आज सोनाम ल्होछार
सुर्खेत ।
ल्होछार अर्थात् ‘ल्हो’ भन्नाले साल अथवा संवत् अनि ‘छार’ भन्नाले नयाँ वर्ष भन्ने बुझाउँछ । अर्थात्, पुरानो वर्षलाई विदा गरी नयाँ प्रवेश गर्ने दिन हो । तामाङ समुदायमा यो दिन हर्साेल्लास मनाउँछन् ।

त्यसमा पनि नेपाल बहुजातीय, बहुसांस्कृतिक, बहुधार्मिक र बहुभाषिक विशेषता–विधिता बोक्ने मुलुक हो । यस दिन तामाङ समुदायले विशेष परम्परागत अनि सांस्कृतिक महत्वका साथ ल्होछार मनाउँछन् । यसरी नेपालको पहाडी र उच्च पहाडी भेगमा बसोवास गर्ने तामाङ समुदाय लगायत उत्तर छिमेकी मुलक चीनसहितका बौद्धमार्गीहरुको घनत्व रहेको क्षेत्रमा पनि आजको दिनलाई हर्ष बढाई गर्दै नयाँ वर्ष मनाउने गर्छन् ।
तामाङहरुलाई प्रकृतिप्रेमी समुदायका रुपमा पनि चिनिन्छन् । विशेषगरी नेपालमा तामाङ जातिले सोनाम ल्होछारका अवसरमा कूलपूजा र प्रकृतिको पूजा गर्ने गर्छन् । यस समुदायमा आज छोरी–चेलीलाई बोलाएर टिका लगाइदिने गरिन्छ । सोनाम ल्होछार राष्ट्रिय पर्व भएका कारण राष्ट्र प्रमुखदेखि अन्य विशिष्ट ओहोदाका व्यक्तिहरुले समेत शुभकामना सन्देश दिने चलन छ ।
ल्होछार मनाउने समुदायमा ‘ल्होसार’ अर्थात् वर्षहरु बाह्रवटा हुन्छन् । ती वर्षका नामहरुलाई मुसा, गाई, बाघ, खरायो, ड्रागन, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर जस्ता पशुपन्छी र जीवजन्तुका नामबाट राखिएको पाइन्छ । मुसाबाट शुरु हुने वर्षहरु बँदेल वर्षमा पुगेर सकिन्छ । यसै अवसरमा आज नेपाल सरकारले सार्वजनिक विदा दिने घोषणा गरेको छ । यसअघि सरकारले कार्यदिन बढाउन भन्दै ल्होछार, माघे संक्रान्ति लगायतका चाड पर्वको बिदा कटौती गरेको थियो ।






