Loading... आजः १३ बैशाख २०८३, आईतवार । Sunday 26th April 2026
ताजा खबर
  

डाक्टरहरु भन्छन्

सुर्खेत ३१ असार ।

क्षेत्रीय अस्पताल सुर्खेतमा कार्यरत चिकित्सकहरुले डा. गोविन्द केसीले राखेका मागहरु प्रति सरकार गम्भीर नभएको भन्दै कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् । प्रा.डा. गोविन्द केसीको अनशनको १५ दिनमा नेपाल चिकित्सक संघ सुर्खेत शाखाको आयोजनामा पत्रकार सम्मेलनको आयोजना गरि यस्तो चेतावनी दिएका हुन् । उनीहरुले जागिर गएपनि प्रवाह छैन तर डा. केसीको जीवन रक्षाका लागि लड्न नछोड्ने बताएका छन् ।


नेपाल चिकित्सक संघ कर्णालीका अध्यक्ष डा. मंगवल रावलले पत्रकारसँग कुरा गर्दै भन्नुभयो, ‘डा. केसीले कुनै पनि राजनीतिक स्वार्थका लागि नभई गरिब निमुखको बसोबास भएको स्थानमा मेडिकल खोल्नु पर्ने माग गर्दा र माथेमा आयोगको प्रतिवेदन एवम् चिकित्सा शिक्षा विद्येयक कार्यान्वयनको आवाज उठाउँदा राजनीतिक व्यापार गर्नेहरु तर्सेका छन् ।’ उहाँले थप्नुभयो, ‘डा. केसीलाई १६ औं पटक अनशन बस्नु पर्ने अवस्था नआउने गरी उहाँका मागहरु सरकारले यथाशिघ्र सम्बोधन गर्नुपर्दछ ।’ संघले सोमबार कर्णाली प्रदेश सरकारका मन्त्रीहरुसँग डा. केसीका मागका विषयमा छलफल गर्ने जनाएको छ भने साँझ वीरेन्द्रनगरमा मैनवत्ती जुलुस निकालिने छ । संघले डा. केसीको मागमा राजनीतिक रंग मिलाउन खोजिएको भन्दै आपत्ती समेत जनाएको छ । ‘डा. केसी राजनीतिक चरित्र भएको व्यक्ति होइन, उहाँ मेडिकल शिक्षाको सुधारका लागि अनशनरत हुनुहुन्छ’ चौथो अनशनदेखि डा. केसीको साथमा रहेका रावलले भने, ‘यसमा राजनीतिक रंग मिसाइनु अपराध हो ।’

धेरै नेपाली जनता काठमाडौं बाहिर छन् । तर काठमाडौंमै मेडिकल कलेज खोल्नका लागि धन र डनहरुसँग मिलेर सरकारले माथेमा आयोगको प्रतिवेदनलाई बेवास्ता गरेको बताउँदै क्षेत्रीय अस्पताल कालागाउँ सुर्खेतका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा. डम्बर खड्काले भन्नुभयो, ‘दुई तिहाईको सरकार भएको बेला सरकार आफैले उठाउनु पर्ने आवाजलाई डा. गोविन्द केसीले उठाउनु भएको छ । यस्ता बुँदाहरु सुन्ने बित्तिकै अक्षर ती बुँदाहरु पूरा गरेर अर्को पटकको निर्वाचनमा तीन तिहाईको आशा गर्नुपर्ने बेलामा सरकारले उल्टै डा. गोविन्द केसीको जीवन माथि खेलवाड गर्दैछ । चिकित्सा क्षेत्रमा काम गर्नेहरुका लागि यो भन्दा ठूलो दुःखको कुरा अरु केही हुन सक्दैन ।’ डा. खड्काले भन्नुभयो, ‘दुई तिहाइ कसरी प्रयोग गर्नु पर्छ भन्ने ज्ञान समेत यो सरकारसँग रहेनछ ।’ उहाँले थप्नुभयो, ‘डा. केसीलाई संसदमा हाँसोको पात्र बनाउनेहरु एक दिन पछुताउने छन् ।’ केन्द्र चुप लागेपनि हाी चुप लागेर बस्दैनौ तर बिरामीले पाउनु पर्ने स्वास्थ्य सेवामा भने कुनै कमी हुन दिने छैनौ । आकस्मिक सेवा बाहेक अन्य सेवाहरु बन्द गरेर आन्दोलन गर्न हामीलाई बाध्य नपारियोस् डा. खड्काको कथन थियो ।

नेपाल चिकित्सक संघ सुर्खेत शाखाका अध्यक्ष डा. नवराज केसीले सरकार चाउचाउवादमा फसेको आरोप लगाउँदै भन्नुभयो, ‘सरकार माफियातन्त्रमा फसिसकेको छ । सरकारको लापरवाहीका कारण यदि डा. गोविन्द केसीको जीवन तलमाथि भएमा चिकित्सकहरुको काम गर्ने क्षमतामा समेत कमी हुनेछ ।’ जनताका पक्षमा उठाइएका मागहरु पूरा गर्न नचाहने सरकारले अरु सर्वसाधारणहरुका मागलाई कसरी पूरा गर्न सक्छ र यो सरकारमाथि आशा र विश्वास गर्नु ।’ अध्यक्ष डा. केसीले थप्नुभयो, ‘डा. गोविन्द केसीले उठाएका मागहरु कुनै स्वास्थ्यकर्मीको पक्षमा नभई सर्वसाधारण जनता, चिकित्सा क्षेत्रमा अध्ययन गर्न चाहने विद्यार्थी र समग्र अभिभावकको पक्षमा भएकोले चिकित्सा क्षेत्रका माफियाहरु अत्तालिएका छन् ।’ नेपाल चिकित्सक संघ सुर्खेत शाखाकै आयोजनामा भोली असार ३२ गते साँझ ८ बजे स्थानीय वीरेन्द्रचोकमा डा. केसीको स्वास्थ्य लाभको कामना सहित दीप प्रज्वलन गर्ने कार्यक्रम समेत रहेको बताइएको छ ।

नेपाल चिकित्सक संघ सुर्खेत शाखाले एक विज्ञप्ति समेत प्रकाशित गरेको छ । सुर्खेत शाखाका अध्यक्ष डा. नवराज केसीद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘डा. गोविन्द केसीको स्वास्थ्यमा प्रतिकूल असरहरु देखा पर्दै गएको र कुनै पनि समय अप्रिय घटना घट्न सक्ने तर्फ सचेत रहँदै नेपाल सरकारलाई अबिलम्व समस्याको समाधान गर्न र डा. केसीको जीवन रक्षा गर्न यस संघले असार १९ गतेदेखि नै शसक्त आन्दोलन अगाडि बढाइरहेको छ ।’ ‘डा. केसीको माग प्रति सरकार उदासिन देखिएको छ । डा. केसीको स्वास्थ्य अझ जटिल बन्दै गइरहेको तर्फ सरकारले रत्तिभर ध्यान नगएकोले नेपाल चिकित्सक संघ सुर्खेत शाखा अझै कठोर भएर उत्रने र आवश्यक परे कर्णाली प्रदेशका सम्पूर्ण स्वास्थ्य संस्थाहरु आकस्मिक सेवा बाहेक अन्य सबै सेवाहरु बन्द गराउन पछि नहट्ने र त्यसबाट निम्तिने परिस्थितिको जिम्मेवार स्वयम् नेपाल सरकार हुनेछ’ विज्ञप्तिमा भनिएको छ ।