नै खटाउने निर्णय भने गरिएन,’ सहमहामन्त्री डा. महतले भन्नुभयो ।
बैठकमा सहभागी कांगेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले पनि मंसिर २९ गतेको सरकारविरुद्धको प्रदर्शनमा केन्द्रीय तहका नेताहरूलाई पार्टीले नखटाउने जानकारी दिनुभयो । ‘आन्दोलनलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने बारेमा छलफल भयो,’ उहाँले भनुभयो, ‘जिल्ला सभापतिहरूले केन्द्रीय नेताहरूलाई बोलाइरहनुभएको छ । बोलाएको ठाउँमा जानुहुन्छ । केन्द्रले तोकेर नेताहरूलाई पठाउँदैन ।’
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पदाधिकारी बैठकमा मंसिर २९ गते निर्धारण गरेको सरकारविरुद्धको देशव्यापी विरोध प्रदर्शनलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको बताउनुभयो । उहाँले बैठकमा क्रियाशील सदस्य र जनसम्पर्क समितिबारे पनि जरुरी छलफल भएको जानकारी दिनुभयो ।
कांग्रेसले सरकारविरुद्धको विरोध प्रदर्शनलाई प्रभावकारी बनाउन मंसिर २१ गते नै ७७ वटै जिल्लालाई परिपत्र गरिसकेको छ । परिपत्रमा विरोध प्रदर्शन मुख्यतया चार वटा बुँदमा केन्द्रित गर्नुपर्ने परिपत्रमा उल्लेख छ ।
यी हुन् विरोध प्रदर्शन केन्द्रित हुने चार बुँदाहरू
(१) तनहुँ जिल्लामा गत १७ गते नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल र जिल्लाका नेताहरू माथि सरकारले गरेको दमनकारी व्यवहारका विरुद्धमा ।
(२) देशको विभिन्न भागमा पटक–पटक सरकारबाट प्रस्तुत विभेद, पक्षपात र सर्वसत्तावादी प्रवत्तिका विरुद्धमा ।
(३) कोभिड–१९ को नियन्त्रण र उपचारमा सरकारले देखाएको उदासीनता र अकर्मण्यताका विरुद्धमा ।
(४) स्वास्थ सामग्री खरिदमा गरिएको भ्रष्टाचारदेखि अनेकन भ्रष्टाचार काण्ड र बेथिति विरुद्धमा ।
विप्लवलाई हत्या–हिंसा त्यागेर वार्तामा आउन आग्रह
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारद्वारा प्रतिबन्धित नेकपालाई हत्या–हिंसाको बाटो छाडेर वार्तामा आउन आग्रह गरेको छ । सरकारविरुद्ध मंसिर २९ गतेका लागि निर्धारण गरिएको देशव्यापी विरोध प्रदर्शनका बारेमा छलफल गर्न बिहीबार बसेको पूर्व–पदाधिकारीसहितको पदाधिकारी बैठकले प्रतिबन्धित नेकपालाई हत्याहिंसा छाडेर वार्ताबाट शान्तिपूर्ण मार्गमा आउन आग्रह गरेको हो ।
बैठकले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले मोरङमा गरेको शिक्षक हत्याको विरोध गर्दैै हत्यामा संलग्नमाथि कारबाहीसमेत माग गरेको छ । ‘बैठकले मोरङमा बर्बर ढंगले शिक्षक हत्याको विरोध गर्दै कडा कारबाहीको माग गरेको छ,’ पदाधिकारी बैठकपछि कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भन्नुभयोे, ‘व्यक्ति हत्याको बाटो छोडेर शान्तिपूर्ण मार्गमा आउन पनि बैठकले आग्रह गरेको छ ।’
विप्लव नेतृत्वको नेकपाले गत मंगलबार मोरङको मिक्लाजुङ गाउँपालिका–१ बर्खेका ५४ वर्षीय शिक्षक राजेन्द्र श्रेष्ठको गोली हानी हत्या गरेको थियो ।






