स्थानीय समस्या समाधान हुन्छन् : प्रजिअ यादब
भाद्र ३
सुर्खेत
गत सोमबार सुर्खेतको प्रमुख जिल्ला अधिकारीको रुपमा हाजिर हुनुभएका वीरेन्द्रकुमार यादवले स्थानीयस्तरमा भएका समस्याहरु समाधान हुने बताउनु भएको छ । पत्रकारसँगको परिचयात्मक कार्यक्रममा प्रमुख जिल्ला अधिकारी यादबले संचारकर्मीको सहयोगले जिल्लामा शान्ति सुरक्षालाई व्यवस्थित गर्न सकिने बताउनु भएको हो । यसैगरी सोमबार नै जिल्ला प्रहरी कार्यालय सुर्खेतको प्रमुखको रुपमा आउनुभएका प्रहरी उपरीक्षक बसन्त रजौरे प्रहरीसँग जनता नडराउने तर अपराधीहरु भने डराउँने बताउनु भयो । प्रजिअ यादब र प्रहरी उपरीक्षक रजौरे द्वारा संयुक्त रुपमा आयोजना गरिएको परिचयात्मक कार्यक्रममा यस्तो बताइएको हो ।

प्रहरीले कानून बमोजिम काम गर्ने भएकोले र देशमा भरखरै नयाँ देवानी संहिता लागु भएकोले पनि अबका दिनहरुमा अपराध कम हुनेमा प्रहरी उपरीक्षक रजौरेले विश्वास व्यक्त गर्नुभयो । कुनै पनि अपराधी कानूनबाट बच्न नसक्ने बताउँदै आफू कसैको दबाब र प्रभावमा नपर्ने उहाँको भनाई थियो । नागरिकलाई सु–सूचित गर्ने संचारकर्मीहरुले प्रहरी लगायत राज्यको प्रशासनिक क्षेत्रलाई समेत सूचना उपलब्ध गराउनु पर्ने उहाँको भनाई थियो । प्रहरी उपरीक्षक रजौरेले जिल्लामा लागु औषध नियन्त्रणका उपायहरुदेखि सचेतनाका कार्यक्रमहरु समेत गर्ने बताउँनु भयो ।
ट्राफिक सचेतनाका कार्यक्रमहरु गर्दै सवारी दुर्घटनामा कमी ल्याउने, चोरी तथा ठगीका कार्यहरु गर्नेलाई कानून बमोजिम कडा कारवाही गरिने उहाँको भनाई थियो । आफू सलाम खान मात्र आएको नभई सुर्खेतमा विशुद्ध सेवा गर्न आएकोले अपराध नियन्त्रण गर्न समुदायको समेत साथ र सहयोग प्राप्त हुनेमा आफू विश्वस्त रहेको उपरीक्षक रजौरेले बताउनु भयो । मानव अधिकारको रक्षार्थ मानव अधिकारमैत्री वातावरणको निर्माण गरी अपराध नियन्त्रण गर्ने कार्यमा प्रहरी जहिले पनि चनाखो रहने उपरीक्षक रजौरेको भनाई थियो ।






