च्याउको बिउ अब सुर्खेतमै उत्पादन
सुर्खेत
ग्लोबल च्याउ उद्योग तथा कृषि फर्मले च्याउ मात्र नभएर च्याउको विउ समेत उत्पादन गर्ने भएको छ । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नं. १२ पिपिरामा करिब १५ लाख रुपैयाँको लागतमा च्याउ खेतीसँगै च्याउको बिउ समेत उत्पादन हुने भएको हो । वीरेन्द्रनगर नगरपालिका वडा नं. १२ का वडाअध्यक्ष लोकप्रसाद चालिसेले विहीवार उक्त उद्योगको एक औपचारिक कार्यक्रमका विच उद्घाटन गरे ।
औपचारिक कार्यक्रमका प्रमुख अतिथि समेत रहेका वडाअध्यक्ष चालिसेले आर्थिक विकासका साथै वेरोजगारी समस्या समाधानका लागि वडा वडा र टोल टोलमा उद्योग स्थापना हुन जरुरी रहेको बताए । कार्यक्रममा कृषि अधिकृत चित्र रोकायले सुर्खेतका उद्यमीहरुले काठमाडौंबाट च्याउको बिउ ल्याएर खेप्नु परेको हैरानी अब ग्लोबल च्याउ उद्योग तथा कृषि फर्मले अन्त गर्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा रिजमका अध्यक्ष प्रेम थापा, काँक्रेविहार मौरी पालन सहकारीका प्रेम आचार्य, जिल्ला कृषि विकास कार्यालयका बखत खड्का, राष्ट्रिय च्याउ संघ ६ नं. प्रदेशका संयोजक सुवनकेशर खनाल, इमानसिंह बस्नेतलगायतको उपस्थिति रहेको उक्त कार्यक्रम फर्मका संचालक बसन्ती कुमारी अधिकारीको सभापतित्वमा भएको थियो भने सहजीकरण हरि शर्माले गरेका थिए ।






