बालविवाह मौन महामारी हो : कार्की
सुर्खेत
छोरीका लागि स्वर्णिम नेपाल महाअभियानका अभियन्ता एवम् जीवन रुपान्तरणका अन्तर्राष्ट्रिय प्रशिक्षक नरबहादुर कार्कीले बालविवाह मौन महामारी भएको बताएका छन् । छोरीका लागि स्वर्णिम नेपाल महाअभियानका क्रममा सोही अभियानकी अर्का अभियन्ता नायिका रेखा थापासँगै सुर्खेत आइपुगेका कार्कीले पत्रकार सम्मेलनमा उक्त कुरा बताएका हुन् । १८ वर्षभन्दम कम उमेरमा विवाह गर्ने ३७ प्रतिशत र १५ वर्षभन्दा कम उमेरमा विवाह गर्ने किशोरीहरुको संख्या १० प्रतिशत रहेको कार्कीले बताए । छोरीहरुको बालविवाह भएमा शिक्षाबाट बञ्चित हुने, शिक्षाबाट बञ्चित भए सीप विकास नहुने र सीप नभए बेरोजगार बन्नु पर्ने, बेरोजगारको कारण अर्काको भरमा जीउनु पर्ने बाध्यात्मक परिस्थितिको सिर्जना हुने भएकोले बालविवाह मौन महामारी बन्न पुगेको प्रष्ट पार्दै अभियान्ता कार्कीले भने बालविवाहका कारण उमेर नै नपुगि गर्भवती हुनु पर्ने बाध्यता पनि छोरीहरुमा छ । जसको कारण मातृमृत्यु तथा शिशुमृत्यु दरमा समेत बढ्ने सम्भावना रहन्छ ।

सन् २०१४ मा नेपाल सरकारले सार्क सम्मेलनमा २०२० सम्म बालविवाह शुन्यमा पु¥याउने घोषणा गरेपनि यसको कार्यान्वयन हुन सकेको छैन । कानूनमा बालविवाहलाई अपराधको रुपमा राखेको भएपनि व्यवहारिक रुपमा त्यसको कायान्वयन हुन सकेको छैन । अभियान्ता कार्कीले पत्रकार सम्मेलनमा भने, ‘ अब सामाजिक नियममा परिवर्तन गर्नु जरुरी छ । त्यसको लागि बालविवाह अस्वीकारको विषय बनाइनु पर्छ ।’ अभियान्ता कार्कीले थपे, ‘देशलाई साँच्चिकै आर्थिक उन्नती र समाजलाई समुन्नत समाज बनाउने हो भने छोरीलाई अर्थतन्त्रको मूलप्रवाहमा ल्याउनु पर्छ ।’ त्यसो गर्न सकिएन भने देशको विकास सम्भव नहुने उनको कथन थियो । महाअभियान सफल पार्ने कार्यमा चुनौति छ तर सबैको साथ र सहयोग पाएको खण्डमा सम्भव पनि छ कार्कीले भने ।
’छोरीको निम्ति स्वर्णीम नेपाल बनाउनका लागि यो महाअभियानको शुरुवात सुर्खेतबाट गरिएको बताउँदै बालविवाहले छोरीका सपना, इच्छा र चाहनाको बलात्कार हुने भएकोले प्रत्येक घरमा बालविवाह रोक्न आवश्यक छ’ अभियान्ता कार्कीको भनाई छ । यसैगरी सोही अभियान संलग्न रहेकी नायिका रेखा थापाले जबसम्म नारी शिक्षित र आत्मनिर्भर हुँदैनन् तबसम्म देशको मुहार नफेरिने बताइन । जसको लागि चेतनाको विकास हुन जरुरी भएको उनको भनाई थियो । यो महाअभियान विशेष गरी शुरुमा मध्य तथा सुदूरपश्चिम र तराईका ८ जिल्लामा संचालन गरिने त्यसपछि देशभर नै पु¥याउने लक्ष्य रहेको अभियान्ताहरुले बताएका छन् । शनिवार सुर्खेतको सिम्ताबाट शुरु्र भएको कार्यक्रम भोली साल्कोटको पलैटेमा संचालन हुँदैछ ।






