नगद दुई लाख घुससहित दुई खरिदार पक्राउ
सुर्खेत २७ चैत्र ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतले नगद २ लाख घुससहित जिल्ला मालपोत कार्यालय सुर्खेतका दुई कर्मचारीलाई रंगेहात पक्राउ गरेको छ । मंगलबार अख्तियारले गरेको ‘स्टिङ’ अप्रेशनका क्रममा मालपोत कार्यालयका खरिदारद्वय ओमबहादुर सुनार र धर्मराज सुवेदीलाई घुस रकमसहित पक्राउ गरेको हो ।
सेवाग्राहीबाट घुस रकम मागेको सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतका सूचना अधिकारी मेघनाथ सापकोटाले बताए ।
सूचना अधिकारी सापकोटाका अनुसार जग्गाको मोहीयानी हक छुट्याउने क्रममा सेवाग्राहीबाट उनीहरूले घुस रकम मागेका थिए । पक्राउ परेका दुवै जनालाई अख्तियारको टोलीले नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको छ ।







