Loading... आजः २९ बैशाख २०८३, मंगलवार । Tuesday 12th May 2026
ताजा खबर
  

तपाईको करले विवाह गरे तर बच्चा जन्माउँदिन

सुर्खेत ।

श्रीमती – ‘म भर्खर १४ वर्षकी भएँ । मलाई धेरै पढ्नु छ । अहिले नै विवाह गर्दिन भन्दा पनि तपाईले मान्नु भएन । तपाइको करले विवाह गरिहालेँ । तर बच्चा त म अहिले नै जन्माउदिनँ । नाइ…मेरो बिन्ति मान्नुहोस् । म अहिले नै बच्चा जन्माउदिनँ । म पढ्छु ।’


श्रीमान् – ‘म ३० वर्षको भइसके । अहिले बच्चा जन्मायो भने म ४० वर्षको हुँदा हाम्रो बच्चा १० वर्षको हुन्छ । तैले नाइ भनेर हुन्छ ? मलाई जसरी पनि बच्चा चाहिन्छ ।’ श्रीमती – बिन्ति छ । ‘नाइ…म अहिले बच्चा जन्माउदिनँ ।’

माथिको संवाद सोमबार भिएसओ नेपालले आयोजना गरेको ‘बहिनी शिक्षाका लागि दिदी कार्यक्रम–२’ को जिल्ला स्तरीय छलफल कार्यक्रममा ग्लोबल एक्सन नेपालका ठुल्दिदीहरुले समाजमा घटेको यथार्थ घटनालाई नाटक मार्फत देखाएको दृश्यको संवाद हो । अहिले यो परियोजना सुर्खेतका ५ वटा स्थानीय तहहरु बराहताल गाउँपालिका, वीरेन्द्रनगर नगरपालिका, लेकबेसी नगरपाालिका, गुर्भाकोट नगरपालिका, भेरीगंगा नगरपालिकामा सञ्चालन भइरहेको छ ।

कार्यक्रममा बोल्दै बराहताल गाउँ पालिकाका अध्यक्ष तेजबहादुर बस्नेतले समाजका कुरितीहरुलाई हटाउनका लागि कानुन मात्र बनाए नहुने बताए । उनले भने, ‘व्यवहारिक रुपमा जबसम्म कार्यान्वयन गर्न सक्दैनौ तबसम्म कुनै पनि कानुन दस्तावेजमा मात्र सीमित हुन्छन् । तसर्थ अहिलेको चुनौती भनेको समयमा नै यसलाई कायान्वयन गर्नु हो ।’ स्थानीय तहमा बालबालिकाका समस्यालाई समाधान गर्नका लागि स्थानीय सरकारले कुनै पनि कसर बाँकी नराख्ने बताउँदै अध्यक्ष बस्नेतले बहिनीलाई शिक्षित बनाउने दिदी कार्यक्रम निकै राम्रो र प्रभावकारी हुने बताए ।

कार्यक्रममा बोल्दै जिल्ला शिक्षा अधिकारी जितबहादुर शाहले सुर्खेतका ४८ वटा विद्यालयमा ‘बहिनी शिक्षाका लागि दिदी कार्यक्रम–१’ सफल भएपछि कार्यक्रम–२ शुरु भएको बताए । उनले मानिसको सबैभन्दा ठूलो साथी जन्म दिने आमा बुवाभन्दा पनि साथी प्यारो हुन्छ । त्यसैले आमाबुवाले आफ्ना बालबच्चाका लागि साथीको भूमिका समेत निर्वाह गर्नुपर्नेमा जोड दिए । उनले ठूली दिदी बहिनीका लागि साथी बनेर अघि बढ्ने कार्यक्रम भएकाले यो कार्यक्रमको प्रभावकारिता बढ्दै गएको बताए ।

भिएसओ नेपालका अनुगमन तथा सञ्चार संयोजक प्रियंका बुढाथोकीले कार्यक्रमबाट भएका सिकाइहरुको अनुभव बाँड्न र संघीय सरकारसँग कार्यक्रम–२ का बारेमा समन्वय र सहकार्यका लागि जिल्ला स्तरीय छलफल कार्यक्रम गरिएको जानकारी दिइन् । उनले सन् २०१७ देखि शुरु भएको कार्यक्रम–२ चार वर्षसम्म सञ्चालन हुने जानकारी दिइन् । ९ हजार १ सय १४ बहिनी बालबालिका कार्यक्रमबाट प्रत्यक्ष रुपान्तरणमा संलग्न भएको जानकारी दिँदै बुढाथोकीले आफू भन्दा ठूला दिदीहरुको प्रत्यक्ष रेखदेख एवम् परामर्शमा नेपालकै पहिलो कार्यक्रम भएको बताउन् । उनले साथी साथी बिचको सहयोगी भावना सहितको प्रत्यक्ष परामर्शयुक्त सिकाइका साथै बहिनी शिक्षाका लागि अंग्रेजी एवम् डिजिटल शिक्षा सञ्चालन गर्ने जानकारी दिइन् ।

ग्लोबल एक्सन नेपालका सामाजिक परिचालक प्रमिला खड्काले कार्यक्रममा उपस्थित सबैलाई बालविवाहको विरुद्ध लाग्न सामूहिक प्रतिबद्धता गर्न लगाइएको थिइन् । कार्यक्रमम जिल्ला संयोजक राजेश गिरीले परियोजनालाई विगतका अनुभवका आधारमा थप परिस्कृत र प्रभावकारिता बनाउदै लगिने बताए ।

सोमबार वीरेन्द्रनगरमा ग्लोबल एक्सन नेपाल, आसमान नेपाल, व्रिटिश काउन्सिल र मर्सी कोरको साझेदारमा भिएसओ नेपालको आयोजनामा ‘बहिनीका लागि दिदी कार्यक्रम–२’ को जिल्ला स्तरीय छलफल कार्यक्रम सम्पन्न भएको हो ।