अस्पताल व्यवस्थापनमा ध्यान दिऔं
विश्वमा फैलिएको कोरोना महामारीका कारण यतिबेला नेपाल पनि नराम्रोसँग प्रभावित भइरहेको छ । सरकारले नै उपलब्ध गराएका तथ्याँकहरु हेर्ने हो भनेपनि भारतभन्दा पनि बढि जोखिममा रहेको नेपालमा दिनानुदिन कोरोना संक्रमित थपिने र मृत्यूदरमा समेत बृद्धि भइरहेको अवस्थामा यसलाई रोक्नका लागि र यसको नियन्त्रणका लागि एउटै मात्र उपाय भनेको सतर्कता नै हो । सरकारले प्रवाह गरेका विभिन्न सूचनाहरुलाई आत्मसाथ गरेर नागरिकहरु आफै सचेत भएको खण्डमा कोरोना महामारीलाई नियन्त्रण गर्न सकिन्छ । दोस्रो लहरको रुपमा फैलिएको कोरोनाको कारण नेपालमा झनै समस्या उत्पन्न भएको छ । अर्कोतिर कोरोनाका विरामीहरुलाई अक्सिजन अनिवार्य जस्तै भएको छ । सामान्य विरामीहरु आत्तिनु पर्ने अवस्था नभएपनि जटिल विरामीहरुलाई बचाउने एक मात्र उपाय भनेको अक्सिजन भएको अवस्थामा सरकारी पक्षबाट नै प्रयाप्त अक्सिजनको उपलब्धता हुन नसक्नु दुःखद कुरा हो ।
नेपालका धेरै अस्पतालहरुले अहिले विरामीको भार खेप्न नसक्ने भन्दै हात उठाउन थालेका छन् । यसले गर्दा स्थिति झन भयावह आउन सक्ने अवस्थालाई मध्यनजर गरेर सरकारले अस्पताल व्यवस्थापनमा ध्यान दिन आवश्यक छ । यदि यही अवस्था रहिरहने हो भने कोरोनाको संक्रमणका कारण अझ धेरै विरामीहरुले ज्यान गुमाउने पर्ने अवस्था आउन सक्छ । त्यस्तो अवस्था आउन नदिनका लागि सरकारले अस्पताल व्यवस्थापनमा ध्यान दिनुपर्ने, आवश्यक स्वास्थ्य सामग्रीहरु छिटो भन्दा छिटो उपलब्धता गराउनु पर्ने र नागरिकहरुले पनि सरकारले तोकेका मापदण्डहरु पूरा गर्नु जरुरी छ ।
कर्णाली प्रदेशमा सबैले आशा र भरोसा गर्ने अस्पतालको रुपमा रहेको प्रदेश अस्पतालले समेत विरामीहरुको भार थेप्न धौ–धौ परिरहेको भने अस्पतालको व्यवस्थापनले विरामीहरुलाई राहत भन्दा अत्याहास दिइरहेको छ । आफ्नै छेउमा रहेको बेडमा कोरोना संक्रमणका कारण ज्यान गुमाएका व्यक्तिको शब घण्टौसम्म व्यवस्थापन नहुनु र त्यो शबलाई हेरिरहँदा आफूले समेत कतिबेला मर्नु पर्ने हो भन्ने पिडादायी अवस्थाको नजरअञ्दाज गर्नुु भन्दा ठूलो पीडा के हुनसक्छ । त्यसैले कमसेकम ज्यान गुमाइसकेकाहरुको शबलाई तत्काल व्यवस्थापन गर्नु र त्यो प्रक्रिया पूरा हुनेबेलासम्म शब व्यवस्थापनका लागि छुट्टै स्थानको निर्माण गर्नु अस्पताल व्यवस्थापनको जिम्मेवारी र कर्तव्य हो भन्ने कुराको ख्यालसम्म राख्न सकेनौ भने अरु विरामीहरुलाई कस्तो खालको मानसिक असर पर्छ भन्ने कुरालाई गम्भीर भएर सोच्न सक्नु प¥यो नि । आजको सूक्ष्मदृष्टि साप्ताहिकमा प्रकाशित






